७ वैशाख २०८१ शुक्रबार
अर्थ

कर्णाली प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ। पाँच महिनादेखि रिक्त उपाध्यक्षमा बिहीबारको मन्त्रिपरिषद् बैठकले दैलेख नारायण नगरपालिका–८ निवासी खड्कालाई नियुक्त गरेको हो। यसअघिका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी रामपुर कृषि क्याम्पसको उपकुलपति नियुक्त भएपछि उपाध्यक्ष पद रिक्त थियो।

उपाध्यक्षमा नियुक्त खड्काले आफू कर्णालीको गरिबी र भोकमरी हटाउन भूमिका खेल्ने बताए। उनले स्थानीय स्रोत र साधनलाई दिगो विकासमा लगाउँदै यहाँको गरिबी र भोकमरी हटाउन नीति, योजना र कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए। उपाध्यक्ष खड्काले कर्णालीमा व्याप्त कुरीति, कुसंस्कार र असमानता हटाउन पनि आफ्नो अनुभवलाई उपाध्यक्षका हैसियतले भूमिका खेल्ने बताए। २०१६ सालमा जन्मिएका खड्का यसअघि राज्य पुनर्संरचना आयोगको सदस्य, समाज कल्याण परिषद्को कार्यकारी निर्देशक र रामपुर कृषि क्याम्पसका प्राध्यापक थिए। उनी अहिले फियान इन्टरनेसनलको अन्तर्राष्ट्रिय अध्यक्ष छन्।

यस्तै सुर्खेतका नेकपाका नेता झकबहादुर मल्ललाई मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा नियुक्त गरिएको छ। मन्त्रिपरिषद् बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेरसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि नेपाल सरकारलाई पठाउने निर्णय गरेको छ। बैठकले समपूरक तथा विशेष अनुदानतर्फका योजनाको बजेट व्यवस्थापनका लागि आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा योजनाका लागि २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा पठाउने निर्णय पनि गरेको छ। यस्तै कर्णाली प्रदेश सुरक्षा मापदण्ड २०७७, कर्णाली प्रदेशको सुरक्षा रणनीति, २०७७ स्वीकृत गर्नुका साथै शान्ति अध्ययन तथा आइते अपांग पुनस्र्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गरेको छ।

प्रकाशित: १३ मंसिर २०७७ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App