७ वैशाख २०८१ शुक्रबार
अर्थ

उत्तरका दुवै नाका खुल्ने

पहिलो चरणमा रोकिएका कन्टेनर भित्रने

तातोपानी नाका। फाइल तस्बिर: नागरिक

बन्द रहेको रसुवागढी र तातोपानी नाका खोल्न चीन सहमत भएको छ । नेपाल र चीनका अधिकारीबीच मंगलबार भएको भर्चुअल वार्तामा कोभिड–१९ को संक्रमणबाट बच्ने उपाय अपनाएर नाका सुचारु गर्ने सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

तातोपानीस्थित मितेरी पुलमा पनि मंगलबारै दुवै देशका स्थानीय अधिकारीबीच पनि नाका खोल्ने विषयमा छलफल भएको छ । दुई देशबीचको व्यापार सहजीकरण गर्न बनेको ज्वाइन्ट वर्किङ ग्रुपको छलफलमा भएको सहमति अनुसार तातोपानी नाका असोज १९ गतेबाट र रसुवागढी स्थानीय अधिकारीबीच थप छलफलपछि खुल्नेछ ।  

नाका खोलेर रोकिएका सामान छिटो पठाउन अनुरोध गरेको वार्ताको नेतृत्व गरेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । ‘नाका सुचारु गरेर सामान छोड्न गरेको आग्रहमा चिनियाँ पक्षले सहमति जनाएको छ,’ दाहालले भने, ‘सुरक्षा मापदण्ड अपनाएर दुवै नाका सञ्चालनमा आउँछन् ।’  

दुई देशका सहसचिवस्तरीय सो वार्तामा व्यापार सहजीकरण गर्ने, लगानी बढाउने विषयमा पनि छलफल भएको थियो ।

पहिलो चरणमा रोकिएका कन्टेनर भित्रने  
तातोपानी नाका असोज १९ मा खुलेसँगै बाटोमा अलपत्र कन्टेनरलाई प्राथमिकता दिने सहमति भएको छ । नेपालीले आयात गर्न लागेको सामान लादिएका करिब १२ सय कन्टेनर तिब्बतका विभिन्न ठाउँमा अलपत्र छन् ।  

‘असोज १९ बाट नाका सञ्चालनमा आउने चीनका स्थानीय अधिकारीसँगको बैठकपछि तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । अब नाका पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए । खत्रीका अनुसार नेपाली पक्षले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्नु पर्नेछ ।  

गत असार २५ गतेको बाढीपहिरोले अरनिको राजमार्गको जम्बु बजार र सडक बगाएपछि तातोपानी नाका बन्द छ । राजमार्ग तत्काल सञ्चालनमा ल्याइए पनि नाका बन्द नै छ । त्यही बेला तिब्बतस्थित ताल फुट्ने खतरा रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गरेको हो ।  

ताल फुट्ने कुरा बहाना मात्रै रहेको नेपाली पक्षको बुझाइ छ । ‘ताल बाहिरी कारण मात्र थियो । खासमा नेपालमा बढ्दो कोभिड–१९ को संक्रमणको कारण चीन तत्काल नाका खोल्न हच्किएको थियो,’ भन्सार स्रोतले भन्यो । बैठकमा चिनियाँ अधिकारीले राखेको एउटा सर्तले पनि यही पुष्टि गर्छ । उनीहरूले व्यापारिक कारोबार सञ्चालनमा आएपछि नाकामा कोरोना नियन्त्रण गर्नुपर्ने सर्त राखेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।  

उनका अनुसार चीनकै अनुरोधमा सामान लोड/अनलोड गर्ने २५ नेपाली मजदुर र चालकको चार दिनअघि मात्र पिसिआर परीक्षण गरिएको छ । सबैको नतिजा नेगेटिभ आएपछि चिनियाँ अधिकारी नाका खुल्ने सन्देश दिन आएका थिए । बैठकको सहमति अनुसार सामान लोड गर्ने मजदुर र चालक गरी थप २९ जनाको अर्को समूह तैनाथ गरिनेछ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुई समूहले सिफ्टमा काम गर्ने ढकालले जनाए । 

प्रकाशित: १४ आश्विन २०७७ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App