coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेडेटारमा लकडाउनले बन्द भएको जिपलाइन फेरि सुरु

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारबाट गत फागुन २४ गते साहसिक पर्यटन अन्तर्गत जिपलाइन सुरु भयो। तर, एक महिना पनि नपुग्दै चैत ११ गतेदेखि सुरु भएको लकडाउनले जिपलाइन बन्द भएको थियो।

लकडाउनले बन्द भएको करिब ७ महिनापछि भेडेटार–देवीथान जिपलाइन पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य प्रोटोकल पालना गर्दै जिपलाइन सञ्चालनमा ल्याइएको वल्र्ड वाइड ग्रुप प्रालिले जनाएको छ। प्रालिका सञ्चालक केदार थापाले सार्वजनिक यातायात, होटल, बजार सबै खुलेको कारण जिपलाइन पनि स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालनमा ल्याइएको बताए। ‘कोभिडको कारण चैत ११ गतेपछि बन्द थियो। अहिले प्रायः सबै क्षेत्र खुला हुँदै गएकोले सरकारको स्वास्थ्य प्रोटोकल पालना गर्दै भेडेटार जिपलाइन पनि शुरुवात गरेका छौं,’सञ्चालक थापाले भने।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रालिले प्रदेश १ को प्रमुख पर्यटकीयस्थल भेडेटारमा जिपलाइन सञ्चालनमा ल्याएको थियो। प्रालिका अनुसार करिब ३ करोड लगानी भएको छ। तर, सञ्चालन लगत्तै लकडाउनले बन्द हुनुपरेपछि लगानीकर्ता निराश हुनु परेको थियो। ‘भिजिट नेपाल २०२० लाई लक्षित गरेर सञ्चालनमा ल्याएका थियौं, तर लकडाउनले गाह्रो बनायो। स्वदेशी पर्यटकहरु पनि आउन पाएनन्, यस्तो होला भन्ने सोचेकै थिएनौं,’थापाले भने।

लकडाउन खुलिसकेको र जनजीवन पनि विस्तारै सहज हुँदै गएकोले पर्यटन क्षेत्रले गति लिने पर्यटनकर्मीहरुको अपेक्षा छ। भेडेटारमा पनि अहिले आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेकोले पर्यटन व्यवसायीहरु आशावादी हुदैछन्। ‘झण्डै ६,७ महिना भेडेटारमा पर्यटकहरु शून्य नै भयो। हामीलाई ठूलो आर्थिक नोक्सानी भयो,’भेडेटार होटल एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले भने,‘हिजो आज पर्यटकहरुको आगमन हुन थालेको छ, जिपलाइन पनि सुरु भयो। हामीलाई केही राहत भएको छ।’

भेडेटार देवीथान जिपलाइनमा टेण्डम, सुपरम्यान र क्लासिक गरि ३ प्रकारको मजा लिन सकिन्छ। टेण्डमको २ हजार, सुपरम्यानको १५ सय र क्लासिकको १२ सय शुल्क तिर्नुपर्छ। अहिले चाडपर्वको अवसरमा २० प्रतिशत छुट दिइएको प्रालिले जनाएको छ। प्रदेश १ मा जिपलाइन सञ्चालनमा आएको यो पहिलो हो।

प्रकाशित: २२ कार्तिक २०७७ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App