५ वैशाख २०८१ बुधबार
अर्थ

रेल्वे कम्पनीमा १२९ कर्मचारी माग्दा ३२ हजार माथि आवेदन

नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल चलाउन आवश्यक कर्मचार माग गर्दा दुई सय ४९ गुणाभन्दा धेरै आवेदन फारम परेको छ। कम्पनीले २९ पदमा एक सय २९ कर्मचारी नियुक्त दरखास्त माग गरेकोमा ३२ हजार दुई सय २५ जनाले फारम भरेका छन्। कम्पनीले गत भदौ २७ गतेदेखि आवेदन खुलाएको थियो। फारम बुझाउने अन्तिम म्याद असोज १२ गतेसम्म थियो।  

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले १२९ कर्मचारी माग गरेकोमा ३२ हजार दुई सय २५ जनाले दरखास्त दिएको बताए। ‘कोभिड १९ को कारणले बेरोजगारी बढेकाले अत्यधिक मात्रामा आवेदन परेको छ,’ उनले भने, ‘सर्ट लिस्टिङ गर्न मात्रै एक साता लाग्ने देखिन्छ।’  

कम्पनीले कुन पदमा कति आवदेन प¥यो भन्ने विषयमा अहिले नै भन्न नसकिने जनाएको छ। कम्पनीका महाप्रबन्धक भट्टराईले सोर्सफोर्सको आधारमा भन्दा पनि मेरिट लिस्टको आधारमा करारका कर्मचारी नियुक्त गरिने दाबी गरे।

‘करारमा कर्मचारी जिएम, मन्त्री, सांसद, नेताले भनेपछि फटाफट नियुक्त हुन्छ भन्ने विश्वास छ। कृपया यस्तो भ्रम नराख्नु होला,’ उनले भने, ‘सरकारले स्वीकृत गरेको विधि अनुरूप शैक्षिक योग्यताका आधारमा आवश्यक संख्याभन्दा तीन गुणा बढीको नाम मेरिटका आधारमा प्रकाशित हुन्छ। मेरिटमा आएका उम्मेदवारसँग अन्तर्वार्ता लिएपछि उत्कृष्टको अन्तिम नामावली प्रकाशित हुन्छ।’  

महाप्रबन्धक भट्टराईले कसैको दबाब र प्रभावमा परेर करारका कर्मचारी नियुक्त नगर्ने बताए। ‘चिनेकै आधारमा, नाता परेका कारण, माथिबाट दबाब आएका कारण छनोट हुने र नियुक्ति पाइने हल्लाको पछाडि कोही नलाग्नु होला,’ महाप्रबन्धक भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘कुनै पनि विधि मिचेर, कसैको योग्यता मिचेर, चिनजान, नातागोताको आधारमा छनोट हुन सक्ने हल्ला र विश्वास काम लाग्दैन। त्यसैले सन्देह गर्नु पर्दैन। कम से कम मैले यसो गर्न त झन् मिल्दै मिल्दैन। म कसैको भनसुन, सोर्स फोर्स सुन्ने मान्छै होइन, र सुन्दिन पनि। यति कुरामा सबै विश्वस्त भए हुन्छ।’ महाप्रबन्धक भट्टराईले सम्भवतः दसैंअघि नै करारका कर्मचारी नियुक्तिको सम्पूर्ण प्रक्रिया टुंग्याइने बताए।  

महाप्रबन्धक भट्टराईले भारतबाट २६ रेल कर्मचारी ल्याउने प्रक्रिया पनि अघि बढिसकेको बताए। ‘कन्कड रेल्वे कम्पनीले केही समयभित्रै कर्मचारीसम्बन्धी प्रस्ताव पठाउने भनेको छ,’ उनले भने, ‘उनीहरूले पठाएको प्रस्तावमा आवश्यक निर्णय गरेर टुंगो लगाउनेछौं।’

रेल सञ्चालन हुने अझै टुंगो लागेन

नेपाल र भारत दुवै मुलुकमा कोरोना संक्रमण तीव्र भएकाले यो रेल तत्कालै सञ्चालन नहुने भएको छ। जनकपुर–जयनगर गुड्ने रेल तयार भएर नेपाल आइसके पनि दुवै मुलुकको सीमा कोभिड १९ को कारण बन्द गएकाले तत्कालै चलाउन सम्भव छैन। कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वेको परीक्षण भए पनि कोरोनाभाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताए। ‘कोरोना भाइरस केही हदसम्म नियन्त्रणमा आएपछि रेल सेवा सञ्चालनमा ल्याउनेछौं,’ उनले भने, ‘अझै एक–दुई महिना रेल चलाउन सकिँदैन होला।’ यो रेलको १३ सय यात्रु ओसार्ने क्षमता छ। तर एकैपटक यात्रु चढ्दा भने सात सय मात्रै चढ्न मिल्छ। सरकारले दुईवटा रेल करिब ८४ करोड रूपैयाँमा खरिद गरेको हो।  

अध्यादेश ल्याएर भए पनि रेल सञ्चालन गरिने  

कोभिड १९ केही हदसम्म नियन्त्रण भएर दुवै मुलुकको सीमा खुलेको खण्डमा रेल सञ्चालनमा कानुनले कुनै अवरोध नहुने उनको भनाइ छ। महाप्रबन्धक भट्टराईले रेल सरकारको उच्च प्रथामिकतामा भएकाले कानुन बन्ने उनले बताए। ‘कानुन अभावमा यो रेल कुनै पनि हालतमा रोकिँदैन,’ उनले भने, ‘सरकारले अध्यादेशमार्फत कानुन ल्याएर भए पनि सञ्चालन गर्नेछ।’ भारतीय कम्पनीले असोज २ गते जयनगर–जनकपुर रेल्वेको परीक्षण गरेको थियो। सो रेल पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरमा चल्नेछ। कुर्थादेखि डिजेलपुरा महोत्तरीसम्म थप १७ किलोमिटर लिक बनिरहेको छ। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिवास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले रेलमार्ग निर्माण गरिरहेको छ।

 

प्रकाशित: १५ आश्विन २०७७ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App