८ वैशाख २०८१ शनिबार
अर्थ

विशाल ग्रुपको बदमासी: खाद्यवस्तुसँगै डन्डी पनि गुणस्तरहीन

पछिल्लो समय विवादमा आएको व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सले उत्पादन गरेको डन्डी पनि गुणस्तरहीन भेटिएको छ। म्याद गुज्रेका खाद्यवस्तु रि–लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको विशाल ग्रुपकै कम्पनी कमला रोलिङले मापदण्डविपरीतका डन्डी उत्पादन गरेर बेचेको भेटेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। कमला रोलिङको एफई ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएम डन्डीमा केमिकलको मात्रा बढी भेटिएको छ।

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘तोकिएको मापदण्डविपरस्त डन्डी उत्पादन गरेको भेटिएपछि उत्पादन रोक्न निर्देशन दिएका छौं,’ पुडासैनीले भने, ‘उद्योगलाई कानुनबमोजिम कारबाही गर्छौं।’

कमला रोलिङ मिल्सबाट उत्पादित डन्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६ प्रतिशत ,फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुने पर्नेमा ०.०५९ प्रतिशत, सल्फर तथा फस्फोरसको मात्रा ०.१०५ प्रतिशत हुनुपर्नेमा ०.११९ प्रतिशत रहेको भेटिएको विभागले जनाएको छ। सल्फरको मात्रा बढी हुँदा रड कडा बन्छ। रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ।

कमलाले उत्पादन गरेको डन्डीको गुणस्तरका विषयमा प्रश्न उठेपछि विभागले प्रयोगशालामा परीक्षण गरेको थियो। विभागले बजारान पठाएको डन्डी पनि फिर्ता ल्याउन आदेश दिएको छ। उत्पादन नेपाल गुणस्तर (प्रमाण चिह्न) अनुरुप नरहेकाले नियमावली २०४० को नियम १६ अनुसार कारबाही अघि बढाएको विभागका उपमहानिर्देशक दिनानाथ मिश्रले उद्योगलाई पठाएको पत्रमा उल्लेख छ।

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन भएको छ।

डन्डीमात्र नभएर विशाल ग्रुपले प्रवद्र्धन गरेका खाद्यवस्तु पनि मिति गुज्रिएपछि पुनः मिति थप गरेर बजारमा पठाई गम्भीर अपराध गरेको भेटिएको छ। विशाल ग्रुपले आयात गरेका बिस्कुट, चिप्स, चकलेटलगायतका वस्तु म्याद सकिए पनि पुनः म्याद थपेर बिक्री गर्ने गरेको भेटिएको छ।

प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले म्याद सकिएका वस्तु रिलेबलिङ गरेर बिक्री गरेको भेटेपछि शुक्रबार आठजनालाई पक्राउ गरेको थियो। म्याद सकिएका सामानमा पुनः म्याद राखेर बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए। ती सामान आयन डिस्ट्रिब्युटरले विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर र लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको अनुसन्धानमा देखिएको छ। यसमा विशाल ग्रुपको संलग्नता देखिएको छ। स्निकर्स, ओरियो बिस्कुट, प्रिंगल्सलगायतका सामान विशाल ग्रुपले आयात गरेर बिक्री गर्दै आएको छ।

अखाद्य वस्तु बिक्रीमा समूहको नाम जोडिएपछि विशालले ध्यानाकर्षण भएको सूचना जारी गर्दै आफ्नो संलग्नता नरहेको प्रस्टीकरण दिने प्रयास गरेको थियो। बरामद भएका खाद्य वस्तु विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित भएको भने उसले स्वीकार गरेको छ।

म्याद नाघेको वस्तु उपभोग गर्दा विभिन्न प्रकारका रोग लाग्नुका साथै कलेजोमा पनि असर पुग्ने चिकित्सक बताउँछन्। मानव स्वास्थ्यमा असर पर्ने खाद्यवस्तु उत्पादन तथा बिक्री गर्नेलाई विदेशी मुलुकमा कडा कारबाही भए पनि नेपालमा सामान्य नसिहत दिएर छोड्दा यस्ता गतिविधिमा संलग्नको मनोबल बढेको छ।

प्रहरीले रि–लेबलिङ गर्ने मेसिनसहित आठजनालाई शुक्रबार नियन्त्रण लिएको भए पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सातजनालाई आइतबार छाडेको छ। मुख्य आरोपितलाई थुनामा राखेर एकजनालाई एक करोड धरौटी र ६ जनालाई तारेखमा छाडेको विभागका प्रवक्ता आचार्यले बताए। आचार्यका अनुसार आयन इन्टरनेसनलका रौनक बोथ्रा थुनामा छन्। पुष्पादेवी अग्रवाललाई एक करोड बैंक ग्यारेन्टी राखेर छाडिएको छ। मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सीताराम उपरकोटी र दिलिप थापामगरलाई तारेखमा छाडिएको छ।

प्रकाशित: १९ आश्विन २०७७ ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App