६ चैत्र २०८० मंगलबार
अर्थ

मकै जोनले २ करोड १० लाखको कृषि कार्यक्रम गर्दै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सहभागीहरु । तस्बिर : नागरिक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्ष २ करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरोकारवालासँगको समन्वय बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने जानकारी दिए । 

कम्तीमा दुई सय रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहनका कार्यक्रम ल्याइएको परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा बरिष्ठ कृषि अधिकृत डा. अर्यालले चक्लाबन्दीमा पकेट/ब्लक/जोन सञ्चालनका लागि सहकारी र निजी क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट बिनियोजन भएको जानकारी दिए ।  

यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा बीउ श्रेत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथमिक प्रशोधन वा प्रशोधन उदोग स्थापनाका लागि २० लाख, बसन्ते मकैको क्षेत्रफल बिस्तारका लागि १० लाख, हिउँदे मकै क्षेत्र विस्तारका लागि ५ लाख, स्वदेशी हाइब्रिड मकै प्रदर्शनका लागि १ लाख २५ हजार बजेट विनियोजन गरिएको जानकारी दिइएको छ । जोन कृषि यन्त्रीकरण सहयोगका लागि २५ लाख, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक उत्पादन कार्यक्रम सञ्चालन अनुदानका लागि १० लाख र गत वर्ष बिस्तार भएको क्षेत्र र नयाँ विस्तार हुने क्षेत्रमा सिँचाई पुर्वाधार निर्माणका लागि ६० लाख बजेट खर्च गरिने डा. अर्यालले जानकारी दिए ।  

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायीक, दिगो एबं आत्मनिर्भर कृषि क्षेत्रको बिकासको नारा बोकेको मकै जोन जिल्लामा २०७३ साल मंसिरदेखि सञ्चालनमा ल्याइएको हो । हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडा र हलेसी तुवाचुङ नगरपालिकाका ६ वडामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमले ओगटेको क्षेत्रमा सुरुका वर्ष १.९ टन प्रतिहेक्टर मकै उत्पादन भएको ठाउँमा कार्यक्रमपछि गत वर्ष मकैको उत्पादकत्व ३.४७ टन प्रतिहेक्टर पुगेको डा. अर्यालले बताए । मकै जोनमा हाल १३४ कृषक समुह, १३ वटा सहकारी, ७३ उद्यमी तथा २ हजार ९१५ जना किसान सहभागी सहभागी छन् ।  

कार्यक्रममा सहकारीले मकै जोन अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा बाँडिएको मकैले उत्पादन नदिएको, दिक्तेलमै किसान भरत राईले ९ वटा प्लाष्टिक टनेलमा लगाएको गोलबेँडा नफलेको गुनासो गरेका छन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर रिजाल, उपमेयर बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, वडाध्यक्ष माधव राई लगायतले परियोजनाका विषयमा धारणा राखेका थिए ।

प्रकाशित: १४ आश्विन २०७७ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App