७ वैशाख २०८१ शुक्रबार
अर्थ

माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन जुट्यो, यसरी हुँदैछ लगानी

कोभिड १९ को महामारीको बावजुत पनि ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र हिमालय बैंकका जनरल म्यानेजर अनुप मास्केबीच आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन। आयोजनाको कुल लागत सात अर्ब ४० करोड रुपैयाँमध्ये हिमालयन बैंकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाले कुल लागतको ७० प्रतिशत अर्थात पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ।  

आयोजनामा हिमालन बैंक लिमिटेड १ अर्ब २५ करोड, कर्मचारी संचय कोषले एक अर्ब, सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ६० करोड तथा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल बङ्गलादेश बैंकले ७५/७५ करोड लगानी गर्ने भएका छन्।

कम्पनीले ३० प्रतिशत अर्थात दुई अर्ब २२ करोड रुपैयाँ लगानी गर्नेछ। कम्पनीका सञ्चालक द्धारिका न्यौपानेले आगामी कार्तिक महिनादेखि निर्माण सुरु गरेर साढे दुई वर्षसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको बताए। ‘कोभिड १९को बावजुत पनि आगामी कार्तिक महिनादेखि सामाजिक दुरी कायम गरेर निर्माणको काम सुरुवात गर्नेछौं,’ उनले भने,‘यो आयोजना निर्माण सुरु गरेको साढे दुई वर्षभित्रै सम्पन्न गराउने कार्ययोजना बनाएका छौं।’

कम्पनीका सञ्चालक न्यौपानेले आयोजनाको ऋण बाहेकको ३० प्रतिशत रकम कम्पनीले आफ्ना शेयरधनीहरुलाई हक प्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गर्ने योजना रहेको बताए। यो आयोजना निर्माणका लागि शेयरधनीहरुबाट स्वपूँजी जुटाउनका लागि २०७५ साल आषाढ मसान्तमा कायम चुक्ता पूँजी .१ ऋर्ब १३ करोड ४० लाखको २ः०.४७ को अनुपातमा  ५६ करोड ७० लाखको हकप्रद शेयर जारी गर्नका लागि मिति २०७६ साल फाल्गुण १२ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको कम्पनीले जनाएको छ।  

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब १९ करोड रहेको छ। यो आयोजना दार्चुला जिल्लाको अपि हिमाल र मार्मा गाउँपालिकामा भई बग्ने चमेलिया नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको हो। आयोजनाका सञ्चालक न्यौपानेले अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा आयोजनाको बाँध निर्माण गरिनेछ। करिव ६ किलोमिटर लामो र ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरिनेछ।

कम्पनीका अध्यक्ष गुरु न्यौपानेले आयोजनाबाट उत्पादन भएको बिजुली १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिने बताए। ‘आयोजना आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ,’ उनले भने, ‘उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ।’ कम्पनीका अनुसार आयोजनाको विद्युत बिक्रिबाट पहिलो वर्षमा एक  अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ। यस आयमा आठ वर्षसम्म तीन प्रतिशतका दरले वुद्धि हुदैं जानेछ।  

२०६० सालमा स्थापना भएको र २०७० सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको अपि कम्पनीले सुदुरपश्चिमकै दार्चुलामा ८.५ मेगावाटको नौगड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ सालदेखिनै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिसकेको छ।  

कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही स्थानमा निर्माण गरेको ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना पनि एक बर्ष अघिनै सम्पन्न भएर ग्रिडमा जोडिसकेको छ। अपि पावर कमपनी लिमिटेडको यो तेश्रो जलविद्युत आयोजना हो। कम्पनीले ग्रीडमा जोडिने सोलारका आयोजनाहरु पनि  निर्माण गरिरहेको जनायो।

 

प्रकाशित: १३ आश्विन २०७७ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App