coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तोकियो जेठोबुढो धानको समर्थन मूल्य

धान चुटेर थकाई मार्दै किसानहरु । तस्बिर उमेश पुन/नगारिक

पोखरामा पहिलो पटक जेठोबुढो धानको समर्थन मूल्य तोकिएको छ । रैथाने जातको धान जेठोबुढोका संरक्षण र प्रवद्र्धन गर्न उद्देश्यसहित पहिलो पटक पोखरा महानगरपालिकाले धानको मूल्य तय गरेको हो । पोखरामा यसअघि सरकारी तथा स्थानीय तहले धानको मूल्य तोकेका थिएनन् । किसानले आफ्नो अनुकुलमा विक्री वितरण गर्दै आएका थिए ।  

प्रतिक्विन्टल ९ हजार रुपैयाँ समर्थन मूल्य तोकिएको पोखरा महानगरपालिकाका कृषि विभाग प्रमुख मनोहरी कडरियाले बताए । ‘ धान उत्पादन गर्ने किसानलाई न्यूनतम मूल्य पाओस भन्ने उद्देश्यले पहिलो पटक मूल्य तोकिएको हो’–उनले भने–‘उत्पादित धानलाई व्यवस्थापन गर्ने महानगरपालिकाको निर्णयसँगै समर्थन मूल्य राखिएको हो ।’ समर्थन मूल्यले किसानको लागत मूल्य पाउन भन्ने ध्येय रहेको समेत उनले सुनाए ।  

तराईमा सरकारले नै धानको मूल्य तोक्ने गरेको छ । तोकिएको मूल्यमा सहकारी एवं कुनै कम्पनी वा फार्मले खरीद गर्न सक्ने छ । ‘तोकिएको समर्थन मूल्यमा पोखरा महानगरभित्रका ईच्छुक सहकारी, कृषि फार्म वा कम्पनीले खरीद गर्न सक्ने छ’ उनले थपे–‘तोकिएकै मूल्यममा बेच्न सक्ने छन् । किसानले बढी मूल्यमा समेत बेच्न पाउँछन् ।’ बढ्दो रसायनिक मलको प्रयोगसँगै रैथाने जातको धानहरु विस्तारै लोप हुदैं गएको छ । सहकारीहरुले सूचीकृति मूल्यमा खरीद गर्न सक्ने प्रावधान छ ।  

जेठोबुढो धानको संरक्षण र सम्बद्र्धन गर्दै किसानलाई प्रोत्साहित गर्ने उद्देश्य महानगरपालिकाले राखेको छ । अनुदान समेत दिने महानगरपालिकाले जनाएको छ । अन्य धानको पनि खरीद विक्री हुदैं आएको छ । मन्सुली मोटो र मसिनोको २६ सयदेखि २८ सय रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ । समर्थन मूल्य नतोकिदाँ किसानले आफनै भाउमा धान बेच्दै आएका थिए । पोखरामा यो वर्ष जेठोबुढो धानको उत्पादन १२ देखि १४ हजार मेट्रिक टन उत्पादनको अनुमान छ । कुल क्षेत्रफल मध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान लगाइएको छ । प्रतिरोपनी ३ देखि ५ मुरी उत्पादन हुन्छ । प्रतिमुरी धान ५० केजी हुन्छ । प्रतिमुरीको मूल्य ४५ सय पर्न आउँछ भने प्रतिकेजी ९० रुपैयाँ पर्ने उनको भनाई थियो ।  

जेठो बुढो धान उत्पादनको लागि प्रतिरोपनी ३५ सय रुपैयाँ खर्च हुने गरेको किसानहरुको भनाई छ । ‘किसानको लागत मूल्यमा २० प्रतिशत बृद्धि गरी समर्थम मूल्य तोकिएको हो ।’ कृषि विभाग प्रमुख कडरियाले बताए । किसानले उत्पादन गरेको धान खलोबाट उठाई सम्बन्धीत ठाँउसम्म ढुवानी गर्ने खर्च समेत जोडेर किसानलाई समर्थन मूल्य तय गरिएको उनको भनाई थियो । पोखरा महानगरपालिकामा १२ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुदैं आएको छ । विशेष गरी जेठोबुढो धान फेवाफाँट, विरुवा फाँट, शिशुवा फाँट, खोला छेउ, कमलपोखरी फाँट, कुँडहर फाँटमा उत्पादन हुदैं आएका छन् ।

प्रकाशित: ७ मंसिर २०७७ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App