coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वायुसेवा निगमको जिम्मेवारी पौडेललाई

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धमा नियुक्त गरेको हो। पौडेलले चारवर्षे कार्यकालका लागि सरकारले आफूलाई जिम्मेवारी दिएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रसहित सम्भवतः सोमबार पदभार सम्हाल्ने बताए।

गत साउनमा सरकारले निगममा सुधार ल्याउन भन्दै सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। त्यो समय भर्खरै पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका पर्यटनमन्त्री योगेशकुमार भट्टराईले निगममा समग्र सुधार ल्याउनेगरी आवश्यक सुझाव दिन हाल निगमको कार्यकारी अध्यक्ष रहेका पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठित समितिमा पौडेल सञ्चालक सदस्य नियुक्त भएका थिए।

उक्त समितिमा व्यवस्थापन विज्ञ पौडेल, चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, विमानचालक सुधीर शमशेर राई र सदस्य सचिवका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। २०७६ जेठमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आफ्नो कार्यकाल सकेर राजीनामा दिएयता महाप्रबन्धकको पद रिक्त थियो। २०७५ भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रूपमा निगममा भित्रिएका मदन खरेल पनि निगमलाइ उचाइ दिन नसकेको भन्दै राजीनामा दिएर त्यही रातिको उडानमार्फत अस्ट्रेलिया लागेका थिए।

त्यसपछि सरकारले पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई वैशाख २ गते कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको थियो। घिमिरे अब निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारीमा रहनेछन् र भने महाप्रबन्धकको जिम्मेवारीमा पौडेल नियुक्त भएका हुन्।

चार्टर्ड एकाउन्टेन्ट, व्यवस्थापन विज्ञ रहेका पौडेल पर्यटनमन्त्री भट्टराईनिकट मानिन्छन्। करिब महिना दिनपहिलेदेखि निगमको नेतृत्वमा आउने चर्चा चलिरहेका पौडेललाई मन्त्री भट्टराईकै सिफारिसमा जिम्मेवारीमा लगिएको निगम स्रोतको भनाइ छ। पर्यटनमन्त्री भट्टराई तत्कालीन एमाले प्रचार विभाग प्रमुख रहँदा पौडेल सदस्य थिए। पौडेल तत्कालीन एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नवलपरासी जिल्ला अध्यक्षसमेत भएका थिए।

युकेबाट चार्टर्ड एकाउन्टेन्ट (एसिसिए) को अध्ययन सकाएका उनी यसअघि चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताललगायत संस्थाका प्रमुख जिम्मेवारीमा थिए। बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिजका सिइओसमेत रहेका पौडेल निगमको महाप्रबन्धक हुने पक्का भएसँगै उक्त समुहबाट बाहिरिएका थिए।

नागरिकसँगको कुराकानीमा पौडेलले जिम्मेवारीसँगै आन्तरिक उडानमा घाटा बेहोरिरहेको निगमलाई नाफामा लैजाने दायित्व आएको बताए। उनले यसअघिको नेतृत्वलाई लाग्दै आएका उचित गन्तव्यमा जहाज उडाउन नसकेको, व्यक्तिगत स्वार्थमा लागेको, आन्तरिक बजारको हिस्सा बढाउन नसकेको तथा निगमको ऋण तिर्न नसकेको जस्ता आरोप पछिल्लो तीन महिना सञ्चालक समितिमा रहँदा आफूले पहिल्याएको र ती समस्यालाई चिर्दै अगाडि बढ्ने जनाएका छन्।

निगमको व्यावसायिक कार्ययोजना र त्यसको कार्यान्वयन, प्राविधिक क्षमताको विकास, जहाजको व्यवस्थापनसहित निगमको घाटालाई समेत निस्तेज गर्नेगरी जिम्मेवारी पूरा गर्ने उनले बताए। त्यसो त निगमको वित्तीय सुधार, जहाज किन्दा लागेको ऋण , ऋणको ब्याज तथा घाटाको गन्तव्यमा रहेका उडानलाई अनुपात विश्लेषण गरेर नयाँ र नाफामूलक गन्तव्यमा उडानको जिम्मेवारी पौडेलसामु रहेको छ।

निगमभित्रको व्यवस्थापकीय सुधार, संस्थागत सुधार, गन्तव्य विश्लेषण र व्यवस्थापन, विमान व्यवस्थापन, बजार व्यवस्थापन, मानव स्रोत व्यवस्थापन, सुशासन र गोपनीयतामा सुधार तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार ल्याउनु पौडेलसामु रहेका अन्य चुनौती हुन्।

त्यस्तै, चिनियाँ जहाजको व्यवस्थापन, भूगोल सुहाउँदा जहाज खरिद, बजार प्रवद्र्धनका लागि निश्चित योजना, पाइलटको अभाव हुन नदिन तालिम तथा सीप विकासका योजना, निगमभित्रको अनावश्यक खर्च कटौती, सम्पत्ति तथा दायित्वको मूल्यांकनलगायत समस्यासमेत निगमभित्र स्पष्ट देखिन्छन्।

प्रकाशित: २४ आश्विन २०७७ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App