coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सशस्त्रले उठायो डेढ करोड राजस्व

सशस्त्र प्रहरी रूपन्देहीले गत तीन वर्षको तुलनामा सबैभन्दा बढी राजस्व संकलन गरेको छ । सीमावर्ती क्षेत्रबाट चोरी निकासीको सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरीको सो गणले दुई वर्षयताकै बढी राजस्व संकलन गरी भन्सार कार्यालयलाई बुझाएको हो । गणका गणपति एसपी तेजप्रसाद पोखरेलका अनुसार आर्थिक २०७६÷०७७ मा चार करोड ३६ लाख २२ हजार तीन सय १४ रूपैयाँ संकलन गरी बुझाएको थियो । यस वर्षको पहिलो तीन महिनामै एक करोड ५० लाख राजस्व संकलन गरी बुझाएको छ । अघिल्लो वर्ष २०७५÷०७६ मा वर्षभरीमा दुई करोड २३ लाख ९० हजार ३७ रूपैयाँ मात्रै संकलन भएको थियो । ‘अघिल्लो दुई वर्षभन्दा अहिले राजस्व संकलन धेरै भएको छ, यसले हामी चोरी निकासी–पैठारी रोक्न सफल भएको देखिन्छ,’ सशस्त्र प्रहरी बल रूपन्देहीका प्रमुख एसपी पोखरेलले भने ।

लकडाउन तथा कोरोनाको कारण शैक्षिक संस्था बन्द भएको तथा धेरै व्यक्तिको रोजगारी गुमेको बेला नेपाल–भारत सीमामा बस्ने धेरैजसोले चोरी निकासी–पैठारीलाई धन्दा बनाएको उनको भनाइ छ । कोरोना संक्रमण रोक्ने उद्देश्यले गरिएको सीमा सिलबन्दीलाई प्रभावकारी बनाउन सरकारले सशस्त्र प्रहरी बल तैनाथ गर्ने निर्णय गरेको थियो । पोखरेलका अनुसार यस आर्थिक वर्षको पहिलो तीन महिनामा सशस्त्रले पिकअप गाडी दुई, कार एक, मोटरसाइकल आठ, साइकल दुई, किराना सामान, लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, मोटर पार्टस, मोबाइल सेट, खसीबोका, भैंसीका पाडा, औषधी, मटर, मटर दाल, मल र ब्रोइलर कुखुरा, पटाका, वन पैदावार गरी एक करोड ४९ लाख ४१ हजार रूपैयाँ बराबरको सामान बरामद गरेर बुझाएको छ । सो अवधिमा अवैध ओसारपसारमा संलग्न तीनजना, लागू औषधसहित तीनजना, चेलिबेटी बेचबिखन तथा ओसारपसारमा तीनजना, वन पैदावार ओसारपसारमा दुईजना, औषधीजन्य पदार्थ ओसारपसारमा तीनजनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको पोखरेलले जानकारी दिए । 

प्रकाशित: १७ मंसिर २०७७ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App