coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उपभोक्ता समूहमार्फत वन फँडानी

कारबाही गर्न आनाकानी

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको अवैध फँडानी। तस्बिर: नागरिक

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको अवैध फँडानीमा संलग्नलाई कारबाही गर्न आनाकानी भइरहेको छ। उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना नै करिब एक बिघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो। वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाएको बताए पनि अहिलेसम्म समूहका पदाधिकारी पक्राउ परेका छैनन्। वन समूहले बरु उल्टै अवैध फँडानीका प्रमाण नष्ट गर्ने प्रयास गरिरहेको छ। समूहलाई कानुनी कारबाहीबाट जोगाउन सत्तारुढ दलका नेता र सांसद यतिबेला सक्रिय भइरहेको स्थानीय बताउँछन्।

‘डिभिजन वन कार्यालयले अहिलेसम्म समूहका कोही पनि पदाधिकारीलाई पक्राउ गरेको छैन, जबकी वन कार्यालयले अरु सामान्य घटनामा पनि सर्वसाधारणलाई पक्राउ गरेर हिरासतमा राख्छ,’ एक स्थानीयले भने, ‘यसमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’ उनका अनुसार वन फँडानी प्रकरणलाई थामथुम पार्न एउटा टोली काठमाडौं पुगेको छ। उक्त टोलीले वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतलाई भेट गरिसकेको छ।

डिभिजन वन कार्यालयले उक्त वन फँडानीको घटना अनुसन्धान गर्न कोहलपुर सब–डिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई जिम्मा दिएको छ। तर, उक्त कार्यालयबाट चलाइएको अनुसन्धान प्रक्रिया सुस्त हुँदा वन माफियाले कानुनी कारबाहीबाट उन्मुक्ति पाउने स्थानीयको चिन्ता छ।

‘यो प्रकरणमा त वन समूहलाई जोगाउन सत्तारुढ दलका नेता र सांसदहरु खुबै लागिपरेका छन्, वन कार्यालय पनि मौन बसेको छ।’

वन कार्यालयले अनुसन्धान गरिरहेका बेला केही दिनअघि समुहले एक्साभेटर चलाएर रुखका ठूटा हटाउने प्रयास गरेको थियो। एक्साभेटर चलाएको जानकारी पाएपछि पुगेको वनको टोलीले त्यहाँ हुन लागेको निर्माण कार्य रोकिदिएको छ। वन समूहले करिब एक बिघा क्षेत्रफलमा हुर्कदै गरेका सिसौं लगायत बहुमूल्य प्रजातिका थुपै्र रुख, विरुवा अवैध रुपले काटेको छ। त्यहाँ कति संख्याका रुख काटियो भन्ने वन कार्यालयसँग अहिले यकिन तथ्यांक नभए पनि स्थानीयले सयौंको संख्यामा रुख कटान भएको बयान दिएका छन्। सामुदायिक वनले फडाँनी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ।

यता डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले वन फँडानीको अनुसन्धान प्रक्रिया जारी रहेको बताएका छन्। ‘अनुसन्धान प्रतिवेदन तयार हुँदैछ, हामीले हाम्रोतर्फबाट गर्नुपर्ने सबै अनुसन्धान प्रक्रिया जारी राखेका छौं,’ क्षेत्रीले भने। समुहले रुख कटानका लागि केन्द्र (मन्त्रालय र विभाग) बाटै स्वीकृती पाएको दाबी गरेपनि अहिलेसम्म कुनै कागजात जुटाउन नसकेका कारण जिल्लाका वन कर्मचारी विश्वस्त छैनन्। केन्द्रीय स्तरबाट स्वीकृती पाएको भए जिल्लामा पक्कै पनि जानकारी आउँथ्यो होला भन्दै उनले अहिलेसम्म केन्द्रबाट कुनै जानकारी नआएको बताए। .

डिभिजन वन कार्यालयको तर्फबाट कानुनी कारबाही प्रक्रिया अगाडि बढिसकेका उनले बताए। वन समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ बिघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरे पनि दशकौंदेखि हुर्कदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा वनसँग स्वीकृति नलिएका कारण उपभोक्ताबाटै विरोध भएर घटना बाहिर आएको हो। समूहका अध्यक्ष प्रेमबहादुर थापाले रुख कटान गर्दा डिभिजन वन कार्यालयसँग स्वीकृति नलिएको स्वीकार गर्दै गाउँपालिका कार्यालय र क्याम्पस भवन निर्माण गर्नुपर्ने भएका कारण रुख काट्नु परेको बताइरहेका छन्। उनले भने, ‘हामीले त गाउँपालिका र क्याम्पस भवन बनाउन यो ठाउँ मात्रै उपलब्ध गराएका हौं, गाउँपालिकाले भनेपछि रुख काटेर ठाउँ खाली गरिएको हो।’ गाउँपालिकाको पुरै विश्वासमा पर्दा वन समूह विवादमा परेको थापाको बुझाइ छ।

प्रकाशित: १३ आश्विन २०७७ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App