coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोना कहर: पोखरामा फूलको उत्पादन घट्यो, मूल्य बढ्यो

पोखरामा लगाएको फूल टिप्दै एक महिला । फाईल तस्बिर

पोखरामा फूलको उत्पादन घटेको छ । पोखरामा गत वर्षको भन्दा झण्डै दुई तिहाईले फूलको उत्पादन घटेको हो । पोखरामा यस वर्ष गत वर्षको भन्दा करीब ३३ प्रतिशत क्षेत्रमा मात्रै फूल खेती लगाएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)को असर फूल खेतीमापनि परेको एशोसियसनले जनाएको छ । कोरोनाका कारण अघिल्लो वर्ष भन्दा यस वर्ष दुई तिहाईले फूल उत्पादन घटेको पूर्व अध्यक्ष द्वाको भनाई छ । सामान्य फूल उत्पादक किसान मात्र होईन, फ्लोरिकल्चर एशोसियसनकै पदाधिकारीले नै यस वर्ष फूलखेती कम लगाएका छन् । एशोसियसनकी अध्यक्ष सीताकुमारी रानाले यस वर्ष फूलखेती नै नलगाएको बताईन् । तिहारलाई लक्षित गरेर मैले सयपत्री फूल लगाईनँ,‘उनले भनिन्,‘कोरोना महामारीका बेला के चाड, के पर्व ! कसैलेपनि मनाउँदैन होला भनेर मैले फूल नै लगाईन् ।’

एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वालेपनि यस वर्ष अघिल्लो वर्षको तुलनामा फूलखेती दुई तिहाई घटाएको बताए । अघिल्लो वर्ष ६० हजार बेर्ना लगाएको थिएँ,उनले भने,‘तर यस वर्ष मैले २० हजारपनि बेर्ना लगाईन ।’ कोरोनाले फूल विक्री हुने/नहुने अन्यौल भएकाले कम फूल लगाएको उनको भनाई छ । फूल उत्पादन गरेर मात्र के गर्नु,उनले भने,‘विक्री नभएपछि खेरमात्र जान्छ भनेर थोरै क्षेत्रमा मात्र लगाएको हुँ ।’

फूलखेती नै कम लगाएपछि फूलको उत्पादन घट्ने नै भयो । त्यसको असर भने फूलको मूल्यमा पर्ने भएको छ । फूल उत्पादन घटेपछि मूल्य केहि बढाएको पाइएको हो । अघिल्लो वर्ष फूलको थुङ्गाको मूल्य ५ रुपैयाँ थियो तर अहिले यो वर्ष बढाएर ६ रुपैयाँ पुगेको छ । त्यस्तै मालाको मूल्य अघिल्लो वर्ष १३० देखि १५० थियो । तर यो वर्ष मालाको मूल्य १५० देखि १८० सम्ममा विक्री भइरहेको एशोसियसनकी अध्यक्ष रानाले बताईन् ।

एशोसियसनका पूर्व अध्यक्ष दयाकुमार द्वा भने अघिल्लो वर्षकै मूल्यमा फूलको थुङ्गा र मालाको मूल्यमा बेच्न आग्रह गरेका छन् । कोरोना महामारीका बेला नाफा भन्दापनि सेवा गर्ने उद्धेश्यले मात्र व्यवसाय गर्न आग्रह गर्दै उनले मूल्य नबढाउन व्यवसायीलाई आग्रह गरे । तर ब्यबसायीले उनको कुरा सुनेका छैनन् ।

एशोसियसनकी अध्यक्ष राना भने उत्पादन नै घटेपछि मूल्य बढ्नु स्वाभाविक भएकोे बताउँछिन् । मैले त सयपत्री फूल लगाएको छैन,‘उनले भनिन्,‘तर लगाउनेहरुले मूल्य केहि बढाएका छन्, कोरोना कहरकाबीच उत्पादन गरेको फूलको मूल्य अलिअलि त धेरै भनिहाल्छन् नि ।’ तर एशोसियसनले संस्थागत रुपमा फूलको थुंगा र मालाको मूल्य भने यस वर्ष तोकेको छैन । यसअघिका वर्षरुमा एशोसियसनले फूलको थुंगा र मालाको मूल्य तोक्ने गरेको थियो । कोरोना कहरका कारण बैठक बस्न समस्या भएका कारण फूलको मूल्य नतोकिएको एशोसियसनकी अध्यक्ष रानाले बताईन् ।

नेपालीको दोश्रो ठूलो चाँड तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने गर्दथ्यो । तर यस वर्ष भने झण्डै दुई तिहाईले माग घट्ने अनुमान गरिएको एशोसियसनले जनाएको छ । धेरैजसो गाउँ फर्किएको र यहिं बसेकालेपनि घरभित्र मात्रै टीका लगाउने भएकाले फूलको खपतपनि घट्ने अध्यक्ष रानाको अनुमान छ ।

पोखरामा आवश्यक फूलको ८० प्रतिशत स्थानिय रुपमै उत्पादन हुने गरेको छ । करीब २० प्रतिशत भने भारतबाट आयात हुने गरेको थियो । तर यस वर्ष कोरोनाका कारण भारतबाट फूल आयात नभएको पूर्व अध्यक्ष द्वाले बताए ।

प्रकाशित: ३० कार्तिक २०७७ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App