७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्यात हुने प्रमुख वस्तु भटमासको तेल, निकासी पाँच गुणा बढी

वीरगन्ज पथलैया करिडोरको एक उद्योगमा निकासीका लागि ट्रकमा लोड गरिदै तेल । तस्बिरः रितेश/ नागरिक

नेपालबाट देश बाहिर निर्यात हुने भटमासको तेल प्रमुख वस्तु भएको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा भटमासको निकासी पाँच गुणा बढी भएको छ यस पाली। वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा पाँच गुणा बढी मूल्यको भटमास तेल भारत निकासी भएको देखिएको छ।  

यसपाली साउनदेखि कात्तिकसम्ममा छ अर्ब ८३ करोड मूल्य बराबरको ४८ हजार २ सय ८१ टन मेट भटमास तेल भारत निकासी भएको छ। अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म एक अर्ब ३३ करोडको १० हजार ५ सय १९ टन भटमास तेल निर्यात भएको थियो। निकासी हुने मालबस्तुमा भटमासको तेल प्रमुख बस्तु बन्न गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहले जानकारी दिए।

गत वैशाखको अन्तिम साता भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि यहाँका तेल उत्पादक भटमासको प्रशोधित तेल निर्यातमा लागेका हुन्। अघिल्लो वर्षसम्म निकासी सूचीको शीर्ष स्थानमा रहेको पाम आयलको स्थान अहिले सोयाबिन आयल अर्थात भटमासको तेलले लिएको छ।  

वीरगन्ज प्रशोधित तेल निकासी हुने मुख्य नाका भएको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७६/०७७ मा नेपालबाट कुल अठार अर्ब ३१ करोडको पाम आयल निर्यात भएकोमा वीरगन्जबाट एक्लै एघार अर्ब ७२ करोड रुपैयाँ बराबरको १ लाख ७ हजार टन निकासी भएको थियो। नेपालका करिब २ दर्जन तेल प्रसोधन उद्योगहरुले तेल निकासी गर्ने गरेका छन्। यसमध्ये वीरगन्ज पथलैया करिडोरका १४ उद्योगले भारततर्फ प्रशोधित तेल निकासी गर्ने गरेका छन्। धेरैजसो उद्योगहरुले तेस्रो मुलुकबाट आयात गरिएको कच्चा तेललाई प्रशोधन गरेर पुनः निकासी गर्दै आएका छन्। 

केही उद्योगहरुले भटमास नै आयात गरी यहाँ तेल निकाल्ने र त्यसलाई प्रसोधन समेत गर्ने गरेका छन्। भारतले आफ्ना तेल उत्पादक र किसानको हकमा आयातलाई नियन्त्रण गरेको छ। सार्क मुलुकबाहेकका देशहरुबाट अर्धप्रशोधित तेल आयातमा ३७.५ प्रतिशत र तयारी तेलमा ४५ प्रतिशत आयात शुल्क भारत छ। नेपाली उद्योगले भने १० प्रतिशत भन्सार महसुल तिरेर आयात गरेको कच्चा तेल प्रशोधनपछि ३० प्रतिशत मूल्यबृद्धि आर्जन गरी तेल निकासी गर्दै आएका छन्।

प्रकाशित: १९ मंसिर २०७७ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App