७ वैशाख २०८१ शुक्रबार
अर्थ

तोकियो जेठोबुढो धानको समर्थन मूल्य

पोखरामा पहिलो पटक जेठोबुढो धानको समर्थन मूल्य तोकिएको छ । रैथाने जातको धान जेठोबुढोका संरक्षण र प्रवद्र्धन गर्न उद्देश्यसहित पहिलो पटक पोखरा महानगरपालिकाले धानको मूल्य तय गरेको हो । पोखरामा यसअघि सरकारी तथा स्थानीय तहले धानको मूल्य तोकेका थिएनन् । किसानले आफनो अनुकूलमा बिक्री वितरण गर्दै आएका थिए ।  

प्रतिक्विन्टल ९ हजार रूपैयाँ समर्थन मूल्य तोकिएको पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाले बताए । ‘धान उत्पादन गर्ने किसानले न्यूनतम मूल्य पाउन् भन्ने उद्देश्यले समर्थन मूल्य तोकिएको हो,’ उनले भने, ‘उत्पादित धानलाई व्यवस्थापन गर्ने महानगरपालिकाको निर्णयसँगै समर्थन मूल्य राखिएको हो ।’ समर्थन मूल्यले किसानको लागत मूल्य पाउन भन्ने ध्येय रहेको समेत उनले सुनाए ।  

तराईमा सरकारले नै धानको मूल्य तोक्ने गरेको छ । तोकिएको मूल्यमा सहकारी एवं कुनै कम्पनी वा फार्मले खरिद गर्न सक्ने छ । ‘तोकिएको समर्थन मूल्यमा पोखरा महानगरभित्रका इच्छुक सहकारी, कृषि फार्म वा कम्पनीले खरिद गर्न सक्ने छ,’ उनले थपे, ‘तोकिएकै मूल्यमा बेच्न सक्ने छन् । किसानले बढी मूल्यमा समेत बेच्न पाउँछन् ।’ बढ्दो रासायनिक मलको प्रयोगसँगै रैथाने जातका धान बिस्तारै लोप हुँदै गएको छ । सहकारीले सूचीकृति मूल्यमा खरीद गर्न सक्ने प्रावधान छ ।  

जेठोबुढो धानको संरक्षण र सम्बद्र्धन गर्दै किसानलाई प्रोत्साहित गर्ने उद्देश्य महानगरपालिकाले राखेको छ । अनुदान समेत दिने महानगरपालिकाले जनाएको छ । अन्य धानको पनि खरिद बिक्री हुदैं आएको छ ।  

मन्सुली मोटो र मसिनोको २६ सयदेखि २८ सय रूपैयाँ प्रतिक्विन्टल तोकिएको छ । समर्थन मूल्य नतोकिदाँ किसानले आफनै भाउमा धान बेच्दै आएका थिए । पोखरामा यो वर्ष जेठोबुढो धानको उत्पादन १२ देखि १४ हजार मेट्रिक टन उत्पादनको अनुमान छ । कुल क्षेत्रफल मध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान लगाइएको छ । प्रतिरोपनी ३ देखि ५ मुरी उत्पादन हुन्छ । प्रतिमुरी धान ५० केजी हुन्छ । प्रतिमुरीको मूल्य ४५ सय पर्न आउँछ भने प्रतिकेजी ९० रूपैयाँ पर्ने उनको भनाई थियो ।

प्रकाशित: ९ मंसिर २०७७ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App