coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्लिन फिड आज मध्यरातबाट कार्यान्वयनमा आउने

सरकारले शुक्रबार (आज) मध्यरातबाट ‘क्लिन फिड’ (विज्ञापनरहित) विदेशी टेलिभिजन प्रशारण गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ।  क्लिन फिड लागू भएपछि शुक्रबार राती १२ बजेबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रशारण गर्न पाउँदैनन्।  

विज्ञापन नियमन ऐन,२०७६ मा भएको व्यवस्था अनुसार क्लिन फिड लागू गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणी दुवाडीले बताए।  

विज्ञापन रहित प्रसारण नभएमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।  विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली २०७७ बमोजिम कार्यान्वयन गर्न लागेको हो।  

मन्त्रालयले असोज २८ गते एक विज्ञप्ति प्रकाशित गरेर कार्तिक ७ गतेबाट क्लिनफिड कार्यान्वयनमा ल्याउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको थियो।  

कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन गरिएको मन्त्रालयले जनाएको छ।  विज्ञापन नियमन सम्बन्धी नियमावलीमा खुला प्रतिस्पर्धाबाट बोर्ड अध्यक्ष छनोट नहुन्जेल मन्त्रालयका सह–सचिवलाई अध्यक्ष तोक्ने प्रावधान छ । त्यसका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव डिल्ली शर्मालाई विज्ञापन बोर्ड अध्यक्षको जिम्मेवारी दिएको छ।  बोर्डमा उद्योग मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि छन्।  

नेपालमा प्रसारण हुने भारतीय च्यानलले विज्ञापनसहित प्रसारण गर्दै आएका छन् । यही कारण नेपाली विज्ञापन बजारले अर्बौं रूपैयाँ घाटा बेहोर्दै आएको छ । नेपालमा बिक्री–वितरण हुने भारतीय उत्पादनका लागि नेपालमा विज्ञापनमा खर्च गर्नुपर्ने आवश्यकता थिएन । भारतीय च्यानलमा आएका विज्ञापनले नै नेपाली बजारमा प्रचारप्रसार पुग्दै आएको थियो । यही कारण लामो समयदेखि नेपालका विज्ञापन एजेन्सीहरूले विदेशी च्यानललाई क्लिनफिड अर्थात् विज्ञापन रहित बनाउन माग गर्दै आएका थिए ।

यसअघि क्लिनफिड लागू गर्ने म्याद थप गर्न भारतीय प्रसारक मञ्च, विभिन्न टेलिभिजन नेटवर्क तथा नेपालका केबल टेलिभिज संघहरूले आग्रह गरेका थिए । यसको जवाफमा सरकारले समय थप गर्न नसकिने स्पष्ट पारिसकेको छ।  

क्लिन फिड लागू भए पछि नेपालको विज्ञापन बजार दुई वर्षमा दोब्बर वृद्धि हुने नेपाल विज्ञापन संंघका अध्यक्ष रविन्द्र कुमार रिजाल शशिले बताए।  ‘कोभिडको प्रभाव घटेपछि सामान्य अवस्थामा विज्ञापन बजार १२ अर्ब रुपैयाँको छ,’ रिजालले भने, ‘दुई वर्षमा करिब २४ अर्ब रुपैयाँ पुग्छ। ’ सेवा प्रदायकले क्लिन फिड लागू गर्न तयारी गरेको बताए।  नेपालमा करिब दुई सय विदेशी टिभि च्यानलहरु प्रशारण हुँदै आएका छन्।  ती च्यानलले विदेशी विज्ञापन निर्वाध रुपमा प्रशारण गर्दै आएका छन्।  

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानललाई कानुन बमोजिम ‘क्लिन फिड’ (विज्ञापनरहित) नीति लागू गर्ने सरकारको निर्णयको नेपाली सञ्चार संस्थाले स्वागत गरेका थिए।  नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघले सरकारको कदमको स्वागत गरेका छन्।  

 

 

प्रकाशित: ७ कार्तिक २०७७ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App