coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाँकेमा फूलको माग बढ्यो, ८० प्रतिशत आयात गर्नुपर्ने बाध्यता

बजारमा फूलको माग ह्वात्तै बढेको छ। चाडपर्व नजिकिएसँगै हरेक धर्म र समुदायमा फूलको आवश्कता पर्ने गर्दछ। बाँकेमा फूलको माग पछिल्लो समय तिव्र गतिमा बढिरहेको छ। तर उत्पादन भने निकै कम छ। माग अनुसार करिब २० प्रतिसतमात्र बाँकेमा फूल उत्पादन हुने गरेको नेपालगन्ज राझाँकी पुष्प व्यावसायी विन्दु चर्तीमगर बताउँछिन्।

मागअनुसार उत्पादन नभएपछि बाँकेका जनताले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्ने गर्दछन्।  

आर्थिक आर्जनका लागि फूल व्यावसाय निकै राम्रो व्यावसायका रुपमा मानिन्छ। छोटो अवधिमा चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेको फूलबाट राम्रो आम्दानी हुने गरेको बताउँछन स्थानिय व्यावसायीहरु।

बाँकेमा फूल उत्पादन गर्ने अग्रणी किसान विन्दू चर्तीमगर बाँके फूलमा आत्मनिर्भर हुनका लागि खाली जमिनमा फूल खेती गर्नु पर्ने बताउँछिन्।

नेपालगन्ज औद्योगिक क्षेत्रको सटरमा फूल व्यावसाय गरिरहेकी मगर भन्छिन्– ‘बाँकेमा फूलको माग बढ्दै छ। तर बाँकेमा एक बिघा क्षेत्रफलमा पनि फूल खेती भएको पाइदैन। यहाँको माग पूरा गर्न कमसेकम एक हेक्टर क्षेत्रफलमा फूल खेती गर्नुपर्छ।’

बाँकेमा राँझाकी विन्दू चर्तीमगर र कोहलपुर, पृथ्वीनगरकी विष्णु चौधरी दुईजनाले मात्र व्यवसायिक रुपमा फूल खेती गर्दै आइरहेका छन्। तर आर्थिक अभाव र आधुनिक खेती गर्न नसकेका कारण फूल उत्पादनलाई बढाउन नसकेको उनीहरुको अनुभव छ।  

तिहारका लागि फूल उत्पादनमा ब्यस्त रहेका उनीहरु यस वर्ष पनि फूलको अभाव हुने बताउँछन्।  

अरु चाडपर्वभन्दा तिहारमा फूलको बढी खपत हुने गर्दछ। विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुन्छ। यस वर्ष तिहार अलि ढिला भएका कारण अझ फूलको अभाव हुन सक्ने मगर बताउँछिन्। नेपालमा अहिले नै अधिकांश फूलहरु फूलिसकेका छन। जसले गर्दा तिहारमा फूल पाउन गह्रो पर्ने देखिन्छ।  

तिहारलाई लक्षित गरेर फूल उत्पादन गर्न लागेको मगरले बताइन्। मगर भन्छिन्– ‘पहिलाका वर्षमा तिहारका लागि भदौ महिनामा फूल लगाउने गरिन्थ्यो। तर यो वर्ष तिहार मंसिरमा परेकाले असोज महिनामा फूल लगाएका छौं।’ मगरले तिहारका लागि १० कट्ठा क्षेत्रफलमा फूल लगाएकी छिन्।  

साथै फूल उत्पादक चौधरीले पनि तिहारका लागि भने आठ कट्ठा क्षेत्रफलमा फूल लगाएको बताइन्। उनले आवश्यकता अनुसार जिल्ला बाहिर पनि फूल निर्यात गर्ने गर्छिन्।  

चौधरी फूलको माग बाँके बाहेक अन्य जिल्लामा पनि बढ्दै गइरहेको बताउँछिन्। चौधरी भन्छिन्– ‘हामीले उत्पादन गरेको फूलले बाँकेको खपतलाई नै पूरा गर्न सक्दैनौ। त्यसमाथि धनगढी, टीकापुरबाट पनि फूलको माग आउने गर्दछ।’ उनले फूलको माग बढेकाले आगामि फागुन महिनादेखि दुई बिघा क्षेत्रफलमा फूल खेती गर्ने योजना रहेको बताइन्।  

बाँकेमा थोरै मात्रामा अन्य फूल उत्पादन भएता पनि गुलाब फूलको उत्पादन भने शून्य रहेको छ। मगर बाँकेमा गुलाबको उत्पादन नभएता पनि यसको माग धेरै रहेको बताउँछिन्।  

मगर भन्छिन्– ‘अहिलेसम्म बाँकेमा गुलाबको फूल उत्पादन हुन सकेको छैन। गुलाबको फूलका लागि पूर्णरुपमा भारतसँग निर्भर हुनु परेको छ।’

बाँके जिल्लामा फूलको खपत हेर्ने हो भने फूल उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ। तर यसतर्फ स्थानीय निकायको कुनै चासो देखिदैन। चौधरी फूल उत्पादनमा सरकारले सहयोग गर्ने हो भने फूल व्यवसायबाट प्रसस्त आम्दानी गर्न सकिने बताउँछिन्।

प्रकाशित: १७ कार्तिक २०७७ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App