coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जिम्मेवार निकायकै कमजोरीले निर्माण ढिलाइ

फाइल तस्बिर

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा जिम्मेवार निकायकै कमजोरीले निर्माणमा ढिलाइ भएको छ। विद्युत्, खानेपानी आयोजना, स्थानीय तह र ठेकेदार कम्पनीको कमजोरीले गर्दा काममा ढिलाइ भएको हो।  

निर्माणाधीन ६ लेन सडक विस्तारको काम गत चैतमै सकिनुपर्ने थियो। सरकारले थप एक वर्षको समय थपेको छ। तर, थपिएको समयमा काम पूरा नहुने निश्चित छ। विराटनगरको रानीदेखि धरानसम्म बन्ने व्यापारिक सडक निर्माणका लागि अहिले १५ भागमा विभाजन गरी ठेक्का लगाइएको छ। ठेक्का लागेर काम सुरू भएको ठाउँमा समेत कामले गति लिन सकेको छैन।  

‘खानेपानी कार्यालय, विद्युत् र ठेकेदार कम्पनीले काममा सिरियस नभएकाले गर्दा पनि ढिलाइ भएको हो,’ ६ लेन सडक विस्तार आयोजनाका इन्जिनियर उपेन्द्र दासले भने, ‘सडकले आफ्नो क्षेत्राधिकार लिने क्रममा स्थानीय तहका कारण पनि ढिलाइ भएको हो। ठेकेदार कम्पनीले पर्याप्त कामदार नखटाएर सीमित मात्रले काम गर्दा पनि ढिलाइ हुने गरेको छ। दासका अनुसार तरहरादेखि धरानबाहेक अन्यत्रको सडक भने चालु आवमा सक्ने लक्ष्य रहेको छ।  

‘चालु आर्थिक वर्षमा तरहरादेखि धरानबाहेक अन्यत्रको सडक भने कालोपत्रे गरेर सक्ने योजना छ,’ उनले भने। ६ लेन सडकअन्तर्गत अहिलेसम्म १७ किमिमात्र कालोपत्रे सकिएको छ। सडक विस्तारका क्रममा भत्काइएको संरचना समयमै नबनाउँदा दुर्घटना बढ्नुको साथै विराटनगर, दुहवी र इटहरी बजार अस्तव्यस्त हुँदा स्थानीय व्यवसायी पनि हैरान छन्। धरान बजार र दुहवी बजारमा त सडक विस्तारमै समस्या छ।  

दुहवीमा सरकारले २०५४ मै ६ सय ३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रूपमा कायम गर्न निर्णय गरेको थियो। त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो। त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ। विराटनगर–इटहरी सडक खण्डको दुहवी बजार क्षेत्रमा दुई किमि ठेक्का लाग्न नै बाँकी छ।  

इन्जिनियर दासका अनुसार ४९ किमि सडकमध्ये दुहवी र धरान बजारबाहेक अहिले ४४ किमि ठेक्का लागेको छ। जसमा आयोजनाले धरान बजार क्षेत्रमा ठूलो क्षति हुने भएकाले गर्दा सडक विस्तार नगर्ने टुंगोमा पुगेको छ।  

‘अब धरान बजार क्षेत्रमा हामी पस्दैनौं किनकी ठूलो क्षति हुन्छ, दुहवीमा सरकारले निर्णय गरेको छैन,’ उनले भने, ‘तरहरादेखि धरान भर्खरै ठेक्का लागेकाले गर्दा समय लाग्छ। अरू ठाउँमा चालु आवमा कालोपत्रे हुन्छ।’ इटहरीदेखि खनारसम्म सडक विस्तारमा पर्ने टेंग्रा खोला पनि अर्को समस्या रहेको छ। ०६९/७० बाट सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। पूरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएकामा अहिलेसम्म आठ अर्ब रूपैयाँको टेन्डर भएको छ।

प्रकाशित: २६ मंसिर २०७७ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App