१४ माघ २०७७ बुधबार
अर्थ

मसँग महासंघलाई अघि बढाउने प्रस्ट भिजन छ: ढकाल

नेउवामहासंघको निर्वाचन

चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने महासंघको विधानमा व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालसँग महासंघलाई अघि बढाउने एजेन्डा, कोभिडले थलापरेको अर्थतन्त्रलाई माथि उठाउन तथा उद्योगी, व्यवसायीको हितमा काम गर्न के योजना छन्, नेतृत्वमा पुगेपछि निजी क्षेत्रको हितभन्दा व्यक्तिगत स्वार्थमा किन लाग्छन् ? लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीका सम्पादित अंशः

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षमा नेतृत्व लिन चुनावी मैदानमा उत्रिनुभएको छ । महासंघलाई अघि बढाउने तपाईंका अजेन्डा के हुन् ?
नेपाल उद्योग वाणिज्य महासंघ मुलुकभित्रका सबै उद्यमी व्यवसायी तथा नेपालमा लगानी गर्ने वैदेशिक लगानीकर्ता समेतको छाता संस्था हो । यससँग सिंगो निजी क्षेत्रको प्रतिष्ठा र भविष्य जोडिएको छ । विगतका उपलब्धिको रक्षा गरेर अहिले बदलिएका चुनौती र अवसरको सदुपयोग गर्न सक्नुपर्छ । कोभिड–१९ का कारण हामी प्रतिकूल परिस्थितिमा करिब ८ महिना ढिलो गरी साधारणसभा र निर्वाचन गर्दैछौं । यसैले कोभिड–१९ पछिको अर्थतन्त्रको पुनरुत्थान एवं महासंघलाई अझ बढी सशक्त र प्रभावकारी बनाउनका लागि म र मेरो टिमले ‘एफएनसिसिआई भिजन–२०२५’ सार्वजनिक गरेका छौं । हाम्रो भिजन, हाम्रो अजेन्डा र हाम्रो कार्ययोजना त्यसमा समावेश छन् । महासंघको संस्थागत सुधारदेखि नीतिगत पैरवी र आम व्यवसायीको संरक्षणको परिधिभित्र रहेर हामीले आर्थिक विकासमा थिंकट्यांकको भूमिका पनि निर्वाह गर्नेछौं । ‘समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार’ भन्ने हाम्रो मूल नारालाई सार्थक परिणाममुखी बनाउनेछौं ।  

निर्वाचनबाट नेतृत्व चयन गर्ने सबैभन्दा उत्तम विधि हो । महासंघको निर्वाचन राजनीतिक दलको जस्तो उम्मेदवारहरूको प्यानल खडा भएको छ । अजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा त्यस्तो देखिएको छैन । खासमा महासंघ नेतृत्वमा आउने होडबाजी र आकर्षण किन ?
महासंघ भनेको व्यवसायीको छाता संस्था हो । यसमा लागेर समग्र व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने हो । हामीले उद्यम, व्यापार, व्यवसायसँगै हासिल गरेको सीप र अनुभवका माध्यमले नयाँ उद्यमी जन्मन सकुन्, राज्यले पनि सोही अनुभवको उपयोग गर्दै व्यवसायमैत्री नीति निर्माण गरोस् भन्ने पवित्र उद्देश्यले नै हामी महासंघमा छौं । यसबाहेक एक व्यवसायीले अर्को व्यवसायीलाई परेको बेला सहयोग गर्न सकोस् भन्ने चाहना पनि हो । यसैले महासंघमा लागेर के पाउनुभयो भन्दा म सधैंभरी भन्ने गर्छु कि आम व्यवसायी साथीहरूको माया । अब रह्यो अजेन्डाको कुरा, महासंघमा म एक्लैले गर्ने होइन र परिणामका लागि टिमवर्क चाहिन्छ । नेतृत्वमा जाने भएपछि मेरो जिम्मेवारी बढी होला, त्यो अलग कुरा भयो । त्यसैले हाम्रो टिमले एफएनसिसिआई भिजन–२०२५ को अजेन्डा सार्वजनिक गरिसकेको छ र सोही अजेन्डा लिएरै म निर्वाचनमा गइरहेको छु ।  

