७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाँकेमा मंसिरदेखि किसानको धान खरिद गरिने

किसान भन्छन्ः खाद्यको निर्णयले व्यापारीलाई फाइदा भयो

धान भित्र्याउने तयारी गर्दै नेपालगन्ज पुरैनीका किसान । तस्बिरः कमल खत्री

बाँकेका किसानले धान खरिद गर्न ढिलाई भैरहेको गुनासो गरिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले तिहारपछि खरिद गर्ने तयारी गरेको छ। बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न अघि व्यापारीले गाउँगाउँ गएर धान खरिद गरिरहेका छन्।

उत्पादन गरेको धान स्टोर गर्न कठिन हुने भन्दै किसानले धान उत्पादन गर्ने बित्तिकै बिक्री गर्न सुरु गर्ने गर्छन्। चाडपर्वको बेला किसानलाई आर्थिक रकम आवश्यक पर्ने भएकोले पनि धान बिक्री गर्ने गरेका छन्। तर खाद्य संस्थानले भने किसानहरुको हितलाई ध्यानमा राखेर आगामी मंसिर ७ गतेदेखि बाँकेमा धान खरिद गर्ने तयारी गरेको बताएको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख निर्मल थापाले सबै किसानले अहिले खरिद गर्न सुरु गर्दा धानमा चिस्यानको मात्र बढी हुने भएकोले किसानले उचित मूल्य नपाउने बताए। उनले भने, ‘सबै किसानले धान काटिसकेका छैनन्। बाँकेमा यसअघि पनि मंसिर महिनामा धान खरिद गरेको तथ्यांङ छ। अहिले धान खरिद गर्दा किसानलाई घाटा हुन्छ। तिहारपछि धानमा भएको चिस्यान पनि कम हुने भएकोले मंसिर ७ देखि खरिद गर्ने तयारी गरेका हौं।’

लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण देखिएकोले पनि धान खरिद गर्ने कार्यमा असर गरेको थापाले बताए। थापाका अनुसार कार्यालयका चार जना कर्मचारी संक्रमति भएका कारण होम आइसोलेसनमा बसेका छन्।  

लिमिटेडले किसानको धान खरिद गर्नको लागि धानमा १८ प्रतिशत चिस्यानको मात्रा हुनु पर्ने सर्त राखेको छ। अहिलेको धानमा २२ देखि २३ प्रतिशत चिस्यान देखिएको थापाले जानकारी गराए। लिमिटेडले धान खरिद गर्न ढिलाई गरेपनि बाँकेमा १३ भन्दा बढी सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा किसानले उत्पादन गरेको धान खरिद गर्न सुरु गरिसकेका छन्।  

जिल्लामा धानको मूल्य निर्धारण गर्नको लागि प्राथमिक खरिद समिति निर्माण गरिएको हुन्छ। जसको संयोजक प्रमुख जिल्ला अधिकारी, सदस्य सचिव खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय प्रमुख, सदस्यहरुमा कृषि ज्ञान केन्द्र प्रमुख, खाद्य संस्थान र किसानका प्रतिनिधि रहने गरेका छन्। दुई साताअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले धान खरिद गर्न ढिलाइ भएको भन्दै लिमिटेडलाई छिटै तयारी गर्न निर्देशन दिएका थिए। तर खरिद गर्ने प्रक्रिया भने सुस्त देखिएको छ।

बाँकेमा यस वर्ष ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेती गरिएको थियो। कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यस वर्ष १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको छ।

यस वर्ष सरकारले किसानलाई फाइदा पुग्ने उद्देश्यले धान रोप्ने समयमै धानको समर्थन मूल्य तोेकेको थियो। तर सरकारले धान किन्न ढिलाई गरेपछि गाउँ गाउँमा पुग्ने बिचौलियालाई बिक्री गर्न बाध्य भएको बताउँछन् खजुरा गाउँपालिका–२ गौघाटका किसान चन्द्र राना।  

उनले भने, ‘चाडपर्वको बेला पैसा आवश्यक हुन्छ। उत्पादन भएको सबै धान घरमा राख्न पनि समस्या हुने भएकोले गाउँगाउँमा आउने व्यापारीलाई बिक्री गर्न परेको हो। सरकारले समयमै धान खरिद गरेको भए अझ राम्रो मूल्य पाइन्थ्यो होला। तर हामीलाई खाँचो भएको बेला धान खरिद हुदैन।’

लिमिटेड बाँकेमा ४० हजार क्विन्टल धान खरिद गर्ने बताएको छ।  

सरकारले मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकिसकेको छ। सोही मूल्यमा लिमिटेडले खरिद गर्ने घोषणा गरेको छ। तर ट्याक्टर लिएर गाउँगाउँ पुगेका व्यापारीलाई मोटो धान प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले बिक्री गरेको कृषक रानाले बताए। लिमिटेडले कोरोना, दसैं, तिहार जस्ता पर्वको बहाना बनाउँदै खरिद गर्ने कार्य सुरु गर्न ढिलाए आरोप लगाउँदै आएका छन्।  

लिमिटेडले धान किन्न ढिलाई गर्दा त्यसको फाइदा धान व्यापारीलाई हुने गरेको छ।

प्रकाशित: २२ कार्तिक २०७७ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App