coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकीयस्थल भेडेटारमा स्काईवाक निर्माण हुने, व्यवसायी उत्साहित

भेडेटार स्काईवाकको डिजाइन नक्सा ।

कोरोना महामारीले समग्र पर्यटन क्षेत्र थला परेको बेला प्रदेश १ कै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा भने करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण हुने भएको छ।

भेडेटार स्काईवाक परियोजनाको लागि बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगरमा सरोकारवाला तीन पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यो सँगै भेडेटारको चल्र्स भ्यूटावरमा स्काईवाक निर्माण हुने सुनिश्चित भएको छ भने कोरोना महामारीले निराश बनेका पर्यटनकर्मीहरुलाई पनि उत्साह दिलाएको छ। भेडेटारको चाल्र्स भ्युटावरमा निर्माण हुने स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना पनि हुनेछ।

भेडेटार धनकुटा र सुनसरीको संगमस्थल हो। अधिकांश भूभाग धनकुटाको साँगुरीगढी गाउँपालिकामा परेपनि सुनसरीको धरान उपमहानगरपालिकामा पनि भेडेटारको केही भाग पर्छ। तसर्थ, बिहीबार स्काईवाक परियोजना निर्माण तथा सञ्चालनबारे पहिलो पक्ष धनकुटाको साँगुरीगढी गाउँपालिका, दोस्रो पक्ष धरान उपमहानगरपालिका र तेस्रो पक्ष प्रदेश लगानी प्राधिकरणबीच समmभदारीपत्रमा हस्ताक्षर भएको हो।

स्काईवाक वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरंगले स्काईवाक निर्माण गर्ने सझदारीपत्रमा उल्लेख छ। प्रालिले भेडेटार चोकदेखि नजिकै चाल्र्स पोइन्ट(शैलुंग डाँडा)मा स्काईवाक निर्माण गर्न सम्भाव्यता अध्ययनपछि डिपिआर पनि बनाइसकेको छ। साँगुरीगढी गाउँपालिकाले चाल्र्स भ्यूटावरले उत्तर(धनकुटा)तर्फ चर्चेको जमिन र धरान उपमहानगरपालिकाले दक्षिण(सुनसरी)तर्फ चर्चेको आवश्यक सार्वजनिक जग्गा उक्त प्रालिलाई लिजमा उपलब्ध गराउनुपर्नेछ। परियोजनालाई आवश्यक नक्सा, वातावरणीय प्रभाव मूल्यांकनसहित अन्य आवश्यक विषयमा प्रदेश लगानी प्राधिकरणको अगुवाई हुने हरेक कार्यमा पनि सहयोग र सहकार्य हुनेछ।  

लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा, परियोजना सञ्चालनपछि लिज, रोयल्टी तथा अन्य शुल्क वापत प्राप्त गर्ने रकमको बाँडफाँड विषयमा तेस्रो पक्षको रोहबरमा पक्षहरुबीच आपसी सहमतिमा २२ दिनभित्र टुंग्याउने त्रिपक्षीय समझदारी पनि भएको छ। समझदारीपत्रमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला, धरानका मेयर तिलक राई, साँगुरीगढीका अध्यक्ष कुमारजंग याक्खा, धरानका प्रमुख प्रशासकीय अधिकृत विदुर खनाल, साँगुरीगढीका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्।

साँगुरीगढीका अध्यक्ष याक्खाका अनुसार स्काईवक परियोजनाको कुल लागत २० करोड रहेको छ। परियोजनामा २० प्रतिशत स्थानीयको पनि लगानी रहेन छ। स्काईवाकको उचाइ १०० मिटरदेखि ५०० मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ। साथै, घुम्तिमा १० मिटर रहने पनि अध्यक्ष याक्खाले बताए। ‘भेडेटारको शैलुड डाँडाबाट धरानतर्फ ३९ मिटर लामो स्काईवाक हुनेछ,’याक्खाले भने,‘परियोजनाबाट बार्षिक १० लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको छ।’

परियोजनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा १ हजार भन्दा धेरैले रोजगारी पाउने अपेक्षा गरिएको छ भने साँगुरीगढी गाउँपालिकालाई साहसिक पर्यटनको हब पनि बनाउने पर्यटनकर्मीहरुको भनाई छ। होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालती भन्छन्,‘साहसिक पर्यटकहरुको गन्तव्य बन्नेछ। भेडेटारको मात्र नभएर प्रदेशकै ब्राण्ड बन्ने अपेक्षा गरेका छौं।’ कोरोना महामारीले थला परेको पर्यटनमा नयाँ परियोजनासहित लगानी भित्रिनु सुखद् भएको उनले बताए।

प्रकाशित: ३० आश्विन २०७७ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App