७ वैशाख २०८१ शुक्रबार
अर्थ

विदेशी पर्यटकसामु महंगा सर्त

कोरोना भाइरस संक्रमण बढिरहँदा सरकारले आगामि  एकदेखि पदयात्रा र पर्वतारोहणमा मात्र विदेशी पर्यटकलाई नेपाल आउन अनुमति त दिएको छ। तर, नेपाल भित्रिने ती पर्यटकले सरकारको महंगा सर्त पालना गर्नुपर्ने भएको छ। सरकारका ती सर्त पुरा गर्दा विदेशी पर्यटकको नेपाल बसाई अवधि निकै नै महंगो पर्न जाने पर्यटन व्यवसायीले बताएका छन्। सरकारी सर्त पालना गर्नेगरि विदेशी पर्यटक नेपाल आउने सम्भावना नरहेको व्यवसायीको भनाई छ।  

पर्यटन मन्त्रालयले हालै जारि गरेको पदयात्रा तथा पर्वतारोहण सम्बन्धी सर्त अनुसार नेपाल भित्रिएका पर्यटकले  बढीमा ७२ घण्टा अगाडि कोरोनाको पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट भएको प्रमाण पेश गर्नुपर्नेछ। ती पर्यटक नेपाल भित्रिएपछि कम्तिमा ७ दिन क्वारेन्टिनमा रहनेगरि होटल बुकिङ गरेको हुनुपर्ने प्रावधान तोकिएको छ। त्यस्तै कोरोना सम्बन्धि प्रयोजनका लागि कम्तिमा प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा गरिएको हुनुपर्ने उल्लेख छ। त्यसैगरि नेपाल प्रवेश गरेपछि न्यूनतम ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने अनिवार्य पनि सरकारले गरेको छ।  

होटलमा क्वारेन्टिन बसेको पाँचौ दिन पर्यटककै खर्चमा पीसीआर परीक्षण गर्नुपर्नेछ। परीक्षण पछि नेगेटिभ रिपोर्ट आएमा मात्र पदयात्रामा जान पाउनेछन्। केहीगरि पोजेटिभ रिपोर्ट आएमा थप अवधि क्वारेन्टिनमा बस्नुपर्नेछ। त्यसबाहेक पदयात्रा वा पर्वतारोहणमा जाने नेपाली सहयोगीको पनि प्रतिव्यक्ति एकलाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ।  

–७२ घण्टा अगाडिको पीसीआर नेगेटिभ रिपोर्ट चाहिने

–कम्तिमा ७ दिन क्वारेन्टिनमा रहनेगरि होटल बुकिङ गर्नुपर्ने  

–प्रतिव्यक्ति ५ हजार अमेरिकी डलर बराबरको बीमा चाहिने

–होटल क्वारेन्टिन अनिवार्य  

–आफ्नै खर्चमा नेपालमै पीसीआर गर्नुपर्ने  

व्यवसायीले भने सरकारले तोकेका यी सर्त पर्यटकका लागि महंगो सावित हुने बताएका छन्। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका उपाध्यक्ष सुशील पौडेलले सरकारले तोकेको सर्तले सोचे अनुसार आगमन नहुने बताए। यी सर्त पुरा गर्दा पर्यटक आगमनको आकारमा असर पर्ने उनले बताए। ‘७२ घण्टाभित्र नेगेटिभ रिपोर्ट आएका पाहुना मात्र जहाजमा आउने भएपछि उनीहरुलाई एकसाता होटल क्वारेन्टिनमा राख्दा ती पर्यटक महंगोमा पर्नेछन,’ पौडेलले भने, ‘एकसातासम्म होटलमा बस्नुपर्ने भएपछि पर्यटकले घुमघामलाई अस्वीकार गर्न सक्छन्। होटलको महंगो खर्चले आर्थिक भार पार्नेछ।’

अहिले विदेश पर्यटकको नेपाल बसाई अवधि औषतमा दुइसाता भएकोले होटलमै एकसाता बिताउनेगरि पर्यटक आउने सम्भावना नभएको पौडेलले बताए। ‘अहिलेसम्म विदेशीको नेपाल बसाई अवधि औषतमा दुईसाता हो। एकसातासम्म होटलको क्वारेन्टिनमा बसेर खानुपरेपछि उनीहरुको घुमघाम नहुनसक्छ। कम समय भएका पाहुना आउनै पाउँदैनन।’ एकसाता क्वारेन्टिन बस्दा आधा समय सकिने भएपछि उनीहरु लामो दुरीको गन्तव्यमा जान नपाउने पनि पौडेलले बताए। ‘नेपाल घुमघामका लागि समय अभाव हुने भएपछि ती पर्यटक अन्यत्र डाइभर्ट हुनसक्छन्,’ उनले भने।  

एकसातासम्म होटलमा बस्नुपर्दा पर्यटकले अतिरिक्त खर्च बेहोर्नुपर्ने भएपछि महंगो पर्ने उनले बताए। ‘होटल क्वारेन्टिन आवश्यक छैन। बरु पिसिआर छिटो गरिदिनुपर्छ। बिमानस्थलमै पिसिआर गरिदिएर छिटो रिजल्ट दिने हो भने सहज हुन्छ,’ उनले भने, ‘होटल बसाई र पिसिआर गर्दा दोहोरो मारमा पर्यटक पर्छन।’ नेपाल आउने विदेशी पर्यटक सुत्नका लागि नभई गन्तव्यको प्रकृतिमा रम्न आउने भएकोले उनीहरुलाइ त्यही अनुसार माहोल बनाइदिनुपर्ने उनले बताए। ‘जति नै विकसित मुलुकका पाहुना आएपनि उनीहरु नेपालका होटलमा बस्न आउने होईनन। टेन्टमा सुत्न आउने पर्यटक होटलमा बस्न रुचाउँदैनन,’ उनले भने, ‘जतिसक्दो बढी समय उनीहरुलाइ दुर्गमको पर्यटकीय क्षेत्रमा पु¥याउन सक्नुपर्छ। त्यसो भयो भने मात्र पर्यटकबाट लाभ पाउन सकिन्छ।’

