coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

कोरोना नेगेटिभ भए मनाङ जान पाइने

मनाङको मनाङ गाउँ । तस्बिर: नागरिक

अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुकसहितका पर्यटकीय गाउँले अनिश्चितकालका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन् । कोरोना महामारीका बेला पाहुना भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ । घान्द्रुकसहित अन्नपूर्ण आधार शिविर (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् निश्चित छैन ।  

तर अन्नपूर्ण क्षेत्रभित्रकै अर्काे आकर्षक पदमार्ग अन्नपूर्ण फेरो भने आन्तरिक पर्यटकलाई खुला गरिएको छ । ती आन्तरिक पाहुनाले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य रूपमा पेस गर्नु पर्नेछ । नेगेटिभ रिपोर्ट पेस गर्ने पाहुना मनाङ घुम्न पाउने स्थानीय तहले बताएका छन् । स्थानीय तहको त्यो निर्णयपछि नेगेटिभ रिपोर्ट लिएर मनाङसम्म आन्तरिक पर्यटक फाट्टफुट्ट रूपमा पुग्न थालेका छन् ।  

मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकाले कोरोना नेगेटिभ रिपोर्ट पेस गर्ने जो कोहीलाई अन्नपूर्ण फेरोको पदमार्गमा जान पाउने निर्णय गरेका हुन् । मनाङ प्रवेशद्वारमा पर्ने चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले केही दिनअघि नै नेगेटिभ रिपोर्ट लिएर आउनेलाई घुम्न दिने निर्णय गरेको बताए । ‘पिसिआर गरेर नेगेटिभ रिपोर्ट लिएर आउने पर्यटक मनाङ प्रवेश पाउँछन् । रिपोर्ट नल्याउनेलाई मनाङ र लमजुङको सिमाना तालबाटै फर्काउने गरिन्छ,’ चन्दले भने ।

मनाङ प्रवेश नाकामा पर्ने चामे गाउँपालिकाले गरेको निर्णय अनुसार नै अरू गाउँपालिकाले पनि गरेको उनले बताए । ‘कम्तीमा ७२ घन्टाअघिको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ,’ उनले भने । दसैं तिहारको बेला धेरै आन्तरिक पाहुना घुम्न आउने र पाहुनासँगै संक्रमण भित्रिने डर भएकाले कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको उनले बताए । ‘अहिलेसम्म फाट्टफुट्ट संक्रमण देखिए पनि मनाङवासी सुरक्षित छन् । जथाभावी भित्रिन दिने हो भने संक्रमण बढ्ने जोखिम हुन्छ,’ चन्दले भने, ‘त्यही भएर कडाइ गर्न जरुरी भएको हो ।’  

उनका अनुसार जिल्लामा कार्यरत कर्मचारी र जिल्लाबासीलाई रिपोर्ट नचाहिने उनले बताए । चन्दका अनुसार पिसिआर रिपोर्ट लिएर केही आन्तरिक पर्यटक तिलिचो, माथिल्लो मनाङलगायत गन्तव्यसम्म उक्लिने सम्भावना छ ।

मनाङ घुम्न इच्छुक आन्तरिक पाहुनाले ७२ घन्टा नकटेको कोरोनाको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ ।  

अर्काे मनाङ ङिस्याङ गाउँपालिकाले पनि कोरोना नेगेटिभ रिपोर्ट हुनेलाई प्रवेश दिने गरी अघिल्लो साता निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिपक ढकालले बताए । ‘मनाङ प्रवेश गर्दा रिपोर्ट ७२ घन्टा कटेको हुनुहुँदैन । त्यसपछि जति दिन बसेर माथिल्लो क्षेत्र उक्लिए पनि फरक पर्दैन,’ ढकालले भने, ‘स्थानीय व्यवसायीले नेगेटिभ रिपोर्ट हुनेलाई प्रवेश दिनुपर्ने माग गरेपछि सबैको सहमतिमा निर्णय भएको हो ।’

ढकालका अनुसार पदमार्गमा पर्ने होटल खोल्ने÷नखोल्ने भन्ने अधिकार व्यवसायीमै रहेको तर पाहुनालाई खान र बस्न समस्या छैन । ‘नेगेटिभ रिपोर्ट लिएर आउनेलाई खान बस्न अप्ठेरो पर्दैन,’ ढकालले भने, ‘चामे हुँदै मनाङ ङिस्याङ उक्लिने भए पनि चामे प्रवेशमा देखाएको रिपोर्टले माथिल्लो भेगसम्म घुमघाममा कुनै अप्ठेरो पर्दैन ।’ उनका अनुसार पदमार्गका होटल फाट्टफुट्ट रूपमा खुल्न थालेका छन् ।  

‘पिसिआरको नेगेटिभ रिपोर्ट अनिवार्य भएपछि ढुक्कले सेवा दिन सक्छौं,’ मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङले भने, ‘हामी पाहुनाको सत्कार गर्न तयार छौं ।’

व्यवसायी गुरुङले गाउँपालिकाको निर्णय बाहिरिएसँगै सोमबार ६ जना आन्तरिक पाहुना होटलमा राख्न पाएको बताए । काठमाडौंका ती पाहुना मनाङसम्म पुगेका थिए । ‘फेरोको पदमार्ग भए पनि थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ भने पुग्न पाइँदैन,’ उनले भने, ‘तिलिचोसम्मका लागि आउजाउ गर्न समस्या छैन । संक्रमण ज्यादै डरलाग्दो भएर यो भन्दा फरक निर्णय भए अर्कै कुरा हो, नत्र अहिलेलाई घुमफिरमा समस्या छैन ।’ उनका अनुसार मुख्य ठाउँका होटलमा बस्न र खानपिनका लागि कुनै समस्या छैन ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र यो पदमार्ग पर्छ । एक्यापका मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाले पनि पिसिआरको नेगेटिभ रिपोर्ट लिएर आउनेलाई कुनै समस्या नभएको बताए । नेगेटिभ रिपोर्टका आधारमा मनाङका होटलमा पाहुनालाई बस्न र खानपिनको व्यवस्था रहेको उनले बताए ।  

मनाङमा वर्षमा करिब ३० हजार विदेशी पुग्छन् । तीमध्ये अधिकांश थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ पुग्छन् । मनाङ पुग्ने आन्तरिक पाहुनाको संख्या पनि वर्षमा करिब ३० हजार हुने अनुमान छ । यो पदमार्गका पदयात्रीले लम्जुङ सदरमुकाम बेसीसहरबाट पदयात्रा सुरु गरी मनाङ हुँदै ५४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ निस्कन सक्छन् । पर्यटकीय गन्तव्यबारे जानकारी दिने विश्वकै चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले भने यो वर्षको भ्रमण गर्न लायक गन्तव्यमा नेपालको अन्नपूर्ण फेरोको पदमार्गलाई पनि समेटेको छ ।

प्रकाशित: ६ कार्तिक २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App