coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टनेलमा गोलभेडा खेती

धादिङको गजुरी गाउँपालिका ६, मिलनटारका किसानले टनेलमा लगाएको गोलभेडा खेती । तस्बिर: सरिता/नागरिक

गजुरी गाउँपालिका वडा नं ६ मिलनटारकी रीता अधिकारीले पहिलो पटक प्लास्टिक हाउस (टनेल) मा गोलभेडा खेती गरेकी छन्। पुस्तौँदेखि खुल्ला ठाउँमा तरकारी खेती गर्दै जीविका धान्दै आइरहेका उनले टनेलमा खेती गर्दा खुसी लागेको बताइन्। ‘खुल्ला ठाउँमा मौसम अनुसारका खेती गर्ने, तरकारी लगाउने मात्र गरेकी थिए’, उनले भनिन्, ‘यसरी टनेलमा खेती गर्दा तरकारीे उत्पादन राम्रो हुने र रोगकिराको पनि त्यति डर नहुने रहेछ, अर्को वर्षदेखि अन्य ठाउँमा पनि यसरी नै तरकारी लगाउने सोचमा छु।’  

उनले पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउदै आइरहेकी थिइन्। तरकारी फल्ने समयमा भाउ नपाउने, रोगकिराको डर हुने समस्याले हैरान हुन्थिन्। व्यवसायिक रुपमा तरकारी खेती गरेपनि सोचेजस्तो आम्दानी हुन नसकेपछि टनेलमा गोलभेडा लगाएका हुन्। अब अन्य तरकारीहरु पनि टनेलभित्र नै गर्ने सोचमा छन्। बीउ उमार्नेदेखि टनेल बनाउने, ड्याङ बनाउने, बीउ लगाउने, त्यसको हेरचाह्र गर्ने, मलपानी हाल्ने गरिरहेका छन्। कात्तिक पहिलो साता लगाएको गोलभेडा पुस महिनाको अन्तिमतिरबाट उत्पादन सुरु हुने उनले बताइन्।  

टनेलको एक छेउमा थोपा सिँचाइका लागि ड्रम राखिएको छ। ड्रममा जम्मा भएको पानी आवश्यक मात्रामा पाइप मार्फत विरुवामा हाल्ने गरेको उनले बताइन्। ‘सुरुमा बीउ उमारे, त्यसपछि प्राविधिकको सहयोगमा आफैले टनेल बनाए, एक÷एक फिटमा गोलभेडा लगाएको छु’, उनले भनिन्, ‘टनेलमा लगाएको गोलभेडा राम्रो पनि भएको छ, यसमा काम गर्दा आनन्द पनि आउने रहेछ।’ उनले लगाएको खेतीको सिको गदै त्यस भेगका अन्य किसानहरुले पनि टनेल बनाएर खेती गर्न सुरु गरेका छन्।  

बार्‍हैं महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु आवश्यक छ। यसका लागि प्लाष्टिक घर (टनेल) एक मुख्य प्रविधिको रूपमा रहेको छ। टनेलभित्र किराफट्याङग्रा, वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ। जिल्लामा अहिले यो प्रविधि धेरै किसानहरुले अपनाइरहेका छन्। विषादीको प्रयोग घटाउँदै किसानहरुलाई तरकारी खेती गर्न सिकाउन यो प्रविधि अपनाइएको बताइएको छ।  

त्यसै ठाउँका अम्बिका अधिकारीले पनि टनेल बनाएर गोलभेडा लगाएका छन्। घरकै वरपर भान्छाका लागि आवश्यक पर्ने तरकारी मात्रै लगाउँदै आइरहेकी उनले प्राविधिक ज्ञान पाएपछि तरकारी खेती गरेकी हुन्। ‘गाउँका बारीहरु त्यतिकै खेर गइरहेको छ, खेर गएको बारीमा टनेल प्रविधिबाट तरकारी खेती सुरु गरेका छौँ, उनले भनिन्, ‘टनेलमा थोपा सिँचाइमार्फत खेती गर्दा थोरै पानीले सिँचाइ गर्न सकिने, झार कम आउने भएकाले समयको बचत भई अन्य काम गर्न पाइन्छ।’ अबदेखि टनेलमा व्यावसायिक रुपमा खेती गर्ने सोचमा रहेकी बताइन्।  

बदलिदो मौसम जलवायु परिवर्तन लगायतका कारणले बाहिरी वातावरणमा भन्दा टनेलमा तरकारी उत्पादन राम्रो हुन थालेको छ। सामान्य भन्दा आधुनिक प्रविधियुक्त टनेलमा उत्पादन बढ्ने देखेपछि यसतर्फ किसानहरु आकर्षित हुन थालेका छन्। एकै सिजनमा सामान्य भन्दा तेब्बर आम्दानी लिन सकिने भएकाले पनि किसानहरु टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँसका टहरामा प्लास्टिक लगाएर टनेल बनाई बार्‍हैं महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ। हिउँदमा शीतलहर तथा तुसारोबाट तरकारीलाई जोगाउन टनेलले मद्धत गर्ने गर्छ। त्यस्तै वर्षाको समयमा रोग किराबाट जोगाउन टनेलले सहयोग गर्ने गरेको किसानहरुको भनाई छ।  

तरकारी खेती गर्न आवश्यक टनेल, बीउ लगायतका अन्य सामग्रीहरुका लागि पूर्णिमा–बिहानी परियोजनाले सहयोग गरेको छ। प्लास्टिक थोपा सिँचाइ, प्राविधिक ज्ञान, नर्सरी बीउ, जैबिक बिषादी बनाउने ट्रम, हजारी लगायतका सामाग्रीहरु सहयोग गरेको पूर्णिमा बिहानी परियोजनाका सामुदायिक विकास सहजकर्ता रकेस्ना बस्नेतले जानकारी दिइन्। ‘एकल महिला, अपांगता भएका, जेष्ठ नागरिकहरुको जीविकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले कार्यक्रमहरु संचालन गरिरहेका छौँ’ उनले भनिन्, ‘किसानहरुलाई तरकारी खेती मार्फत व्यावसायिक बनाउनका लागि प्राविधिक ज्ञानदेखि आवश्यक ज्ञानहरु समेत सहयोग गर्दै आइरहेका छौँ।’  

धादिङ जिल्ला तरकारी तथा खाद्यन्नबालीका रुपमा प्रख्यात छन्। यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, नारायणघाट, पोखरा, नेपालगन्जसम्म पुग्ने गर्छ। काठमाडौँमा बिक्री हुने तरकारीको १८ प्रतिशत तरकारी धादिङ जिल्लाबाट जाने गरेको छ। जिल्लामा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ। पहिले दक्षिणी भेगका किसानहरुले मात्रै व्यावसायिक रुपमा तरकारी खेती गर्ने गथ्यो भने अहिले सदरमुकाम आसपास तथा उत्तरी क्षेत्रका स्थानीयहरुले पनि तरकारी खेती गर्ने गरेका छन्।  

तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा पछिल्लो समय कोभिड-१९ को महामारी, पानी तथा बीउविजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेका छ। लगाएको तरकारी नबिक्ने र बिकिहालेपनि भाउ नआउने समस्याले किसानहरु तरकारी खेती भन्दा पनि अन्य पेशा व्यवसायमा लाग्न थालेका छन्।

प्रकाशित: ४ मंसिर २०७७ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App