महासंघको नेतृत्वमा पुग्नेले समग्र निजी क्षेत्रका हकहितका लागि आवाज उठाउनुभन्दा सरकार र उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध राखेर आफ्नो व्यक्तिगत स्वार्थ र व्यापार व्यवसायको हितमा काम गर्न थालेको आरोप लाग्न थालेको छ । यसलाई कसरी लिनुभएको छ ?  
महासंघले गर्नुपर्ने मुख्य काम दुईवटा छन् । पहिलो, आम व्यवसायीको हकहित तथा सुरक्षा र दोस्रो नीतिगत पैरवी । सरकारका आर्थिक नीतिले मुलुकमा लगानीमैत्री वातावरण बनाउन सकियोस् भन्ने हेतुले महासंघले नीतिगत पैरवी गर्दछ । हामीले अहिलेसम्म बाटो बिराएका छैनौं । होला, जति गर्न सकिन्थ्यो त्यो गर्न सकिएन । यसमा हाम्रा आन्तरिक कमजोरी प्रशस्तै छन् । मुलुकको अवस्थाले पनि केही समस्या पारेको छ । महासंघलाई भ-याङ बनाएर व्यवसाय बढाउने, राजनीतिक नेतृत्वसँग सम्बन्ध बढाउने भन्ने सन्दर्भमा म अरूले के गरे भनेर चर्चा गर्न चाहन्नँ, तर तपाईंमार्फत म के प्रस्ट पार्न चाहान्छु भने विभिन्न राजनीतिक दलका नेताहरूसँग, प्रशासकहरूसँग तथा अन्य पेसा र व्यवसायका साथीभाईसँग मेरो सम्बन्ध महासंघ प्रवेश नगर्दै थियो । मैले यो सम्बन्धलाई महासंघको हितका निम्ति उपयोग गर्न सक्छु र चाहन्छु भने त्यसलाई त सकारात्मक रूपमा लिनुपर्ने होइन र ?  

मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन् । सबैलाई समेटेर लैजान सक्ने खुबी छ । नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु-याउन सक्ने क्षमता छ । मसँग राम्रो टिम पनि छ र त्योभन्दा महत्वपूर्ण कुरा देशैभरका जिल्ला, नगरका व्यवसायीको समर्थन छ ।

अलिक कडा स्वभावका मन्त्री तथा सचिव भए महासंघका पदाधिकारी बोल्नसमेत नसक्ने अवस्थामा देखिन्छन् । महांसघ किन यति कमजोर ? यसमा कसलाई दोष दिनुहुन्छ ?
महासंघले इस्यू र अजेन्डाका आधारमा आफूलाई प्रस्तुत गर्ने हो । मन्त्री वा सचिव कडा हुनु, नहुनुले व्यक्तिगत सम्बन्धमा फरक पर्छ होला तर सरकारको नीति, कार्यशैलीमा समस्या छैन भने जति कडा भए पनि फरक पर्दैन । हामी स्वस्थ प्रतिस्पर्धा र स्वच्छ व्यवसायका हिमायती हौं । सरकारसँग हातेमालो गरेरै आर्थिक समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने अविचलित मान्यता राख्छौं । त्यसो भन्दैमा सरकारका गलत निर्णयको समर्थन गर्ने वा मौन रहेर गलत कामका लागि प्रोत्साहन गर्ने काम हामीबाट हुँदैन । कसैले कमजोरी गरे होला तर यसलाई महासंघको कमजोरीका रूपमा हेरिनु हुँदैन । बरु हामीभित्रको विभाजनका कारण नीति निर्माताले खेल्ने ठाउँ पाइरहेका छन् कि भनेर सचेतचाहिँ हुनुपर्छ ।  

