२२ फाल्गुन २०७७ शनिबार
अर्थ

रौतहटका अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन

रौतहटको अवैध क्रसर उद्योगहरुलाई बन्द गर्न निर्देशन दिइएको छ। मापदन्ड विपरीत रौतहटको विभिन्न भागमा संचालित ८ वटा क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गर्न निर्देशन दिएको हो।

अनुगमन समितिको निर्णय अनुसार श्रीराम जानकी क्रसर उद्योग वृन्दावन नगरपालिका ८, सुमुख क्रसर उद्योग फतुवा विजयपुर नगरपालिका ८, शिवशंकर क्रसर उद्योग गरुडा नगरपालिका ५, संकट मोचन वासिंग उद्योग वृन्दावन नगरपालिका १, शिवम बालुवा वासिंग उद्योग वृन्दावन नगरपालिका १, आश्रय अस्फाल्ट एन्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका ८, रमन सगरमाथा जेभि गुजरा नगरपालिका र श्रेष्ठ ढुकुछु मृत संजीवनी जेभी फतुवा विजयपुर नगरपालिकाको क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय भएको हो।

प्राविधिक समितिको प्रतिवेदनको आधारमा मापदन्ड नपुगेका क्रसर उद्योगहरुलाई बन्द गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् ।  

सञ्चालनमा रहेको अधिकांश क्रसर उद्योगले जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयको अनुमति नलिएको र स्थानीय तहसित पनि अनुमति नलिएको पाइएको हो। अधिकांश क्रसर उद्योगले क्रसर उद्योग संचालनको लागि आवश्यक मापदन्ड पूरा नगरेको पाइएको प्रजिअ यादवले बताएका छन्।  

जिल्लामा अवैध रुपमा मापदन्ड विपरीत संचालित अधिकांश क्रसर उद्योगको विषयमा स्थानीयले समय समयमा आवाज उठाउने गरेको भए पनि खासै सुनुवाइ हुने गरेको थिएन। अवैध रुपमा संचालित क्रसर उद्योगहरुले जनजीवनमा नकारात्मक प्रभाव पार्नुका साथै अवैध उत्खननमा पनि सहयोग पुर्‍याउँदै आएको थियो।

गाउँबस्ती र खोलाकै नजिकमा क्रसर उद्योग संचालनमा रहेकोमा स्थानीयले विरोध गर्दै आएका थिए। बन्द गरिएका उद्योगहरुमध्ये केहीले कागजपत्र र मापदन्ड पूरा गरेपछि संचालनको अनुमति पाइने प्रजिअ यादवले बताएका छन्।

संचालनमा रहेका क्रसर उद्योगहरुले कच्चा बिलहरुको प्रयोग गरी बिक्री वितरण गर्दै आइरहेकोमा सोबाट राज्यलाई ठूलो राजस्व घाटा भइरहेकोले बिक्री वितरण गर्दा अनिवार्य रुपमा भ्याट बिलमात्र प्रयोग गर्न लगाउने तथा गिटी, बालुवाजस्ता निर्माण सामग्री ढुवानी गर्दा साथमा भ्याट बिल लिई ढुवानी गर्नुपर्ने निर्देशन पनि दिइएको छ।

प्रकाशित: १८ मंसिर २०७७ १९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App