coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सवा २३ प्रतिशतले घट्यो आयात

भारतको कोलकातास्थित बन्दरगाह । तस्बिर: रितेश/नागरिक

समुद्रपारका देशबाट हुने नेपालको व्यापार घटेको छ । सामान्य अवस्थाभन्दा आयातमा अहिले २३.२३ प्रतिशतले कमी आएको तथ्यांक छ । कोरोना संक्रमण फैलिन थालेपछि विश्वभर अर्थतन्त्रमा परेको असर नेपालको समुद्रपारीको व्यापारमा पनि देखिएको हो । प्रतिवर्ष औसत २० प्रतिशतले बढिरहेको समुद्रपारीबाट हुने कन्टेनर बन्द सामान आयातमा यसपालि भने २३.२३ प्रतिशतले कमी आएको छ । अनुमानित वृद्धिलाई समेत जोडेर हेर्दा त्यसको भन्दा यसपालि ४० प्रतिशत अधिक व्यापार खस्केको छ ।  

विदेशबाट मालवस्तु बोकेर नेपाल आउने कन्टेनरको संख्या ५ वर्षयता लगातार बढ्दै आएको थियो । सन् २०१५ मा विदेशबाट नेपालका लागि मात्र ५३ हजार कन्टेनर आएको थियो । २०१९ सम्म आइपुग्दा लगातार वृद्धि हुँदै यो संख्या करिब एक लाख पुग्यो । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको भारतको कोलकातास्थित कार्यलयका प्रमुख लक्ष्मण खड्काले बन्दाबन्दी सुरु भएयता समुद्रपारबाट आउने कन्टेनर कार्गो पोहोरभन्दा घटेको बताए । इस्वीको चालु वर्ष २०२०÷०२१ को अप्रिलदेखि अगस्तसम्म तेस्रो मुलुकबाट मालसामान लिएर समुद्री मार्ग हुँदै ३१ हजार ८ सय ५१ कन्टेनर (२० फिट एकाइमा) आएका छन् । पोहोर यही अवधिमा ४१ हजार ४ सय ८६ कन्टेनर भित्रिएका थिए ।  

यसपालि आयात भएको कन्टेनर पोहोरको तुलनामा ७६.७७ प्रतिशत मात्र हो अर्थात २३.२३ प्रतिशत घटी । भारतको पश्चिम बंगाल प्रान्तस्थित कोलकाता बन्दरगाह र आन्ध्र प्रदेशको विशाखापटनम् बन्दरगाहबाट कन्टेनर कार्गो आउने गरेको छ । कोरोना नियन्त्रणका लागि नेपालमा गत चैत ११ मा सुरु बन्दाबन्दी साउन ७ सम्म–– झण्डै चार महिना कायम रह्यो । त्यतिबेला विश्वका धेरै देशमा पनि बन्दाबन्दी थियो । साउन ७ मा नेपालमा बन्दाबन्दी सकिएको तीन दिन नबित्दै नेपालको प्रमुख व्यापारिक नाका वीरगन्जमा निषेधाज्ञा सुरु भएर ५० दिन नाघेको छ ।  

यसबीचमा देशको सबैभन्दा ठूलो बजार रहेको उपत्यकाका काठमाडौं महानगरपालिका, ललितपुर र भक्तपुर उपमहानगरपालिकामा आवतजावत नियन्त्रित रह्यो । अन्य सहरमा पनि आवतजावत र बजार तथा उद्योगधन्दा प्रभावित नै रह्यो । जसले गर्दा व्यापार पनि प्रभावित भएको आयातकर्ता व्यापारीको विश्लेषण छ । उनीहरूले भनेजस्तै यसबीचमा नेपालको वैदेशिक व्यापार उल्लेखनीय मात्रामा घटेको तथ्यांकले देखाउँछ । ‘औद्योगिक उत्पादन घट्दा कच्चा पदार्थको रूपमा आयात हुने वस्तुको आयात घटेको सहजै अनुमान गर्न सकिन्छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहेका उद्योगी गणेश लाठले भने, ‘अन्य उपभोग्य वस्तुको बजार पनि एक्कासि खुम्चिएपछि तेस्रो मुलुकबाट हुने आयात घटेको हो ।’ अहिले औसत रूपमा दैनिक करिब सवा दुई सय कन्टेनर नेपाल भित्रिएको तथ्यांक छ । पोहोर यस्तो बेला करिब तीन सय कन्टेनर नेपाल भित्रिरहेका थिए ।  

‘उद्योग, बजार र यातायात ठप्प छ । मानिसलाई नभई नहुने आवश्यक सामान मात्र किनिरहेका छन्, खर्च गर्नका लागि स्रोत छैन । अधिकांश उद्योगले उत्पादन घटाएका छन् भने अन्य उपभोग्य वस्तुको मागसमेत घटेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले भने, ‘अहिले आएर बजार र यातायात खुलेको छ, कोरोना संक्रमण रोक्न सावधानी अपनाएर वा निश्चित नियम लगाएर भए पनि सबै उद्योग र व्यापार व्यवसाय सुचारु ग्र्न सरकारले ध्यान दिनुपर्छ । एकपटक व्यापार चक्र पुनः चलिहाल्यो भने त्यसबाट आफैं पनि आर्थिक गतिविधिमा सुधार आउने छ ।’

प्रकाशित: २१ आश्विन २०७७ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App