विदेशमा महासंघजस्ता निजी क्षेत्रका संघ–संगठनले सरकारको आर्थिक नीतिबारे विज्ञको हैसियतमा सुझाव दिने गरेका छन् । छिमेकी भारतमै पनि निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आफ्ना कार्यक्रममा समेटेर लैजाने गरेको छ । नेपालमा महासंघले थिंकट्यांकका रूपमा भूमिका खेल्न किन सकिरहेको छैन ?
महासंघले प्रत्येक वर्ष बजेट, मौद्रिक नीति आउनुपूर्व नियमित सुझाव दिने गरेको छ । यसबाहेक संविधान निर्माणका बेला महासंघसहित निजी क्षेत्रले आर्थिक उदारीकरण, सम्पत्तिको हकलगायत विषयमा गरेको लबिइङको सुनुवाइ भएकै हो । यद्यपि, कतिपय नीति निर्माणका क्रममा भने बुझाइमा समस्या देखिन्छ । ऐन बनाउने बेला पर्याप्त छलफल नहुने चलन रहेकाले यस्तो समस्या आएको हो । निजी क्षेत्रले पर्याप्त छलफल गरेर एकीकृत आवाज उठाउन सक्यो भने समस्यामा सम्बोधन हुन्छ । जहाँसम्म महासंंघलाई आर्थिक विकास र यससम्बन्धी नीति निर्माणमा थिंकट्यांकको भूमिकामा रूपान्तर गर्ने सन्दर्भ छ, त्यसका लागि हामी अवश्य पनि सकारात्मक छौं । हाम्रो एफएनसिसिआई भिजन–२०२५ मा पनि यो कुरा छ । महासंघभित्रै प्रबुद्ध व्यक्तिहरूको थिंकट्यांक पनि बनाउछौं । निजी क्षेत्रभित्र व्यापक छलफल र सहभागिता गराएर प्रभावकारी रूपमा अघि बढाउछौं ।

निजी क्षेत्रले सधैं सुुविधा र छुट मात्र माग्ने गरेको आरोप लगाउँदै सरकारले महासंघका मुद्दालाई गम्भीर रूपमा लिएको देखिँदैन । तपाईं नेतृत्वमा आए सरकारको यो दृष्टिकोणलाई कसरी परिवर्तन गर्न सक्नुहुन्छ ?
हामीले पछिल्लो समय सरकारलाई बुझाएका सुझावहरूको गम्भीर रूपमा अध्ययन अनुसन्धान गर्नुभयो भने हामी छुट र सुविधा माग्ने चरणभन्दा निकै माथि उठिसकेका छौं । स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ, खुला सीमाबाट सिर्जित समस्याले संकटमा परेका उद्योगका हकमा केही सम्बोधन गर्नुपर्छ भन्नेबाहेक हामीले छुट र सुविधा कमैमात्र मागेका छौं । व्यवसाय गर्ने वातावरण बनाउनुप¥यो, स्वस्थ प्रतिस्पर्धा तथा निजी क्षेत्रलाई राज्यले सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो । निजी क्षेत्र सक्षम भएपछि राज्यसँग सुविधा माग्ने नभई दिने हो । आज वित्तीय क्षेत्र आफैं सक्षम छ, राज्यलाई बर्सेनि अर्बौं कर बुझाइरहेको छ । उत्पादनमूलक वा सेवामूलक क्षेत्र पनि यसरी नै सक्षम भयो भने राज्यसँग माग्ने स्थिति नै आउँदैन । यसैले निश्चित समय कुनै क्षेत्र विशेषमा राज्यले हेरिदिनु प¥यो भन्ने कुरालाई नकारात्मक रूपमा हेर्नु भएन ।  

मुलुकमा हुने आर्थिक अनियमितताका सबालमा निजी क्षेत्र सधैंजसो जोडिने गरेको छ । राजस्व छलीमा मात्र होइन, भ्रष्टाचारलाई बढाउने काममा निजी क्षेत्रले सहयोग गर्दै आएको आरोप लाग्दै आएको छ । अनियमितता र भ्रष्टाचार रोक्न सहयोग गर्नुपर्ने दायित्व निजी क्षेत्रको होइन र ?
हाम्रो मुलुकको समस्या भनेको सुशासनको अभाव र दण्डहीनता नै हो । मुलुकमा सुशासन, विधिको सर्वोच्चता स्थापित हुनासाथ आधाभन्दा बढी समस्या आफैं समाधान हुन्छन् । निजी क्षेत्र त जहिले पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माणको पक्षमा छ । त्यसका लागि राज्यसँग इच्छाशक्ति हुने हो भने तपाईंले भन्नुभएको जस्तो सुशासनका बाधक तत्वहरू आफैं बिलाएर जानेछन् । निजी क्षेत्र मुलुकमा भ्रष्टाचार, अनियमितता रोक्न चाहन्छ किनकि यसबाट सबैभन्दा पीडित निजी क्षेत्र नै छ । महासंघ सुशासनयुक्त समाज निर्माणका लागि हातेमालो गर्न तयार छ ।

