coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पानीको मूल्य बढाउने निर्णय फिर्ता

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र ‘उपभोक्ता अधिकारवादी ’ कै ‘ग्रिन सिग्नल’ मा जार पानीको मूल्य बढाएका उद्योगीहरू उक्त निर्णय फिर्ता लिन राजी भएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको छलफलमा पुरानै मूल्यमा जारको पानी बिक्री गर्ने सहमति भएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए। ‘बढाएको मूल्य फिर्ता लिन उद्योगी सहमत भएका छन्,’ आचार्यले भने, ‘अब पुरानै मूल्यमा जारको पानी उपभोग गर्न पाइन्छ।’

गत साउन अन्तिम साता विभागले जार पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) ५० रूपैयाँ तोकेको थियो। त्यसको करिब दुई महिनापछि गत साताबाट व्यापारीले पानीको मूल्य बढाएका थिए। विभागले ५० रूपैयाँ एमआरपी तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न उतिबेलै निर्देशन दिएको थियो। ‘विभागले तोकेको मूल्य कार्यान्वयन नगर्न भने पनि त्यसलाई आधार बनाएर मूल्य बढाएको देखियो,’ उनले भने, ‘उद्योगीलाई बोलाएर छलफल गरेपछि मूल्य यथावत राख्न सहमत भए।’

पानी उद्योगले फयाक्ट्री मूल्य पाँच रूपैयाँ बढाएको स्वीकार गरेका थिए। तर उनीहरूले पाँचदेखि १० रूपैयाँसम्म फ्याक्ट्री मूल्य बढाएका थिए। २५ देखि ४० रूपैयाँमा बिक्री हुँदै आएको एक जार पानीको मूल्य ३५ देखि ५० रूपैयाँ पुगेको थियो। पानीको ब्रान्ड अनुसार मूल्य फरक छ। पानीको मूल्य बढाइएको विषय संसदीय समितिमा पुगेपछि विभाग आफैंले तोकेको एमआरपी कार्यान्वयन नगर्ने निर्देशन दिन बाध्य भएको थियो। ऊबेला विभागले पुरानो मूल्यका आधारमा एमआरपी घटाएर प्रतिजार ५० रूपैयाँ कायम गरेको दाबी गरे पनि बजार उद्योगीलाई मूल्य बढाउन बाटो खुलेको थियो।

विभागका अधिकारीमाथि व्यापारीको स्वार्थमा पिउने पानीको एमआरपी तोकेको आरोप लागेको थियो। प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेका बेला विभागको कदमले मूल्य बढाउने बाटो खोलेको थियो। पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनले लबिङ गर्दै आएको थियो।

विभागले पानीको मूल्य मूल्य तोक्न निर्देशक सागर मिश्रको संयोजकत्वमा समिति बनाएको थियो। समितिले २०७३ सालमा जारको मूल्य ६० रूपैयाँ निर्धारण गरिएकाले घटाएर ५० रूपैयाँ कायम गरिएको जिकिर गरेको थियो। उद्योगले निर्यात गर्न उत्पादन गरेको र विशेष प्रकृतिको शिलबन्दी प्रशोधित पानीको हकमा धेरै मूल्य लिने गरेका छन्। उपत्यकामा जारको पानी उत्पादन गर्ने एक सय ८० उद्योग छन्। यहाँ सामान्य अवस्थामा दैनिक डेढ लाख जार पानी बिक्री हुने उद्योगी बताउँछन्। अहिले कोभिडले होटल निकै कम चलेकाले कम बिक्री भएको छ। बजारमा बिक्री भइरहेका पानीको गुणस्तरमाथि भने बारम्बार प्रश्न उठ्ने गरेको छ।  

प्रकाशित: २८ आश्विन २०७७ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App