coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना तस्बिरः हिमनाथ/नागरिक

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकिएको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र तिहारपछिदेखि प्रसारण लाइनको काम अघि बढाउने आयोजनाले जनाएको छ।  

नियमित काम भएमा करिब ६ महिनाको काम बाँकी रहेको आयोजना प्रमुख जीतमान शेर्पाले बताए। ‘६ महिनामा काम गरेमा आयोजनाको काम सकिन्छ’, उनले भने, पुसपछि आयोजना क्षेत्रमा हिउँ पर्ने भएकाले काम हुन पाउँदैन।’ आगामी वर्षदेखि आयोजनाले उत्पादन थाल्ने उनको भनाइ छ।  

हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ हुँदै आएको थियो। भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्ने भएका कारण कामले गति लिन नसकेको हो।

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि हालसम्म तीन पटक म्याद थप भइसकेको छ । ६.४२ मेगावट क्षमताको आयोजनाको २०६९ सालदेखि निर्माण कार्य सुरु भएको थियो।  

असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य पूरा हुन नसकेपछि दोस्रो पटक म्याद थप गरिएको थियो। हरेक वर्ष असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ।  

यस वर्ष मनसुन चाँडै सुरु भएको कारण निर्माण कार्य प्रभावित बनेको थियो। आयोजनाले दिएको जानकारी अनुसार अहिले प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।  

आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ। आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने बताइएको छ। ‘हिउँदको समयमा हिउँ पग्लने भएकाले आयोजनाको उत्पादन घट्दैन, प्रोेजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले भने, उत्पादित विद्युत् खेर जान नदिन प्रसारण लाइन निर्माणमा पनि काम भइरहेको छ।’  

जिल्लामा अहिले १२ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। जिल्लाको टिमुरे, चिलिमे, हाकु, सरमथली, स्याफ्रु, मैलुङ र यार्सा लगायतका स्थानमा आयोजना निर्माण हुँदै छन्। न्युनतम ५ मेगावटदेखि २१६ मेगावट क्षमताको आयोजना निर्माण भइरहेको विद्युत् विकास विभागले जनाएको छ। जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ५८८.७२ मेगावट विद्युत उत्पादन हुने छ।

प्रकाशित: २८ आश्विन २०७७ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App