७ वैशाख २०८१ शुक्रबार
अर्थ

रसुवामा लक्ष्यभन्दा बढी अण्डा तथा भुरा बिक्री

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले गत आर्थिक वर्ष ०७६/७७ मा लक्ष्यभन्दा बढी आँखा उम्रेको अण्डा तथा भुरा बिक्री भएको छ । आफ्नो उत्पादन १६ जिल्लामा विस्तार गरिसकेको कार्यलयले गत वर्ष लक्ष्यभन्दा बढी आँखा उम्रेको अण्डा, माछाका भुरा र खाने माछा बिक्री गरेको हो ।

कार्यालयका अनुसार रेन्बो ट्राउट माछाको आँखा उम्रेको अण्डा ५० हजार बिक्री गर्ने लक्ष्य राखिएकामा ६४ हजार ५ सय बिक्री भएको हो । आँखा उम्रेको अण्डा रसुवासहित ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिम र लमजुङमा पठाइएको थियो ।

एक लाख वटा रेन्बो ट्राउट माछाको भुरा बिक्री गर्ने लक्ष्य रहेकामा १ लाख २ हजार १ सय ६४ वटा बिक्री भएको छ । माछाका भुरा ललितपुर, काठमाडौं, रसुवा, कास्की र रुकुम पश्चिममा लगिएको कार्यालयले जनाएको छ । यसैगरी रेन्बो ट्राउट खाने माछा सय केजी बिक्री गर्ने लक्ष्य राखिएकामा १ सय १४ केजी बिक्री भएको कार्यालयले जनाएको छ । त्यसैगरी कार्यालयबाट मत्स्य अनुसन्धान केन्द्र नुवाकोटमा ५५ केजी रेन्बो ट्राउटको माउ पठाइएको छ ।

केन्द्रले रसुवासहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । त्यसैगरी लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ । कोभिड–१९ का कारण समयमै भुरा ढुवानी गर्न नसकेपछि करिब २५ हजार भुरा मरेको थियो । गत वर्ष कोभिड–१९ का कारण दानाको अभाव, भुरा ढुवानीमा ढिलाइलगायत कारण प्रत्यक्ष प्रभावित भएको भए पनि लक्ष्यभन्दा बढी बिक्री हुन सकेको केन्द्र प्रमुख महेन्द्र भण्डारीले बताए ।

२०७१ मा स्थापना भएको केन्द्रले त्यसयता ३ लाख ४६ हजार २ सय वटा आँखा बनेको अण्डा बिक्री गरेको छ । जसमा ०७१/७२ मा ९२ हजार, ०७२/७३ मा ५० हजार, ०७३/७४ मा ४३ हजार ४ सय, ०७४/७५ मा २६ हजार ८ सय र ०७५/७६ मा ४२ हजार वटा बिक्री गरेको तथ्यांक छ ।

त्यसैगरी केन्द्रले भुरा माछा बिक्रीमा पनि वृद्धि गरेको छ । केन्द्रले अहिलेसम्म ३ लाख ८८ हजार ६ सय ८१ वटा भुरा माछा बिक्री गरिसकेको छ । तथ्यांक अनुसार ०७१/७२ मा ८ हजार, ०७२/७३ मा ७५ हजार, ०७३/७४ मा ७० हजार ६ सय ५०, ०७४/७५ मा ३० हजार ८ सय ६ र ०७५/७६ मा ६७ हजार वटा बिक्री गरेको छ ।

प्रकाशित: २४ कार्तिक २०७७ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App