६ वैशाख २०८१ बिहीबार
अर्थ

पशुवस्तुको निःशुल्क बिमाबारे अनभिज्ञ किसान

गोरखाका किसानलाई पशुवस्तुको निःशुल्क बिमा गर्ने सुविधा छ। बिमा रकमको ७५ प्रतिशत संघीय सरकार र २५ प्रतिशत गण्डकी प्रदेश सरकारले तिरिदिने ब्यवस्था छ। तर किसानलाई बिमाको बारेमा थाहा नहुँदा र झन्झटिलो प्रक्रियाले बिमा गराउनेको संख्या भने ५ प्रतिशत हाराहारी मात्र छन्।  

‘यो वर्ष बिमा बापत किसान तिर्ने २५ प्रतिशत रकम हामीले तिरिदिन्छौँ’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख इन्द्रबहादुर भट्टले भने ‘यसअघिदेखि नै संघ सरकारले बिमा कम्पनीलाई ७५ प्रतिशत भुक्तानी दिँदै आएको थियो।’

निःशुल्क बिमा गर्न चाहने किसानले प्यान नम्बर र बैंक खाता भने अनिवार्य गरिएको छ। ‘किसानले बिमा बापत तिरेको २५ प्रतिशत रकमको भौचर भेटेरिनरी कार्यालयमा बुझाउनुपर्छ’ कार्यालय प्रमुख भट्टले भने ‘त्यहाँ बुझाएको रकम हामीले किसानको खातामा पठाईदिन्छौँ।’ गण्डकी प्रदेश सरकारले यस वर्ष किसानको पशुवस्तुको बिमाका लागि ४२ लाख रुपैयाँ बिनियोजन गरेको छ। ‘आउँदो असारसम्म किसानले बिमा गर्दै रकम भुक्तानी दावी गर्न सक्नुहुन्छ’ कार्यालय प्रमुख भट्टले भने।  

बिमा गर्नका लागि किसानले बिमित पशुवस्तुको विवरण भर्नुपर्छ। कार्यालयबाट खटिएका प्राविधिकले मूल्याङ्कन गर्छन। मूल्य निर्धारण गरेपछि सोही अनुसार बिमा रकम कायम गरिन्छ। कायम गरिएको मूल्यको ९० प्रतिशतसम्म किसानले बिमा दावी गरेपछि भुक्तानी पाउँछन्। करिब ७५ प्रतिशत मानिस कृषिमा आश्रित रहेको गोरखामा बिमाको पहुँचमा भने ५ प्रतिशत पनि नरहेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

गोरखामा लुम्बिनी जनरल इन्स्योरेन्स र प्रूडेन्सियल इन्सोरेन्स कम्पनीले पशुवस्तुको बिमा गर्दै आएका छन्। ‘चालु वर्षको साउनयता बाख्रा आठ सय, गाईगोरु एक सय १३, र दुईसय ८३ वटा भैँसीको बिमा गरेका छौँ’ लुम्बिनी इन्सोरेन्स कम्पनीका गोरखा स्थित कार्यालय प्रमुख स्वस्तिका पोखरेलले भनिन्। ‘रु. ८० हजारको मूल्याङ्कन भएको भैँसीको बिमा गर्दा किसानले वार्षिक पाँच हजार तिर्नुपर्नेमा एक हजार प्रदेश सरकारले र पाँच हजार नेपाल९संघ० सरकारले तिर्छ’, उनले भनिन्, ‘किसानको खल्तीको चाहिँ नपर्ने भयो।’ पशुवस्तुको बिमासँगै रु दुई सय तिरेपछि दुई लाख बराबरको किसानको दुर्घटना बिमा पनि गरिन्छ। टिकट र यो शुल्क भने किसान आफैँले तिर्नुपर्छ। गोरखामा पशुवस्तुको बिमा गर्ने प्रूडेन्सियल इन्सोरेन्स कम्पनीले साउन यता ८० वटा बाख्रा र ९० वटा भैँसीको बिमा गरेको गोरखा स्थित शाखा कार्यालयका प्रमुख समिर श्रेष्ठले बताए।

बिमाको पहुँच बाहिर रहेकाले गोरखामा अधिकांश किसान लाखौँ मूल्यको पशुवस्तुमा क्षति हुँदा बिमाको सुविधा पाएका छैनन्। ‘प्राय किसानलाई विमाको सुविधा बारे केही थाहा छैन’ भेटेरीनरी अस्पतालका प्रमुख डाक्टर इन्द्रबहादुर भट्टले भने ‘ब्यवसायिक रुपमा पशुपालन गरेका, घरायसी प्रयोजनका लागि गाईवस्तु पालेकाहरुलाई पनि बिमाले ठूलो राहत हुने भएकलो बिमा गर्न ढिला गर्नु हुदैन।’

प्रकाशित: ४ कार्तिक २०७७ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App