११ कार्तिक २०७७ मंगलबार
अर्थ

रसुवागढी नाका जोड्ने सडकको ६२ प्रतिशत काम सकियो

रसुवागढी नाका जोड्ने सडक खण्डको पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडकको स्तरोन्नततिको काम गरिँदै। तस्बिर/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी मैलुङ रसुवागढी सडक अन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम ६२ प्रतिशत सकिएको छ। नाका जोड्ने छोटो दूरीको रूपमा रहेको यो सडकको  तीन खण्डमा स्तरोन्नतिको काम हुने छ।  

जसअन्तर्गत पहिलो खण्डमा पर्ने गल्छी मैलुङ सडक खण्डको ६२ प्रतिशत भौतिक प्रगति भएको हो। गल्छी मैलुङ सडक खण्डको दूरी ४६ किलोमिटर रहेको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार सडकमा पहिलो चरणको २१ किलोमिटर कालोपत्रे गरिएकोमा १३ किलोमिटर दोस्रो चरणको कालोपत्रे गरिएको छ।  

अहिले कालोपत्रे गर्ने, वाल लगाउने र पहरा काट्ने लगायतको काम चलिरहेको छ। गल्छी मैलुङ सडकको स्तरोन्नतिको काम आगामी पुससम्मका लागि थप गरिएको छ।  दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रुबेसी सडकको स्तरोन्नतिको लागि निर्माण व्यवसायीसँग सम्झौता भएर निर्माण कार्य अघि बढेको छ। वर्षाको कारण सडक खण्डको विभिन्न स्थानमा पहिरो झरेकोमा अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ।  

त्यसैगरी स्याफ्रु रसुवागढी सडक खण्डको चिनियाँ पक्षले स्तरोन्नतिको जिम्मा पाएकोमा अहिले काम अघि बढेको छैन। नेपाली पक्षले बिजुलीको पोल सार्ने कार्यलाई अघि बढाएको छ। कोभिड–१९ का कारण यो सडक खण्डको काम अघि बढ्न नसकेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये ११ वटाको डिजाइन र निर्माण कार्य भइरहेको छ। जसमा १० वटाको अहिले निर्माण कार्य भइरहेको योजनाले जनाएको छ। ५ वटा पुल मूल्यांकनको चरणमा रहेको छ। बाँकी पुलहरूको डिपिआर भइरहेको र यसै आर्थिक वर्षमा सम्झौता हुने उनले बताए।  

सल्लेरी खण्डमा जग्गा एकिन गर्न नसकिएको भनेर नापी कार्यालले जानकारी दिएको, टिमुरे खण्डमा लामो समयदेखि मुआब्जाको दररेट निर्धारण हुन नसकेको, यस आर्थिक वर्षमा विनियोजित रकम वितरण भइसकेको र थप ५९ करोड माग गरी फाइल अर्थ मन्त्रालयमा पुगेको भएपनि प्राप्त हुन नसकेको योजनाले जनाएको छ।  

पिपलटारदेखि ढुंगेसम्म अदालतको स्टे अडरका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए। यी समस्याका कारण सडकको स्तरोन्नतिमा ढिलाइ भएको हो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।  

मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।  

प्रकाशित: २९ आश्विन २०७७ १७:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App