रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ । चीनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नाकामा काम गर्ने चालक र कामदारको पिसिआर गर्न लागेको हो ।
आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको थियो । तर नेपालमा प्रत्येक साता पिसिआर गर्ने मापदण्ड नभएको र कठिन हुने भएपछि चीनले आफैंले पिसिआर गरिदिने प्रतिबद्धता जनाएको हो ।
यसअघि चिनियाँ सवारीले मितेरी पुलमा सामग्री झार्दै आएकोमा आइतबारदेखि नेपाली भूभागमा नै सामग्री झार्ने तयारी गरेको छ । यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम गरिरहेको छ । चिनियाँ पक्षले नेपालमा नै सामग्री ल्याएर झार्ने र आयात बढाउने बताएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।
रसुवागढी नाकाबाट बिहीबारदेखि आयात सुरु भएको थियो । कोभिड–१९ कारण पटकपटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गरेको छ भने निर्यातका लागि अनुमति नै दिएको छैन । चिनियाँ सामग्री समयमा नै ल्याउन नसक्दा अहिले ल्हासा, सिगात्से, पाङसिङलगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री थन्किएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ । कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन् ।
मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ । चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ । अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।
प्रकाशित: १७ आश्विन २०७७ ०३:०९ शनिबार