पोखरा र चितवनको सौराहामा होटल सञ्चालन गरेको ल्यान्डमार्कले आन्तरिक पाहुनालाई लक्षित गर्दै केही दिनअघि प्याकेज ल्याएको छ। यो प्याकेजमा बस्ने आन्तरिक पाहुनाले प्रतिव्यक्ति एक रातका लागि दुई हजार एक सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यो मूल्यमा पाहुनाले एक रातको बसाइसहित डिनर र ब्रेकफास्ट खान पाउनेछन्। तर कोठामा कम्तीमा दुईजना बस्नुपर्नेछ। कोठामा एक्लै बस्न चाहनेले भने यही सुविधा लिन प्रतिरात ३६ सय ५० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, पोखराको सांग्रिला भिलेज रिसोर्टले पनि १२ हजार नौ सय ९९ रुपैयाँमा दुई रात र तीन दिनको प्याकेज ल्याएको छ। यो प्याकेजमा पनि दुईजना पाहुना बस्न पाउँछन्। एक्लैका लागि यो भन्दा सस्तो प्याकेज सांग्रिलाको छ। यो मूल्य तिरेका ती पाहुनाले दुई बिहानको ब्रेकफास्ट र दुई छाक खाना (लन्च वा डिनर) पाउनेछन्। आन्तरिक पाहुना लक्षित यो प्याकेज अरु बेलाको भन्दा निकै नै सस्तो रहेको रिसोर्टले बताएको छ।
ल्यान्डमार्क र सांग्रिला झैं पोखराका धेरै होटलले सस्तो प्याकेज ल्याएका छन्। सामान्य अवस्थामा भन्दा अहिलेको प्याकेज ५० प्रतिशतसम्म सस्तो रहेको व्यवसायीको भनाइ छ। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेका होटल पछिल्लो समय खुल्न थालेका छन्। संक्रमणबीच पनि दसैंको सेरोफेरोमा आन्तरिक पाहुना आउने अपेक्षासहित होटलले प्याकेज सार्वजनिक गरिरहेका छन्। लकडाउन र निषेधाज्ञाका बेला बन्द होटललाई केही चलायमान बनाउन सस्तोमा भए पनि पाहुना तान्ने योजना व्यवसायीले बनाएका छन्।
व्यवसायी भन्छन्, ‘कोरोनाको त्रास जारी रहँदारहँदै पनि दसैंको निहुँमा केही आन्तरिक पाहुना आउने अपेक्षा छ। अहिलेको अप्ठेरोमा महँगो शुल्क तिरेर मान्छे आउँदैन। त्यसैले सस्तोमा प्याकेज ल्याइएको छ।’
‘कोरोना बाहेकको समयमा यो प्याकेजलाई झन्डै दोब्बर पथ्र्यो। यसले आन्तरिक पाहुनालाई थोरै भए पनि आकर्षण गर्नेछ,’ ल्यान्डमार्कका सञ्चालक ओम पाण्डेले भने, ‘यो बेला व्यापार चलायमान बनाउन पनि चाहेका हौं। प्याकेज सार्वजनिक भएपछि सोधपुछ बढेको छ।’
कोरोना महामारीका कारण लामो समय घरभित्रै थुनिएका नागरिक यो बेला जसोतसो घुमघाममा निस्कने सम्भावना रहेकोले पनि सस्तो प्याकेज ल्याएको उनले बताए।
सांग्रिलाका आवासीय म्यानेजर गुप्त गिरीका अनुसार सांग्रिलाले दसैंका लागि अझै फरक प्याकेज ल्याउने तयारी थालेको छ।
अघिल्ला वर्ष पनि दसैंको बेलामा यहाँका पर्यटन व्यवसायीले प्याकेज त ल्याउँथे। तर यो बेला पर्यटकीय सिजन पर्ने र विदेशी पर्यटक पनि पर्याप्त हुने तथा आन्तरिकको आगमन पनि बढ्ने हुँदा प्याकेज अहिले जस्तो सस्तो हुँदैनथ्यो।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन कम आय भएका पाहुनालाई तान्ने गरी सस्तो दरमा प्याकेज आएको बताउँछन्।
उनका अनुसार पोखराका ठूला होटलले अहिले ल्याएको प्याकेज अरु बेलाको भन्दा झन्डै ५० प्रतिशतसम्म सस्तो छ। ‘सुरक्षित रुपमा घुम्न पाउने हो भने यो बेला पाहुनालाई निकै नै सस्तो पर्छ। तर अवस्था सहज छैन। तैपनि निजी सवारीमा आएर होटलमा बस्न सक्छन्,’ उनले भने, ‘पोखरा घुम्ने अवसर पनि हो। नयाँ ग्राहकलाई यो प्याकेजले आकर्षित गर्न सक्छ।’
प्रकाशित: २५ आश्विन २०७७ ०२:२६ आइतबार