१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘ढोका त खोल्यौ तर, भित्र पस्ने पाहुना छैनन्’

पोखराको लेकसाइड । यहाँका अधिकांश होटल अहिले संचालनमा रहेपनि आम्दानी भने नरहेको व्यवसायीको भनाई छ । फाइल तस्बिरः नागरिक

कोरोना भाइरस महामारीसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिना अघि संचालनमा आयो । सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साहि पनि बने । त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो । तर, अचेल त्यो रिसोर्टमा निकै नै कम आकारमा पाहुना छन् । ६१ कोठाको रिसोर्टमा १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन् ।  

सोचेभन्दा कम आकारमा पाहुना आएपछि रिसोर्टका कर्मचारीको उत्साह हराउँदै जान थालेको छ । ‘बन्द गर्नेले, बरु जित्छन, यो बेला कमाईको त कुरै छाडौं, संचालन खर्च जुटाउन पनि सकस भयो,’ रिसोर्टका म्यानेजरले भने, ‘कर्मचारीलाई तलब खुवाउन त आम्दानीले पुग्दै पुग्दैन । काममा फर्केका कर्मचारीलाई खाना खुवाउन, बत्ती र पानीको महशुल तिर्न भने मुस्किलले पुगेको छ ।’ सिमित आकारका पाहुनाको बसाईसँगै बेलाबखत विवाहका कार्यक्रमले रिसोर्टलाई थोरै भएपनि आर्थिक रुपमा राहत दिएको उनले बताए । तिनै विवाहका कार्यक्रम पनि बढी भीडभाड गर्न नपाउँदा रिसोर्टको आम्दानीमा धक्का पुगेको उनले बताए ।  

‘ठूला आकारका होटल लामो समय बन्द गर्दा झनै बढी नोक्सानी हुन्छ । सकेसम्म होटललाई चलायमान बनाईराख्न चाहेका हौ,’ ती म्यानेजरले भने, ‘लामो समय बन्द राख्दा सन्देश पनि नकारात्मक जाने, अनि पुन संचालनमा ल्याउँदा पनि उल्टो नोक्सानी खेप्नुपर्ने हुन्छ । हुन त अहिले पनि घाटामै चलेका छौ ।’ व्यवसाय चलिरहेको सन्देश दिनकै लागि निरन्तर खुला राखेको उनले बताए ।  

रिसोर्टले यो बेला आन्तरिक पाहुना तान्न सकिने आँकलन गरेर केही सस्तो प्याकेज ल्याएको थियो । तर, त्यो प्याकेजमा पनि बस्न आउने पाहुना उत्तिसारो भएनन् । ‘सस्तो प्याकेजले पनि पाहुना तान्न सकिएन । मान्छेमा क्रयशक्ति नै छैन,’ उनले भने, ‘लामो समय ढोका लगाएर राख्दा झनै नोक्सानी बढ्ने भएकोले ढोका त खोल्यौ, तर, भित्रिने पाहुना छैनन् ।’ ती म्यानेजरका अनुसार अक्टोबर १ मा रिसोर्ट खुल्दा केही आकारमा स्थानीय पाहुना होटलमा बस्न र खानपिनका लागि पुगेका थिए । पाहुनाको त्यो आगमन दसैंका केहीदिन झन्डै ५० प्रतिशत अकुपेन्सीमा उक्लिएको थियो । तर अहिले भने ह्वात्तै तल झरेको उनले बताए ।  

कोरोनाका कारण बन्द रहेको निर्मलपोखरीको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोट एण्ड स्पा अढाई महिना अघि संचालनमा आएको थियो । यो रिसोर्टमा ६४ कोठा छन् । शुक्रबार र शनिबार रिसोर्टका २० प्रतिशत हाराहारीमा कोठामा पाहुना हुन्छन् । अरु दिन त्यो भन्दा कम आकारमा पाहुना हुन्छन् । कोरोनाले बन्द गराएको रिसोर्ट पुन संचालनमा आउँदा सुरुवातीताका कर्मचारी र व्यवस्थापनलाई उत्साही बनाउनेगरि पाहुना पुगेका थिए । त्यो आकार अहिले कम भएपनि रिसोर्ट चलायमान बनाउन सकिएको रिसोर्टका संचालन निर्देशक किरण तुलाधर बताउँछन् । ‘हुन त यो बेला नाफा नै हुन्छ भनेर व्यवसाय खोल्ने अवस्था छैन । तर, चलायमान बनाउन सक्नु पनि ठूलो कुरा हो,’तुलाधर भन्छन्, ‘संचालनमा राखिरहन सकियो भने होटल जोगिन्छ । ढोका लगाएर बस्ने हो भने होटल नै रहँदैन ।’  