कोभिड–१९ का कारण उद्योग, व्यवसाय थला परेको छ । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने कामहरू के हुन् ? उद्योगी, व्यवसायीलाई समस्याबाट निकाल्ने महासंघ नेतृत्वको पनि जिम्मेवारी हो । यसमा तपाईंका रणनीति के हुन् ?
कोभिड–१९ समस्या सबैका लागि अनपेक्षित थियो । यसबाट सिर्जित स्वास्थ्यसम्बन्धी समस्यालाई छाड्ने हो भने सबैभन्दा बढी पीडित निजी क्षेत्र नै हो । प्रायः सबैजसो व्यवसाय नराम्ररी थला परेका छन् । त्यसैले सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रको पुनरुत्थान सम्भव छ । सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेर अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन सक्दैन । अर्थतन्त्रलाई माथि उकास्न आर्थिक प्याकेजमात्र नभई उद्योगी, व्यवसायीलाई मनोवैज्ञानिक रूपमा समेत सरकारको साथ जरुरी छ । निजी क्षेत्रका तर्फबाट महासंघले अगुवाइ गर्छ । महासंघको निर्वाचनपछि पहिलो कामका रुमपा यसलाई राखेका छौं । कोभिड–१९ ले बन्द भएका हजारौं साना, मझौला उद्यमीको व्यवसाय सुचारु, रोजगारी गुमाएकालाई पुनः रोजगारी तथा अर्थतन्त्रलाई गति दिन वित्तीय सहयोगदेखि बजारीकरणसम्मका प्याकेजका कार्यक्रमका लागि हामी सरकारसमक्ष प्रस्ताव लिएर जानेछौं ।  

सर्वसम्मतिका लागि पूर्वअध्यक्षहरूले प्रयास गरिरहनुभएको भन्ने सुनिन्छ । सहमतिको सम्भावना के देख्नुहुन्छ । आवश्यक परे यहाँ त्याग गर्न तयार हुनुहुन्छ ?
म सहमतिको पक्षमा छु । सके सहमति नभए निर्वाचनको धारणा पहिलेदेखि नै मेरो हो । तर, अहिलेसम्म गम्भीर रूपमा सहमतिको प्रयास भएजस्तो लाग्दैन । म देशैभरका जिल्ला नगरका साथीहरू, वस्तुगत र एसोसिएटका साथीहरूको सल्लाह सुझावसहित बृहत् छलफलपछि मात्र उम्मेदवार भएकाले मैले यसमा त्याग गर्नु भनेको मलाई भरोसा गर्नेहरूमाथिको बेइमानी हुन जान्छ । म त्यो गल्ती गर्दिनँ । मेरो नेतृत्वमा उहाँहरू आउनुहुन्छ भने सबैलाई समेटेर लैजान तयार छु । म महासंघमा आउँदा कि त सर्वसम्मत कि सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएको छु ।

निर्वाचनको परिणाम नआउँदासम्म सबै उम्मेदवारले जित्छु भन्ने दाबी गर्छन् । त्यो स्वभाविक पनि हो । निर्वाचनमा यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
मैले आफैंले यो कुरा भनें भने अलि घमण्ड गरेको जस्तो पनि देखिन सक्छ । मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन् । सबैलाई समेटेर लैजानसक्ने खुबी छ, नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु¥याउन सक्ने क्षमता छ, मसँग राम्रो टिम पनि छ र त्योभन्दा महत्वपूर्ण कुरा देशैभरका जिल्ला, नगरका व्यवसायी साथीभाइको सहयोग र समर्थन छ । यतिमात्र नभई महासंघमा गएर निजी क्षेत्रका पक्षमा केही गरौं भन्ने हुटहुटी पनि छ । कोभिड–१९ संकटपछिको चुनौतीपूर्ण अवस्थामा पनि म देशभर गएको छु, सबैजसो व्यवसायी साथीहरूसँग निरन्तर सम्पर्कमा छु र उहाँहरूको सुख–दुःखमा हातेमालो गर्दै अगाडि बढेको छु । यो त भयो सम्बन्धको कुरा तर यससँगै म सानो व्यवसायबाटै सुरु गरेर यहाँसम्म आइपुगेकाले सबैखाले व्यवसायका समस्या थाहा छन् र समाधानका उपायबारे पनि मलाई धेरथोर ज्ञान छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायत सबै क्षेत्रका उद्योगी, व्यवसायीको मलाई साथ छ । त्यही नै मेरो जित्ने आधार हो । मेरो अनुभवका आधारमा सबै व्यवसायीलाई सबल र सक्षम बनाउने तथा उद्यमशीलता विकासका लागि अवसर सिर्जना गर्ने मेरो ध्येय छ ।

प्रकाशित: ८ मंसिर २०७७ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App