coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घान्द्रुक क्षेत्रका होटल अनिश्चितकालसम्म बन्द

अन्नपुर्ण आधारशिविर क्षेत्रको पदयात्रामा रहेका विदेशी पर्यटक । फाइल तस्बिरः नागरिक

दसैं–तिहारको फुर्सदमा धेरै आन्तरिक पाहुना घान्द्रुक क्षेत्र घुम्न पुग्छन्। घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी)को मुख्य प्रवेशबिन्दु पनि घान्द्रुक नै हो। कोरोना भाईरस संक्रमणबीच यो पटक पनि धेरै आन्तरिक पाहुनाले घान्दु्रक क्षेत्र घुमघामको योजना बनाएका हुनसक्छन्। तर, घान्द्रुक क्षेत्रका स्थानीय व्यवसायीले भने अनिश्चितकालसम्म होटल नखोल्ने निर्णय गरेका छन्।  

होटल नखुल्दा यो बेला घुम्न जाने पाहुनाले खानपिन र बास पाउने छैनन्। बाहिरी पाहुनालाई घान्द्रुक प्रवेशमै रोक लगाइएको छ। अहिलेसम्म कोरोना संक्रमणको समस्या नभएको र पाहुना भित्रिन दिँदा गाउँमा संक्रमण फैलिने डर भएकोले अनिश्चितकालसम्मका लागि होटल बन्द गर्ने निर्णय गरेको त्यहाँका व्यवसायीले बताएका छन्। घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीको बिहीबार बसेको बैठकले पाहुनासँगै गाउँमा संक्रमण भित्रिने डर भएकोले अनिश्चितकालसम्म होटल नखोल्ने निर्णय गरेको घान्द्रुक पर्यटन विकास समितिका अध्यक्ष किसम गुरुङले बताए।

‘संक्रमणको अवस्था डरलाग्दो हुँदै गएको छ। अहिलेको अवस्था अझै बढ्दै जाने हो भने संक्रमण गाउँसम्मै फैलिनेछ,’ अध्यक्ष गुरुङले भने, ‘घुम्न आएका तिनै पाहुनाबाट गाउँमा संक्रमण भित्रिने जोखिम भएकोले होटल पनि बन्द गर्ने निर्णय गरेका हौ।’ सबैतिर संक्रमण तीव्र रुपमा बढिरहँदा अहिलेसम्म सुरक्षित रहेका गाउँमा पनि संक्रमणको त्रास हुने उनले बताए। ‘सबैजना सुरक्षित हुनुपर्छ। अहिले आएका पर्यटकलाई पनि सुरक्षित राख्नुपर्छ। हामी नै सुरक्षित नभए व्यवसाय खोल्ने कुरा रहेन,’ उनले भने।

घान्द्रुकबाट पर्यटकहरु अन्नपूर्ण क्षेत्रको टाढापानी, घोरेपानी, छोमरोङ हुँदै अन्नपुर्ण आधारशिविर पुग्ने गर्छन्। त्यस क्षेत्रका व्यवसायीले समग्र क्षेत्रलाई सेन्चुरी पर्यटन विकास समितिको नाममा बजारीकरण गरिरहेका छन् । सेन्चुरी क्षेत्रभित्रको घान्द्रुक मुख्य प्रवेशबिन्दु हो। अध्यक्ष गुरुङका अनुसार दसैं–तिहारको बिदा पारेर आन्तरिक पाहुना गाउँमा पुग्न सक्ने र त्यसले संक्रमण भित्र्याउने त्रास भएकोले पाहुनालाई निरुत्साहित गर्न चाहेको उनले बताए। गाउँले बाहेकको आउजाउ नहोस भनेर घान्द्रुकको प्रवेशद्वारको स्याउली बजारमा स्वयंसेवक राखेर गाउँलेबाहेकको आउजाउमा कडाई गरिएको पनि अध्यक्ष गुरुङले बताए। ‘घान्द्रुकबासीलाई आउजाउमा समस्या छैन। तर, बाहिरबाट आउनेलाई प्रवेश दिएका छैनौ,’ उनले भने।

