७ वैशाख २०८१ शुक्रबार
अर्थ

कास्कीमा धान उत्पादनमा वृद्धि

पोखरा–१३ मा कुनियोबाट धान चुट्न झार्दै दमेरा । तस्बिर: उमेश पुन/नागरिक

चैतदेखि कोरोना कहरले लकडाउन सुरु भयो। लकडाउन अघि नै सर्वसाधारण आफ्नो गाउँघर फर्किए। लामै समय लडकाउनले समस्या निम्त्याउने त्रास उत्तिकै थियो। गाउँघर फर्किएपछि अधिकांशले बाँझो जमिन फोर्न थाले। बाँझो जमिन खेतीयोग्य बनाउँदै धान झुलाए। बाँझो बारीमा धान झुलेपछि यो वर्ष कास्कीमा धानको उत्पादनमा वृद्धि भएको छ।  

पर्याप्त रासायनिक मलको अभाव भएपनि धानको उत्पादनमा ह्रास भएन। सिँचाइको सुविधा, आकाशे पानीको पर्याप्ततासँगै मौसम अनुकुल हुँदा धानको उत्पादन वृद्धि भएको महानगरपालिकाले जनाएको छ। मलको अभाव भएपनि उत्पादन राम्रै भएपछि किसान समेत मख्ख छन्। ‘गतवर्ष भन्दा यो वर्ष १० देखि २० प्रतिशतसम्म धान उत्पादन वृद्धि भएको छ’ पोखरा महागनरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाले भने–‘मल नपाईएपनि उत्पादनमा असर भने गरेको देखिएन।’ गत वर्ष ३९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।  

पोखरामा रासायनिक मल बढी प्रयोग हुँदैन। गतवर्ष २ हजार टन मल खपत भएको तथ्यांक छ। तर यो वर्ष मल पर्याप्त मात्रामा थिएन। मलको आपूर्ति भएन। मलको सहज आपूर्ति नहुदाँ किसानले गाई भैंसी तथा कुुखुराको सुली एवं खरानी समेत प्रयोग गरेर माटोको मलिलोपनालाई जोगाए । ‘मलको प्रयोग तल्लो तहमा अझै प्रयोग हुन सकेको छैन। माटोको मलिलोपन नै बढी भएको अवस्था देखियो। त्यसले उत्पादन घटेको छैन।’ उनको भनाई थियो। पसलैपिच्छे मलको बिक्री वितरण फरक फरक हुँदा तल्लो तहमा अझै पनि रासायनिक मलको वितरण हुन नसकेको उनको भनाई थियो। कास्कीमा पाखो भेगमा बढी जमिन गत वर्ष बाँझो थिए। तर यो वर्ष किसानहरुले बाँझो जमिनमा समेत धान रोपेका थिए। त्यसले पनि उत्पादनमा वृद्धि भएको उनले सुनाए। ‘गतवर्ष भन्दो यो वर्ष खेती गर्ने क्रम बढेको छ।’ उनको भनाई थियो।  

पोखरा महानगरपालिकामा विशेष गरी फेवाफाँट, अर्मला, ठूलाखेल विरुवा फाँट, शिशुवा फाँट, खोला छेउ, कमलपोखरी फाँट, कुँडहर फाँटमा धान उत्पादन हुँदै आएका छन्। महानगरपालिकाको तथ्यांक अनुसार १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ। उत्पादन अनुसार यो वर्ष ४५ हजार मेट्रिक टन उत्पादन हुने छ। ‘फिल्ड भिजिट र किसानसँगको प्रत्यक्ष कुराकानी गर्दा धान यो वर्ष उत्पादन बढेको सुनाए।’ उनले भने–‘फिल्ड भिजिटलाई नियाल्दा बढीमा २० प्रतिशत बढ्न सक्ने तथ्यांकले देखाउँछ।’  

पोखरामा विशेष गरी जेठोबुढो धानसँगै अन्य विभिन्न प्रजातिका धान रोप्ने गरिएको छ। पुरानो जातका रमनी, खाल्टेखोला, मन्सुली, पहेंले, गुर्दी, तौली लगायतका धानहरु लगाईन्छ। केही धानहरु लोप हुने अवस्थामा छन्। त्यो सँगै पछिल्लो समय हाईब्रिड धान समेत लगाईन्छ। हाईब्रिड धानको उत्पादन अन्य धानको तुलनामा बढी फल्ने अनुमान छ। ‘हाईब्रिड प्रतिहेक्टर ५ टनसम्म फल्छ’ उनले भने–‘स्थानीय जातको धान भने ३ टन प्रतिहेक्टर उत्पादन हुन्छ।’ स्थानीय जातका धान केही सुख्खा ठाउँमा समेत उत्पादन हुने कृषि विज्ञ बताउँछन्।  

‘स्थानीय जातको धानको प्रवद्र्धन र संरक्षण गर्न गतवर्षदेखि किसानलाई अनुदान दिन थालिएको छ’ उनले भने–‘अनुदान स्वरुप साढे ५ लाख रुपैयाँ किसानलाई अनुदान दियौं।’ उनका अनुसार विभिन्न समूह तथा सहकारी मार्फत स्थानीय जात विशेष गरी जेठोबुढो धान उत्पादन गर्ने किसानलाई प्रोत्साहन रुवरुप अनुदान दिइएको हो। उनले स्थानीय जातको धान प्रवद्र्धन गर्न ८–१० टन बीउ अनुदान उपलब्ध गराइएको छ। महानगरले नै पहेंले, अनदी लगायतका धान संरक्षण र सम्वद्र्धन गर्न लबिङ समेत गरेको छ। किसानलाई पछिल्लो समय स्थानीय जातमै केन्द्रीत गराउने ध्येय कृषि विज्ञको छ। स्थानीय जातको धानको मूल्य समेत बढ्दै गएको छ।

प्रकाशित: ८ मंसिर २०७७ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App