८ वैशाख २०८१ शनिबार
अर्थ

सिन्धु ‘ब्रान्ड’ नाममा सिन्धुपाल्चोकको कफी विदेशमा

सिन्धुपाल्चोकमा उत्पादित प्रांगरिक (अर्गानिक) कफी अब सिन्धु ‘ब्रान्ड’ नाममा विदेश निर्यात हुने भएको छ। यसअघि सुनकोसी ब्रान्ड नाममा कफी विदेश निर्यात हुँदै आएको थियो। सिन्धुपाल्चोककै पहिचान दिन सिन्धु अर्गानिक कफी ब्रान्ड नाम दिइएको जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन्। ‘जिल्लाभर कफी खेती विस्तार भएको छ। त्यसैले ब्रान्ड नाममा सिन्धुपाल्चोकको पहिचान दिएका हौँ,’ उनले भनिन्। संघले बिहीबार स्थानीय तहका जनप्रतिनिधि माझ प्याकेजिङसहितको नयाँ ब्रान्ड नाम सार्वजनिक गरेको थियो। योसँगै नयाँ ब्राण्ड प्याकेजिङमा संघको लोगोसमेत उल्लेख भएर कफी बजारमा जाने अध्यक्ष थापाले जानकारी दिइन्।  

जिल्लामा उत्पादित कफीले विगत आठ वर्षयता विदेशी बजार लिँदै आएको छ। दक्षिण कोरिया सिन्धु कफीको सबैभन्दा ठूलो बजार हो। त्यहाँ आठ वर्षदेखि यहाँको कफी निर्यात भइरहेको छ। विदेशमा बजार फैलाउँदै सिन्धु कफी तीन वर्षदेखि अस्ट्रेलिया र दुई वर्षदेखि जापान निर्यात भइरहेको संघले जनाएको छ। संघका अनुसार गत वर्ष कोरियामा चार, अस्ट्रेलियामा तीन र जापानमा दुई टन ग्रेडिङ गरिएको ग्रिनविन कफी निर्यात भएको थियो। ‘पछिल्लो समय वार्षिक १० टनसम्म सिन्धु कफी विदेशी बजारमा पुग्दै आएको छ,’ अध्यक्ष थापाले भनिन्। जिल्लानमा वार्षिक औसतमा २५ टन ड्राइपार्चमेन्ट कफी उत्पादन हुँदै आएको छ। गत वर्ष झन्डै २६ टनड्राइपार्चमेन्ट कफी उत्पादन भएको संघको तथ्यांक छ। ड्राइपार्चमेन्ट कफी प्रशोधन र ग्रेडिङपछि विदेशी बजारमा जाँदै आएको छ।  

संघले नै जिल्लाका किसानले उत्पादन गर्ने कफीको बजारीकरण गर्दै आएको छ। संघकै अगुवाइमा प्रांगरिक (अर्गानिक) प्रमाणीकरणपछि कफी विदेश निर्यात हुँदै आएको थापाले जानकारी दिइन्। 

प्रकाशित: ३ पुस २०७७ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App