८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

धान उत्पादन बढ्यो

म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। पर्याप्त वर्षाका कारण सिँचाइ सुविधा भएको, समयमै रोपाइँ भएको र खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए।

गत वर्ष तीन हजार ९०१ हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताए।

पहिरो, बाढी र कटानले क्षति गरेकाले धान उत्पादन अपेक्षाकृत हुन नसकेको उनको भनाइ छ। प्राकृतिक प्रकोपका कारण तीन प्रतिशत उत्पादन प्रभावित भएको अनुमान छ। यस वर्ष वैशाख–जेठ महिनादेखि नै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए।

लकडाउनमा फुर्सदिला भएका कृषकहरुले बाँझो खेतमा पनि रोपाइँ गरेकाले क्षेत्रफल बढेको हो। नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो। रोगकिराको समस्या नदेखिएको र भित्र्याउँदाको समय पनि अनुकूल भएको छ।

विगतका वर्षमा मजदूरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार व्यवसायका लागि शहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएकाले खेतीबाली लगाउन र भित्र्याउन सजिलो भएको कृषकले बताएका छन्।

असी प्रतिशत कृषकले धान भित्र्याइसकेका छन्। म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। लेकाली क्षेत्रका कृषकले भिरालो जमीनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ।

सलह, फौजीकिरा, हावाहुरी र बाढी पहिरोका कारण मकै उत्पादन भने प्रभावित भएको छ। गत वर्षको तुलनामा १६० मेट्रिक टन मकै उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। म्याग्दीमा ६ हजार ७३३ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ।

गत वर्ष तीस हजार २६० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको छ। फौजी र सलह किराको प्रकोपका कारण मकै उत्पादन घटेको हो। मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो। अर्को खाद्यबाली कोदो भित्र्याउन भने शुरु भएको छ।
रासस

प्रकाशित: २८ कार्तिक २०७७ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App