जसोतसो संचालनमा राख्न सकियो भने होटलका सबै पुर्वाधारले स्याहारसुसार पाउँने उनले बताए । ‘ढोका लगाएर बस्यौं भने त्यही आम्दानी पनि हुँदैन । एकपटक ढोका लगाएपछि सधैंका लागि ढोका लाग्न सक्छ । तर,चलायमान बनाउन प्रयास गर्नुपर्छ ।’ उनले ६४ कोठाको रिसोर्ट पाहुनाविहीन अवस्थामा कुनैपनि दिन राख्नु नपरेको बताए । ‘यस्तो अभावको बेला पनि होटल रित्तो राख्नु परेको छैन । होटललाई रित्तो राख्न नपरोस भन्ने प्रयासमा छौ । कम्तिमा चलायमान बनाउने हो,’ उनले भने, ‘अहिले कमाउने बेला छैन, चलायमान बनाउन प्रयास गर्ने हो ।’  

टुकी रिसोर्टका संचालक पुष्प चालिसेका अनुसार अहिले व्यक्तिगत सम्बन्धमा रहेका एकाध र संस्थागत कार्यक्रमका केही पाहुना आएपनि आम्दानीले खर्च धान्न सकिने अवस्था छैन । ‘सेमिनारका सहभागि र व्यक्तिगत पाहुनालाई बेलाबेला स्वागत गर्न पाएका छौ । नत्र आम्दानी नै हुनेगरि व्यवसाय चलेको छैन,’ चालिसे भन्छन्, ‘व्यवसायलाई चलायमान बनाउने प्रयासमा छौ । अहिले बाध्यताले पनि दौडिरहेका छौ । सधैं ढोका थुनेर बस्नु पनि भएन ।’ अबको केही महिनापछि धेरथोर कमाई होला भन्ने आशामा ढोका खोल्न बाध्य भएको उनले बताए । ‘अब कतिन्जेल ढोका थुनेर बस्ने भन्ने हो । अहिलेको आम्दानीले खर्च धान्दैन, तर, व्यवसाय चलायमान बनेको देखिन्छ,’ उनले भने, ‘कम्तिमा होटलले स्याहार पाउँछ भन्ने हो । ढोका लगाएर राख्दा पनि राम्रो देखिन्न ।’  

व्यवसायीले पनि होटल खोल्दा अहिले नै कमाई हुने अवस्था नरहेको बताउँछन् । अहिले आएका पाहुनाको आम्दानीको भरमा मुस्किलले पानी र बत्तीको महशुल तिर्न मात्र पुग्ने उनीहरुको भनाई छ । होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘अहिले तत्कालका लागि होटल व्यावसायी दयनीय अवस्थामा छन् । खर्च धान्न सकिने अवस्था छैन । तर, होटल बन्द छैनन भन्ने सन्देश दिन मात्र खोलेर बसेका हौ ।’ अहिले एकतिहाई कर्मचारीलाई मात्र काममा बोलाएर होटल संचालन गरेको पनि उनले बताए । 

‘होटल बन्द छैन है भन्ने सन्देश चिर्नका लागि मात्र खोलेका हौ । पोखरा खुला छ भन्ने सन्देश दिन खोजेका छौ,’ उनले भने, ‘तर व्यवसाय चलेर फाइदा हुने अवस्था होईन । अहिलेको आम्दानीले बिजुली, पानी र कर्मचारीको खानाको खर्च मात्र धानेको छ ।’ साना आकारका होटललाई केही राहत मिलेको भएपनि ठूला आकारका होटललाई त झनै सकस रहेको उनले बताए ।

प्रकाशित: १४ मंसिर २०७७ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App