८ वैशाख २०८१ शनिबार
अर्थ

सेयर सूचक ऐतिहासिक उचाइमा

कोभिड १९ महामारीका कारण उत्पादन, उपभोग, रोजगारी जस्ता अर्थतन्त्रका अवयवहरू थिलथिलो भए पनि सेयर बजारको परिसूचक भने ऐतिहासिक उचाइमा पुगेको छ ।

पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजारको सूचक (नेप्से) बिहीबार १९९३.२४ बिन्दुमा पुगेपछि यसअघिको कीर्तिमान तोडिएर नयाँ कायम भएको हो । बिहीबार कारोबारको पूर्वाद्र्धमा बढेर १९२७ बिन्दुसम्म पुगेको नेप्से उत्तराद्र्धमा घटेर १९९३.२४ मा आइपुगेको हो ।

यस दिन कारोबार रकममा पनि नयाँ कीर्तिमान कायम भएको छ । यस दिन दोस्रो बजारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेपालको सेयर सूचक यति माथि पुगको यो पहिलोपटक हो । यसअघि २०७३ साल साउन ११ गते नेप्से १८८१.४५ बिन्दुमा पुगेको थियो । त्यसपछि नेप्से घट्न थालेको थियो । ठीक एक वर्षअघि २०७६ मंसिर ११ गते नेप्से १११२.६१ बिन्दुमा थियो ।

बिहीबार नेप्से १८.४३ बिन्दुले बढेको हो । नयाँ कीर्तिमान कायम भएको दिन दोस्रो बजारमा दुई सय एक कम्पनीका एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएको छ । यस दिन परिसूचक र कारोबारमा नयाँ कीर्तिमान कायम भए पनि कारोबार भएका १२ उपसमूहमध्ये सात उपसमूहको सूचक ओरालो लागेको छ । पाँच समूहको सेयर उपसूचक उकालो लागेको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन बैंकिङ, जलविद्युत्, उत्पादनमूलक, अन्य र म्युचुअल फन्ड समूहको उपसूचक माथि उक्लेका छन् । बाँकीको ओरालो लागेको छ ।  

बिहीबार धेरै लगानीकर्ता बैंकको सेयरमा आकर्षित भए । बैंकिङ समूहको उपसूचक ३७.७६ र अन्य समूहको उपसूचक १५.३६ अंकले बढेको छ । त्यसैगरी, जलविद्युत् समूहको ६.८२, उत्पादनमूलकको ०.०९ र म्युचुअल फन्डको उपसूचक ०.०७ बिन्दुले माथि उक्लेका छन् । कारोबार रकमको आधारमा यस दिन नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । उक्त कम्पनीको ५८ करोड १३ लाख १७ हजार एक सय ७८ रूपैयाँको सेयर किनबेच भएको छ । 

प्रकाशित: १२ मंसिर २०७७ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App