७ वैशाख २०८१ शुक्रबार
अर्थ

तीनवटै सरकारको सह–लगानी आयोजनमा प्राथमिकता

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा उपाध्यक्ष कँडेल सहितको टोली। तस्वीर: नागरिक

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले तीनवटै तहको समन्वयमा ठूला आयोजनाहरु सञ्चालनमा प्राथमिकता दिएको बताए। मुलुकमा भएका तीनवटा तहले सञ्चालन गर्ने विकासे आयोजनाहरुमा डुब्लीकेसन हुनेहुँदा आगामी दिनमा ठूला आयोजनाहरु तीनवटै सरकारको सहलगानीमा सञ्चालन गरिने उनले बताए।

संघीय सरकारको समपुरक र विशेष अनुदानमा सञ्चालित आयोजनाहरुको अनुगमनका क्रममा पर्वत र बागलुङ हुँदै म्याग्दी आएका उपाध्यक्ष कँडेलले आगामी दिनमा संयुक्त लगानीमा आयोजनाहरु सञ्चालन हुने भएकाले सोही अनुसार तयारीमा बस्नसमेत स्थानीय तहका जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्।  

शनिबार म्याग्दीको बेनीमा सरोकारवालाहरुसँग कुरा गर्दै उनले ठूला सडक लगायतका ठूला योजना तथा आयोजनाहरु सबैको उपस्थितिमा होस् भन्ने हेतुले भर्खरै कार्यविधि पास भएको बताए। ‘तीनवटै सरकारको सहलगानीमा आयोजनाहरु सञ्चालन हुने बताउँदै अधिकांश क्षेत्रमा योजना पार्नका लागि मरिमेट्ने गर्ने तर योजना परिसकेपछि त्यसमा चासो नहुँदा योजनाहरु सम्पन्न हुन समय लागेको छ’, उनले भने। परियोजनाहरु तयार भैसकेपछि मात्रै कार्यान्वयनको पाटोमा जाने भएकाले सुरुदेखि नै ध्यान पु¥याउनुपर्ने उनको भनाई छ।  

संघीय सरकारको जिम्मेवारी सबै क्षेत्रको विकासमा रहेको र त्यसका लागि सबैले आ–आफ्नो मार्ग प्रयोग गर्नुपर्ने पनि उपाध्यक्ष कँडेलले बताए। सशर्त अनुदानको पाटोलाई विधागत मन्त्रालयमार्फत जानुपर्ने, समानीकरण अनुदान आफ्नो बाटोबाट आउने भए पनि योजनाहरुमा हुन सक्ने डुब्लीकेसनलाई सबैले ध्यान दिनुपर्ने बताए।  

सोही अवसरमा प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ सल्लाहकार गजेन्द्र थपलियाले जिल्ला भित्रका विकासे योजनाहरुको अनुगमन अनि त्यसको अवस्था थाहा पाउनका लागि आफूहरु निरीक्षणमा निस्किएको बताउनुभयो। योजना तथा आयोजनाहरुमा नतिजामुखी विकास हुनुपर्ने बताउँदै उहाँले प्रधानमन्त्री आफै सबै स्थानमा पुग्न सम्भव नभएकोले उहाँकै निर्देशनमा आफूहरु जिल्ला आएको बताए।  

योजना आयोगका उपाध्यक्ष कँडेलसहितको टोलीसँगको भेटघाटमा संविधान सभा सदस्यद्वय नवराज शर्मा, गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा योजनाको अवस्था, विकासे गतिविधि, निर्माणाधीन सडक तथा भवनको भौतिक प्रगतिका बारेमा जानकारी गराएका थिए।  

उपाध्यक्ष कँडेल, प्रधानमन्त्रीका विकास तथा योजना विज्ञ थपलिया लगायतको टोलीले बेनी–जोमसोम–कोरला सडक आयोजना, कालीपुल बसपार्क, राहुघाट जलविद्युत आयोजना, बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा निर्माणाधीन मोटरेबल पुल, बेनी अस्पतालको निर्माणाधीन भवन र म्याग्दी बहुमुखी क्याम्पसको स्थलगत निरीक्षण गरेको थियो।  

प्रकाशित: ६ मंसिर २०७७ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App