१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कृषिमा कोरोना कहरः बजार नपाउँदा बारीमै कुहियो तरकारी

बिक्री नभएपछि खेतका गह्रामा थुपारिएको बन्दाकोभी । तस्बिर : सरिता/नागरिक

सिद्धलेक गाउँपालिका वडा नं ५ का तुलबहादुर घले व्यवसायिक रुपमा तरकारी खेती गर्छन्। घर नजिकैको खेतबारीमा तरकारी लगाएर १४ वर्ष बिताइसकेका छन्। उनले सिजन अनुसारका तरकारी लगाउने गरेका छन्। तरकारी खेतीबाट मनग्य आम्दानी लिदै आएका उनले यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण घाटा व्यहोर्नु परेको बताए। कोरोनाले कृषि पेशा नै धरापमा परेको र लगानी समेत उठाउन हम्मे परेको बताए।

लगाएका तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहाउनु परेको, बजार भाउ नपाएको, समयमा मल बीउ नपाउँदा यस वर्ष नोक्सान व्यहोर्नु परेको उनले बताए। ‘उत्पादन हुने समयमा लकडाउन भयो, तरकारी बिक्री हुन सकेन अनि बारीमै कुहाउनु प¥यो,’ उनले भने, ‘त्यसपछि अर्को सिजनको तरकारी लगाउने समयमा न मल पाए न बीउ, किसान जताबाट पनि मारमा पछौँ।’ धान, मकैमा समेत समयमा मल हाल्न नपाउँदा उत्पादन घटेको उनले बताए।  

तहगत रुपमा हुने बिचौलियाको बिगबिगी, समयमा मलबीउ नपाउनु, उत्पादित तरकारी बिक्री नहुनु, खेर जानु लगायतका समस्याले अहिले व्यावसायिक किसानहरु आजित बनेका छन्। ‘तीन तहको सरकार छन्, तर किसानलाई किन उपेक्षा गर्छन्? अनुदान दिएको भन्छन् तर वास्तविक किसानसम्म पुग्दैन’ उनले भने, ‘विचौलियाले महल बनाएर बसिसकेका छन्, हामी किसान जहाँको त्यही छौँ।’ सरकारले समयमा मल बीउ उपलब्ध गराउन र उत्पादित बस्तु सहज रुपमा बिक्री हुने वातावरण बनाइदिए किसान मर्नु नपर्ने उनले बताए।  

कोरोना भाइरसको बढ्दो संक्रमणले अन्य क्षेत्रजस्तै कृषि पेशा पनि दिनानुदिन संकटमा पर्दै गइरहेको छ। उत्पादित कृषि उपजको भण्डारण, बिक्री वा नयाँ बाली लगाउने कार्यमा विभिन्न कारणले अवरोध हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको छ। उत्पादित वस्तुको बिक्री गर्न अप्ठ्यारो भइरहेको छ। हाटबजार बन्द छन्। केही व्यापारीहरु तरकारी संकलनका लागि निश्चित ठाउँमा त पुगेका छन्। तर, व्यापारीले कम मूल्य दिँदा किसानले घाटा व्यहोर्नुपरेको छ।  

कोरोना भाइरसको संक्रमण बढ्न नदिन गत चैत महिनादेखि सरकारले लगाएको लकडाउन त्यसपछि विभिन्न चरणमा गरेको निषेधाज्ञाको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको छ। गत चैतमा बिक्रीका लागि तयारी भएको घेरैला, सिमि, फर्सी लगायतको तरकारी बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहाउनु परेको अनुभव सोही ठाउँका ज्ञानु घलेको छ। दुःख गरेर लगाएको तरकारी बिक्री नहुँदा उनले लगानी समेत उठाउन सकेनन्। कोरोना कहरले गर्दा हरेक तरकारीबाली लगाउने समयमा र उत्पादन हुने समयमा समस्या ब्यहोर्नु परेको उनले सुनाइन्।  

तरकारीपछि बैशाखमा मकै लगाइन् तर मल छैन। मल वितरण गर्ने सहकारी चाहरिन्, धादिङबेसी आइन् तर पाइनन्। असार पहिलो साता घोगा लाग्ने बेलामा मल चाहिएको थियो। असार अन्तिमतिर बाली भित्राउने बेला मात्रै मल पाइन्। त्यसपछि असार अन्तिमतिर ११ रोपनी खेतमा धानको बीउ रोपिन्। समयमा मल हाल्न नपाउँदा उत्पादन घट्ने निश्चित रहेको उनले बताइन्। ‘लकडाउनले बजारसम्म पु¥याउन नसक्दा तरकारी बिक्री भएन, समयमा मल राख्न नपाउँदा मकै त्यति राम्रो फलेन, अब धानको उत्पादन पनि कम हुने निश्चित छ,’ उनले भनिन्, ‘कोरोना कहरले हामी किसानहरु मारैमारमा परेका छौँ।’

