४ वैशाख २०८१ मंगलबार
अर्थ

लक्ष्य भन्दा १ अर्ब ३९ करोड बढी राजस्व संकलन

पश्चिम नेपालको मुख्य भन्सार कार्यालय नेपालगन्ज भन्सारले पहिलो चौमासिकमा आफनो लक्ष्य भन्दा १ अर्ब ३९ करोड रुपैयाँ धेरै राजस्व संकलन गरेको छ। कार्यालयले यस आर्थिक वर्षको पहिलो चौमासिकमा ४ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य बनाएको थियो।  

सहजै लक्ष्य हासिल गर्ने क्रममा नेपालगन्ज भन्सारले ६ अर्ब २१ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयले चौमासिकमा आफ्नो लक्ष्य भन्दा २४ दशमलव ९ प्रतिशत बढी राजस्व संकलन भएको हो।  

भन्सार कार्यालयले २०७७/७८ को पहिलो चौमासिकमा एक सय २४ दशमलव ९ प्रतिशत राजश्व संकलन गर्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेशकुमार खतिवडाले जानकारी गराए। नेपालगन्ज भन्सारले आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब १८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य बनाएको छ। जुन लक्ष्य हासिल गर्न कार्यालयलाई सहज हुने देखिएको छ।  

कार्यालय पहिलो चौमासिकमा नै कूल लक्ष्यको ४३ दशमलव ५८ प्रतिशत राजश्व संकलन गरिसकेको भन्सार अधिकृत खतिवडाले बताए।  

गत आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सारले यो वर्ष भने लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्ने बताएको छ। अधिकृत खतिवडा यो वर्ष एक सय १० प्रतिशतभन्दा धेरे राजश्व संकलन गर्ने बताउँछन्।  

खतिवडाले भने, ‘गत आर्थिक वर्षमा कोभिडको महामारीका कारण पैठारीमा आउने मानसामानको कमी भएको थियो। जसले गर्दा लक्ष्यअनुरुप राजश्व संकलन भएन। यो वर्ष भने एक सय १० प्रतिशतभन्दा बढी राजश्व संकलन हुने अनुमान गरेका छौं।’  

नेपालगन्ज भन्सार कार्यालयको गत तीन आर्थिक वर्षको अवस्था हेर्ने हो भने यो वर्ष बढी राजश्व उठ्ने देखिन्छ।  

कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा कार्यालयको राजश्व संकलन लक्ष्य १२ अर्ब ३३ करोड एक लाख १६ हजार रहेको थियो। जसमा नेपालगन्ज भन्सारले १२ अर्ब ३३ करोड २५ लाख २७ हजार राजश्व संकलन गरेको थियो। जुन लक्ष्यअनुसार एक सय दशमलव ०२ प्रतिशत रहेको थियो।  

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा १५ अर्ब ४३ करोड ७५ लाख १४ हजार लक्ष्य रहेको नेपालगन्ज भन्सारले ११ अर्ब ७६ करोड ९४ लाख ९९ हजार राजश्व संकलन गरेको थियो। जुन कूल लक्ष्यको ७६ दशमलव २४ प्रतिशतमात्र संकलन हो।  

नेपालगन्ज भन्सार हुँदै भारतबाट प्रमुख रुपमा पेट्रोलियम पदार्थ बढी आयात हुने गरेको छ। यसले पनि राजस्व संकलनमा वृद्धि भएको उनले खतिवडाले बताए।  

उनले भने, ‘नेपालगन्ज भन्सार कार्यालबाट आयात वस्तुहरुमा मुख्य भनेको पेट्रोलियम पदार्थहरु हुन्। उद्योगधन्दाका लागि चाहिने कच्चा पदार्थ जस्तै जिप्सन, कोइला आयात हुन्छ। त्यसपछि खाद्य वस्तुहरुको आयात हुने गर्दछ। चौथोमा कमर्सियल सामानहरु जस्तै टायल, मार्वल, चिनी आयात हुन्छ।’

प्रकाशित: १० मंसिर २०७७ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App