अर्का पर्यटन व्यवसायी टिकाराम सापकोटा पनि पीसीआर नेगेटिभ भएकालाई एकसाता होटल क्वारेन्टिनमा राख्न जरुरी नभएको बताउँछन्। ‘७२ घण्टाभित्रैको नेगेटिभ रिपोर्ट लिएर भित्रिने भएकोले ती पर्यटकलाई क्वारेन्टिन अनिवार्य गर्नु हुँदैन,’ सापकोटाले भने, ‘सबैजसो मुलुकले अहिले हवाईजहाजमा यात्रु चढाउँदा पीसीआर नेगेटिभ रिपोर्ट खोज्ने भएकोले जहाजभर एकैखालका यात्रु हँुदा संक्रमणको त्रास नहुन सक्छ। त्यसैले क्वारेन्टिनमा नराख्दा पनि हुने हाम्रो बुझाई हो।’  

विदेशीको नेपाल बसाई अवधिको औषत १२ दिन भएकोले एकसाता होटलमा बस्दा उनीहरु कुनैपनि गन्तव्यको पदयात्रामा जान नसक्ने सापकोटाले बताए। ‘एकसाता क्वारेन्टिन बसेपछि कति दिन पो घुम्लान। होटलमा बस्दा पनि महंगो पर्छ,’ पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटाले भने, ‘बरु तीनदिनभित्र परीक्षण गर्दा छिटो होला। एकसाता होटलमा थुनिन पर्यटक रुचाउँदैनन्।’ होटलको खर्च बढ्दा नेपाल बसाई अवधि महंगो पर्ने उनले बताए। एकसाता होटलमा बस्दा कम्तिमा ५० हजार रुपैयाँ ती पाहुनाको अतिरिक्त खर्च हुने उनले बताए। त्यसबाहेक पीसीआर शुल्कले पनि थप आर्थिक भार पार्ने उनले बताए।  

‘प्रयाप्त फुर्सद भएका व्यक्ति मात्र आउँछन्। कम समय लिएर आउँदा घुमघाम नै हुँदैन,’ उनले भने, ‘सबैतिरको अप्ठेरोबीच नेपाल आउन खोजेका पाहुना पनि अन्यत्र डाइभर्ट हुनसक्छन।’ जसोतसो भित्रिएका विदेशीको पीसीआर गर्नुपर्दा अतिरिक्त खर्च हुने उनले बताए। ‘होटल र पीसीआरमा केही सहुलियत नदिने हो भने पाहुना आउने अवस्था रहन्न। हाम्रो अपेक्षा अनुसार पाहुना आउँदैनन,’ उनले भने , ‘कोही पनि विदेशी पाहुना झन्झट लिएर घुम्न निस्कदैनन।’  

नेपालमा पदयात्रा खुलेको सन्देश दिन जरुरी भएपनि अहिले पर्यटकका लागि घुमघाम स्वेच्छिक विषय बनेकोले तत्काल घुमफिरमा निस्कने सम्भावना कम रहेको उनले बताए। सापकोटाका अनुसार नेपालमा संक्रमणको गति र घुमफिरको माहोलबारे विदेशी पर्यटकले चाँसो राख्न पनि थालेका छन्। ‘नेपालमा संक्रमण बढ्दो गतिमा भएकोले त्रास छ। संक्रमण एउटा बिन्दुमा पुगेर घट्न थालेमा सहज हुन्थ्यो। तर, हामीकहाँ एक्टिभ संक्रमितको संख्या दिनहुँ थपिँदा त्रास छ,’ उनले भने।

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पनि सरकारी सर्तले पर्यटकको नेपालमा खर्च बढ्ने बताए। ‘मुल्यका हिसाबले सातदिनको होटल बसाई अतिरिक्त हो। विदेशी पर्यटक नेपाल भित्रिएको भोलि वा पर्सिपल्ट गन्तव्यका लागि हिड्न सक्थे। तर सातदिनको होटल बसाई र पिसिआर मुल्य महंगो पर्ने पक्का छ,’ लामिछानेले भने, ‘तर संक्रमणको गति बढिरहेकोले पनि यो तरिका अपनाइएको हो। यसले पर्यटकलाई सुरक्षित घुमघाममा सघाउँछ।’  

यसअघि पनि नेपाल भित्रिदा विदेशी पर्यटकले बिमा गर्ने भएपनि अहिले कोरोना बिमा गर्दा अतिरिक्त भार थपिने पनि उनले बताए। ‘कम्तिमा पर्यटकलाई नेपाल आउने बाटो खुलेको छ। पहिला जाउँ की नजाउँ भन्ने थियो। तर, अब नेपाल आएर पदयात्रामा जान त सकिने अवस्था छ,’ उनले भने, ‘नेपालमा घुमघाम सम्भव छ भनेर सन्देश दिन पनि जरुरी छ। त्यो सन्देश अब विदेशमा फैलनेछ।’ मुल्यका हिसाबले केही महंगो परेपनि त्यसले पर्यटकलाई सुरक्षित घुम्ने माहोल बनाउने उनले बताए।  

 

प्रकाशित: १३ आश्विन २०७७ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App