७ वैशाख २०८१ शुक्रबार
अर्थ

नगर भन्दा गाउँपालिकाको वडामा आकर्षक बजेट

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको केन्द्र याङसोलाटार । तस्बिर : दमन राई/नागरिक

चालु आर्थिक वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा ४० लाखको सिलिङ गएको छ। आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाका १५ वटा वडामध्ये भूगोल र जनसंख्याको आधारमा बुईपालाई सबैभन्दा बढी बजेट गएको हो। बुईपामा पुँजीगततर्फ ३१ लाख ५० हजार र चालुतर्फ ८ लाख ५० हजार बजेट गएको छ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा छुट्टाछुट्टै पुँजीगततर्फ ३० लाख र चालुतर्फ ८ लाख बजेट गएको छ। यो नगरपालिकाको दोश्रो ठूलो बजेट हो। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बराबर पुँजीगततर्फ २७ लाख र चालुतर्फ ८ लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पुँजीगततर्फ २५ लाख ५० हजार र चालुतर्फ ८ लाख बजेट गएको छ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ देखि ९, १३ र १५ मा पुँजीगततर्फ २५ लाख ५० हजार र चालुमा ७ लाख ५० हजार विनियोजन भएको नगरपालिकाले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा करिब ७६ करोड ९० लाख २७ हजार बराबरको वजेट ल्याएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडालाई पुँजीगततर्फ ४ करोड ५० हजार र चालुतर्फ १ करोड १६ लाख बजेट पठाएको पाइएको छ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडामा सबैभन्दा बढि बजेट ४० लाख पठाउँदा जिल्लाकै बराहपोखरी गाउँपालिकाले एउटै वडालाई ७२ लाखसम्म बजेट पठाएको छ। ६ वडा रहेको बराहपोखरी गाउँपालिकामा वडामा पठाइएको सबैभन्दा कम बजेट ४८ लाख छ। हलेसी तुवाचुङ नगरपालिकामा समेत वडालाई गाउँपालिकामाभन्दा कम बजेट दिइएको छ। ११ वडा रहेको नगरपालिकामा कम्तीमा ३५ लाखदेखि बढिमा ४० लाख बजेट पठाइएको मेयर इवन राईले बताए। हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो।  

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीलाई ७२ लाख, बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा ५५ लाख ५० हजार, बराहपोखरी गाउँपालिका–३ साउचेचौंरमा ५० लाख ९५ हजार, बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा ४८ लाख ६० हजार, बराहपोखरी गाउँपालिका–५ पौवासेरामा ५५ लाख र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेलाई ५२ लाख बजेट पठाइएको छ। आर्थिक वर्ष २०७७/०७८ मा २८ करोड ३५ लाख ७९ हजार ५१० प्रस्तुत गरेको बराहपोखरीले वडालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको जनाएको छ। सो गाउँपालिकामा ‘अध्यक्ष ज्यू’ कार्यक्रम वापत १५ लाख र ‘उपाध्यक्ष ज्यू’ कार्यक्रम अन्तरगत १४ लाख विनियोजन गरेको वेवसाईटमा देखिन्छ। अवण्डा नराखी बजेट बिनियोजन गरिएकाले अध्यक्ष र उपाध्यक्षले आफ्नो तजविजमा त्यही कार्यक्रमको रकम मात्र आफ्नो अनुकूल वितरण गर्न पाउने जनाइएको छ।  

यस्तै, ३३ करोड ३० लाख २७ हजार बजेट ल्याएको जन्तेढुंगा गाउँपालिकाले सबै वडालाई ५०/५० लाखका दरले ३ करोड बजेट पठाएको छ। ४८ करोड १८ लाख ३९ हजारको बजेट ल्याएको खोटेहाङ गाउँपालिकाले वडामा कम्तीमा ३३ लाखदेखि बढिमा ५३ लाखसम्म बजेट पठाएको छ। खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा ५१ लाख ९७ हजार ५३६, खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ५० लाख २४ हजार ७३१, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा ४९ लाख ४६ हजार ६१३, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ४४ लाख ९३ हजार ६१०, खोटेहाङ गाउँपालिका–५ चिप्रिङमा ३३ लाख ९५ हजार ११०, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा ५० लाख ३७ हजार ३१७, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा ४५ लाख ५१ हजार ९३९, खोटेहाङ गाउँपालिका–८ सिमपानीमा ५३ लाख १६ हजार ३७२ र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा ४४ लाख ७७ हजार ७२५ बजेट गएको छ।  

यस्तै, ३० करोड ७७ लाख ४४ हजार ३०५ बराबरको बजेट ल्याएको साकेला गाउँपालिकाले वडामा कम्तीमा ३२ लाखदेखि ४० लाख बजेट पठाएको छ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका लागि ४० लाख ८३ हजार ९ सय, साकेला गाउँपालिका–२ रतन्छाका लागि ३४ लाख ५८ हजार ८ सय, साकेला गाउँपालिका–३ खिदिमाका लागि ३४ लाख ४२ हजार ४ सय, साकेला गाउँपालिका–४ मात्तिमका लागि ३२ लाख ७० हजार ५० र साकेला गाउँपालिका–५ मात्तिमका लागि ३२ लाख ४४ हजार ८५० बजेट गएको वेवसाइटमा उल्लेख छ।  

खोटाङका दश स्थानीय तहमध्ये दुई नगरपालिकाको वडामाभन्दा गाउँपालिकाको वडामा बढि बजेट गएको देखिन्छ । गाउँपालिकाको भन्दा नगरपालिकाको बजेट बढि छ, तर नगरपालिकाकै वडामा गाउँपालिकाको भन्दा कम बजेट पठाउने गरिएको छ। नगरपालिकाको वडा संख्य बढि भएकाले गाउँपालिकाको तुलनामा वडामा कम बजेट गएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। संघीयताको मर्मलाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने वडालाई नै प्राथमिकता दिएर श्रोत साधनयुक्त बनाइनुपर्ने जनता समाजवादी पार्टीका खोटाङ अध्यक्ष टंक थापा बताउँछन्।  

वेबसाईटमा अपडेट छैन बजेट विवरण 

खोटाङका १० स्थानीय तहमध्ये ६ स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्ण विवरण आफ्नो वेबसाईटमा राखेको छैन। दिप्रुङ चुईचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपीलासगढी गाउँपालिकाले वेबसाईटमा आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रमको सारांश राखे पनि वडाका लागि ‘ब्रेकडाउन’ गरिएको विवरण राखेको देखिन्न।  

५१ करोड ४२ लाख ८ हजार बराबरको बजेट ल्याएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको आफ्नो वेबसाईटमा वडागत बजेट भेटिन्न। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजेट तथा कार्यक्रमको संक्षिप्त विवरण मात्र राखेको छ। रावाबेँसीले ब्रेकडाउन गरेको बजेटको विवरण राखेको छैन। ऐसेलुखर्कले नीति तथा कार्यक्रम मात्र वेबसाईटमा राखेको छ। केपीलासगढीले पनि बजेटको सासांश मात्र राखेको देखिन्छ। स्थानीय तहले आफ्नो वेवसाईटमा प्रचारात्मक सामग्री मात्र अपडेट गरिरहेको पाइएको छ।

प्रकाशित: १३ आश्विन २०७७ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App