‘सकेसम्म गाउँमा पाहुना आउँनै दिएका छैनौ। केहीगरि भित्रिए भने उनीहरुलाई खानपिन र बासको समस्या पर्छ। हामीले अनिश्चितकालिन समयका लागि होटल बन्द गरेका छौ,’ उनले भने, ‘यहाँका होटलमा अहिले एककप चिया समेत पाहुनाले पाउने छैनन्। खाना र बासको समस्या भएकोले पाहुनालाई नआउन भनेका छौ।’ दसैं तिहारमा आन्तरिक पाहुना आउने सम्भावना बढी भएको र उनीहरुबाटै संक्रमण पनि भित्रिने जोखिम भएकोले तत्काल होटल नखुलाउने निर्णय गरेको उनले बताए। होटल बन्द गर्नेबारे घान्द्रुकमा भएको छलफलमा घान्दु्रकसहित टाढापानी, उल्लेरी, छोमरोङ, एबिसी लगायतका क्षेत्रका व्यवसायी सहभागी थिए।  

‘होटल खोल्ने पक्षमा कोही पनि व्यवसायी छैनन्। सबैले यो बेला होटल खोल्ने अवस्था छैन भनेका छन,’ उनले भने, ‘सिमित व्यवसायीले व्यवसाय गर्दा सिंगो गाउँलाई जोखिममा पार्न चाहेनौ।’ एबिसी क्षेत्रको घान्द्रुक गाउँ गेटवे नै भएकोले घान्द्रुकका होटल बन्द भएपछि अरु गन्तव्यका होटल आफै बन्द हुने उनले बताए। ‘मुलढोका नै बन्द भएपछि अरु ठाउँका होटल खोल्ने अवस्था नै रहन्न,’ उनले भने, ‘यो बेला धेरै आन्तरिक पाहुना आउन चाहेका थिए। पाहुनाले होटल खोले नखोलेको बारेमा चाँसो पनि लिइरहेका छन्।’

यो बेला पर्यटन सिजन हो। सिजन भएकोले यो बेला आन्तरिक र बाहय पर्यटकको घुमघाममा घुइँचो हुन्थ्यो। मुख्य गन्तव्यमा यो बेला आन्तरिक पाहुनाको भीड हुँदा बसोबासमा समेत समस्या हुन्थ्यो। यो बेला पाहुनालाई सत्कार गर्दा पर्यटकीय गन्तव्यका व्यवसायीलाई खाना खाने समेत फुर्सद हुँदैनथ्यो। ‘पाहुना बसेको कोठा सफा गर्न नपाउँदै फेरि त्यही कोठामा बस्ने अर्काे समूह आइसक्थ्यो,’उनले भने, ‘तर अहिले ती सबै काम सपना झैं लाग्न थालेको छ।’  

एबिसी पदमार्गको माछापुच्छ्रे आधारशिविर (एमबिसी)मा  होटल संचालन गरिरहेका व्यवसायी बुद्धिबहादुर गुरुङ पनि गाउँमा संक्रमणको त्रास भएकोले अहिलेका लागि होटल खोल्न सकिने अवस्था नरहेको बताउँछन्। छोमरोङ पर्यटन विकास समितिका अध्यक्ष समेत रहेका उनले अब होटल कहिले खोल्ने भन्ने निश्चित नभएको बताए । ‘दसैं तिहारको बेला पाहुना आउन चाहेका थिए। तर, उनीहरुलाई आउन दिँदा हामी आफै नै असुरक्षित हुन्छौ,’ उनले भने, ‘हामी पनि जोगिनुपर्‍यो, पाहुना पनि जोगाउन र गाउँलेलाई पनि सुरक्षित राख्नुपर्छ। सबैलाई सुरक्षित राख्न खोज्दा गाउँमा पाहुना भित्रिन दिनुभएन।’

पाहुना भित्रिए रोग पनि सँगै आउला भनेर नै व्यवसायीले होटल बन्द गर्ने निर्णय गरेको उनले बताए। ‘करिब नौ महिनादेखि होटल बन्द गरेका छौ। अब केहीदिनपछि चिसोका कारण पनि होटल खोल्न सहज हुँदैन,’ उनले भने, ‘यो बेला संक्रमण पनि उस्तैगरि उकालो लागेको छ। त्यही भएर अहिले नै होटल खोल्ने निर्णय गर्न सकेनौ। अब कहिले होटल खुल्छन् भनेर भन्न सकिन्न।’  

यो क्षेत्रमा मात्र साना ठुला गरि करिब ३ सय होटल रहेका छन् । सेन्चुरी क्षेत्रमा मात्र वर्षमा करिब ७० हजार विदेशी पर्यटक पुग्ने गरेका छन्। पोखराबाट नजिकको दूरी र हिमाली श्रृंखलासहित वनजंगलको दृष्यावलोकन तथा अन्नपुर्ण आधारशिविरसम्मको साहसिक पदयात्रा गर्न सकिन भएकोले विदेशी पर्यटक यो रुटको पदयात्रामा जान रुचाउँछन्।

प्रकाशित: ३० आश्विन २०७७ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App