coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ। यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्यानले आठजना चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थााका अध्यक्ष कृष्ण भण्डारीकाअनुसार आठजना चालकको उडान अनिश्चितकालका लागि रोकिएको छ। उनकाअनुसार चालकहरू युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो। ‘आठजना पाइलटलाई अनिश्चितकालका लागि उडान गर्न रोक लगाइएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘उनीहरूलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै निर्णय गर्नेछ।’ चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचक्रयाँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका थिए।

‘सुरक्षालाई हेलचक्रयाँइ गर्दै उडान गरेकोले उनीहरूलाई कारबाही गर्न खोजिएको हो,’ अध्यक्ष भण्डारीले भने, ‘हामीलाई क्यानले पत्र पठाउँदै चालकको उडानमा रोक लगाएको जानकारी गराएको छ।’ प्राधिकणको सेफ्टी विभागले पत्र पठाएर तीनदिनभित्रै क्यानमा उपस्थित हुन कारबाही गरिएका चालकलाई निर्देशन दिएको भण्डारीले बताए। प्राधिकरणले निर्देशन अनुसार चालकको उडानमा रोक लगाएको बताइएको छ।  

प्याराग्लाइडिङ उडानमा कतिपय चालकले गर्नै नमिल्ने गतिविधि गर्छन, जसले गर्दा दुर्घटनाको जोखिम बढाएको व्यवसायीको भनाइ छ। उडानको समयमा यात्रुलाई मनोरञ्जन दिलाउने भन्दै केही चालकले फूल तथा रूखका पात टिप्ने गर्दै आएका थिए। फूल र पात टिपेर दिँदा पाँचसय तथा तालको पानी छुवाउँदा अतिरिक्त एकहजार रूपैयाँ पनि चालकले यात्रुसँग लिँदै आएका छन्। केही दिनअघि त्यसैगरी फूल र पात टिप्न खोज्दा भएको दुर्घटनामा एकजना चालकले ज्यान गुमाएका थिए। त्यसपछि बल्ल जथाभावि गर्ने चालकलाई कारबाही गर्न प्राधिकरणले व्यवासयी संस्थालाई भनेको थियो।

अधयक्ष भण्डारीका अनुसार क्यानले पोखरामा चालकको मृत्यु भएपछि प्राधिकरणले उडानको क्रममा फूल र पात टिप्ने चालकको भिडियो खोजि गरिरहेको थियो। सामाजिक सञ्जालमा पाइएको भिडियोको आधारमा उक्त चालक पहिचान गरेको उनले बताए। त्यसबाहेक अन्य चालकको पनि भिडियो खोजी गरिरहेको थियो।  

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुराँगाइले उडान सुरक्षालाई हेलचक्रयाँइ गरेकोले केही चालकको उडानमा रोक लगाइएको बताए। ‘उडानका क्रममा सुरक्षामा ध्यान दिनुपर्नेमा हेलचक्रयाँइ गरिएको छ,’ उनले भने, ‘सुरक्षामा हेलचक्रयाँइ गर्नुलाई उड्ययन क्षेत्रमा सबैभन्दा ठूलो गल्ती मानिन्छ। उनीहरूलाई कडाभन्दा कडा कारबाही हुन्छ। तर, के कस्तो कारबाही गर्ने भन्ने छानविनपछि निर्णय हुन्छ।’ उनकाअनुसार उडान जोखिममा पार्ने चालकको विवरण खोज्न प्राधिकरणले छुट्टै टिम बनाएको छ। व्यवसायी संस्थाका पदाधिकारीकाअनुसार प्याराग्लाइडिङ उडानका क्रममा अतिरिक्त क्रियाकलाप गरेकोले केही चालकलाई कारबाही गरिँदा उनीहरूको लाइसेन्स नै केही समयका लागि निलम्बन हुन सक्नेछ।

प्रकाशित: २४ मंसिर २०७७ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App