५ वैशाख २०८१ बुधबार
अर्थ

हलेसीदेखि रसुवाघाटसम्म यातायात सेवा सुरु

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडक एबं यातायात सेवा उद्घाटन गर्दै वृद्धा तुलसा बुढाथोकी । तस्बिर : नागरिक

खोटाङको हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडकमा यातायात सेवा सुरु गरिएको छ। हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक (२७ किलोमिटर) निर्माण भएपछि हलेसी तुवाचुङ नगरपालिकाबाट खोटेहाङ गाउँपालिकाको रसुवाघाट आवत–जावत गर्ने बस सेवा सुरु गरिएको हो। आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण सुरु गरिएको सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा पूरा गरेर यातायात सेवा सुरु गरिएको हो।  

संघीय सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख र नगरपालिकाको गरी करिब डेढ करोडमा निर्माण पुरा गरिएको सडकमा आईतबारदेखि बस सञ्चालनमा ल्याइएको हो। सो सडकलाई पुरा गर्नका लागि नगरपालिकाले सुरुका वर्ष २७ लाख बजेट विनियोजन गरेको जनाएको छ। दशैं तिहार नजिकिदै गर्दा भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीय वृद्धा तुलसा बुढाथोकीले एकैसाथ हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट सडक एबं हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा उद्घाटन गरेकी छन्। हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले नै वृद्धा बुढाथोकीमार्फत सडक तथा यातायात सेवा उद्घाटन गराएका हुन्। सडक उद्घाटनमा समन्वय नगरिएको भन्दै नेकपा पक्ष भने असन्तुष्ट देखिएका छन्।  

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक गाईघाट–दिक्तेल सडक खण्डको रेग्मीटारमा जोडिएको छ। गाईघाट–दिक्तेल सडकमा जोडिने भएकाले सो सडकमार्फत उदयपुर हुँदै अन्यत्र जान आउनका लागि छोटो बाटो खुलेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक बन्नुअघि हलेसीबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्ने घुमाउरो बाटो प्रयोग हुँदै आएको थियो। महुरे–बुईपा–बिजयखर्कभन्दा धितुङ–भाडबेँसी सडक झण्डै दोब्बरले छोटो पर्ने बताइएको छ।  

स्थानीय सरकार आउनुअघि हलेसीबाट धितुङको हात्तीआहालसम्मको ट्र्याक खोलिसकिएको थियो। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटले हात्तीआहालबाट रेग्मीटारसम्मको बाँकी खण्डको काम पुरा गरिएको मेयर राईले बताए। सडक निर्माणका लागि तत्कालिन धितुङ गाबिसले प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आएको थियो। स्थानीय तह आएपछि नगरपालिकाले पनि हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडकलाई गौरवको योजनाको सूचीमा राखेको थियो। हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक बनेपछि हाललाई दैनिक दुर्छिमबाट रसुवाघाटका लागि बस छुट्ने यातायात व्यवसायीले बताएका छन्। फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि हलेसीबाट सिधै गाईघाटसम्म यातायात सञ्चालन गर्ने बाटो खुल्ने छ।  

सडक बनाउँदा कुलोमा क्षति  

हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार सडक निर्माणकाक्रममा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सञ्चालित कुलोमा क्षति पुगेको छ। सडक निर्माणकाक्रममा झरेको ढुंगामाटो खस्दा धितुङको कटहरेपट्टिको खेततिर जाने कुलो र राजापानी भाडबेँसीपट्टिको खेततिर जाने कुलोमा क्षति पुगेको हो। सडक खन्नेक्रममा पल्टिएको ढुंगामाटोले कुलो भत्केपछि भाडबेँसीपट्टिको खेत बाँझिएको छ। कुलोमा क्षति पुग्दा कटहरेपट्टिको खेत पनि बाँझिने अवस्थामा पुगेको स्थानीयको गुनासो छ। 

यद्यपी कटहरेपट्टिको खेततिर जाने कुलो मर्मत गरिसकिएको मेयर राईले बताए। नगरपालिकाका अनुसार भाडबेँसीपट्टिको खेततिर जाने कुलोको पनि मर्मतको तयारी गरिएको छ।

प्रकाशित: २६ आश्विन २०७७ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App