विभिन्न चरणमा गरेको लकडाउन अनि निषेधाज्ञाका कारण समयमा मल बिउ पाउन नसकेको किसानहरुले गुनासो गरेका छन्। सरकारले खेती गर्ने समयमा मल, बीउको व्यवस्थापन गर्न नसक्दा दुःख पाएको बताए। उत्पादन भएका तरकारीहरुले बजार नपाउदा, बारीमै तरकारी कुहिदा किसानको लगानी र परिश्रम खेर गएका छन्। यो महामारीको समयमा कृषि क्षेत्रको काममा बढी सहजकता अपनाउनुपर्ने देखिन्छ। किसानको समस्या समाधानको लागि सरकारको ध्यान कृषि र वर्षौदेखि कृषि कर्म गर्दै आएका किसानसम्म पुग्न जरुरी रहेको किसानहरुले बताए।

पन्ध्र वर्षदेखि वयवसायिक रुपमा तरकारी खेती गर्दै आइरहेकी घले अब व्यावसायिक रुपमा नयाँ तरकारी लगाउने की नलगाउने दोधारमा छिन्। ‘उत्पादन भएको तरकारीले पनि कहिले लकडाउन त कहिले बजार सिल छ भन्ने बहानामा भाउ नै पाएन’, उनले भनिन्, ‘कोरोना भाइरसको संक्रमण झन् बढ्दो छ, अब पनि त्यस्तै समस्या व्यहोर्नुपर्ने हो कि भन्ने चिन्ताले नयाँ तरकारी लगाउने कि नलगाउने भन्ने दोधारमा छु।’

मल, बिउ, तथा अन्य सामानको अभावमा किसानले खेती गर्न पाएका छैनन्। त्यस्तै, कोरोनाको त्रासले कृषि श्रमिक तथा कृषकहरू आफैँ पनि खेतीपातीबाट विमुख भएका छन्। कृषि सामग्री बिक्री गर्न सहकारी पसल र एग्रोभेट छन्, तर तिनले पर्याप्त स्रोत–साधनको माग पु¥याउन सकेका छैनन् र ती सामानको मूल्यवृद्धिका कारण कृषक थप मारमा परेका छन्। यसको प्रत्यक्ष असर किसानलाई त परेकै छ, अर्कोतर्फ कोरोनाबाट जेनतेन फुत्किए पनि भोकमरीको अर्को संकट नआउला भन्न सकिन्न।

लकडाउनका कारण कृषकको उत्पादन बजार तथा उपभोक्तासम्म पु¥याउन समस्या भएको कारणलाई मध्यनजर गर्दै सरकारले कृषिउपज ढुवानी तथा खेतीपातीका लागि केही खुकुलो गरेको थियो। तर, यसले कृषिउपजको ढुवानी तथा उपभोक्ता माझ पु¥याउन खासै सहयोग गरेन। बिक्री हुने समयमा तरकारी खेर गयो, तरकारी लगाउने समयमा खुकुलो बनाएर पीडामा पीडा थप्ने काम गरेको किसानहरुले बताए।  

कोरोनाका कारण रोजगारी गुमाएर घरफर्कर्नेहरु बढ्दो छ। कृषिमा आबद्ध हुन इच्छुक वैदेशिक रोजगारबाट फर्केका युवा तथा अन्य जनशक्तिलाई सुलभ ऋणको व्यवस्था गर्न केही स्थानीय तहहरुले योजना समेत बनाएर लागू गरेका छन्। कृषिमा पर्याप्त मानिसको आवश्यकता पर्ने भएकाले विदेशबाट फर्किएका तथा स्वदेशमै बेरोजगार युवालाई व्यावसायिक तथा एकीकृत खेती प्रणालीमा आबद्ध गराउन योजना बनाएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताए। ‘कृषिकोे क्षेत्रमा एक करोड बजेट छुट्टाएको छ,’ उनले भने ‘व्यावसायिक कृषि पेशामा लाग्नुहुन्छ भने आवश्यक मल, बीउ, सामग्रीहरु अनुदानमा दिइरहेका छौँ।’

प्रकाशित: ४ कार्तिक २०७७ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App