विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन (साउथ एसिया इकोनोमिक फोकस) का अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा, पु-याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ।
बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेट अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ, जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियाली चरम गरीबीमा धकेलिँदै छन्।
पछिल्ला पाँच वर्षमा लगातार ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको वार्षिक आर्थिक वृद्धिदर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन सहित यस प्रतिवेदनले दक्षिण एसियाभर अपेक्षाभन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ। सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान छ।
‘जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रतिव्यक्ति आय सन् २०१९ मा अनुमान गरिएभन्दा ६ प्रतिशतले कम रहनेछ,’ विश्व बैंकले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति गर्ने छैन भन्ने यसले संकेत गर्दछ।’
अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए। तर यसपालिको अर्थिक मन्दी फरक छ, किनभने निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एसियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक हो, १० प्रतिशतले घट्ने छ जसका कारण गरिबीको दर बढ्नेछ। विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय स्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ।
‘यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने। ‘उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नका लागि शीघ्र कार्य आवश्यक छ। साथै, भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तीय पहुँचलाई बढावा दिँदै द्रुत गतिमा पुनर्लाभ प्राप्त गर्नका लागि लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक छ।’
प्रकाशित: २३ आश्विन २०७७ ०५:२२ शुक्रबार