७ वैशाख २०८१ शुक्रबार
अर्थ

म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात

बारीमा उत्पादन भएको आलु । फाईल तस्बिर

गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात गरिएको छ। अनुकुल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीलाई समेत छोडेर नगदे बाली आलु खेतीतर्फ आर्कषण बढेको हो।  

जिल्लाको कुल खेतीयोग्य ५ सय ९३ हेक्टरमा ३ हजार ८९५ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। ‘आलुमा म्याग्दी आत्मनिर्भर छ,‘किसानको संख्या हरेक वर्ष थपिँदै गएको छ’ पाण्डेले भने। उनले कार्यालयको तथ्याङ्कमा वार्षिक करिब ६ करोडको हाराहारीमा विभिन्न गाउँबाट मात्रै निर्यात हुने गरेको बताए।  

कुल उत्पादनको ७० प्रतिशत आलु निर्यात हुने गरेको अधिकृत पाण्डेले बताए। ‘पकेट क्षेत्रमा उत्पादन भएको धेरै आलु जिल्ला बाहिर खपत हुन्छ,‘अनुदानले कृषकलाई थप सहज भएको छ’ उनले भने। म्याग्दीलाई आलुको जोन बनाउन उपयुक्त रहेको अधिकृत पाण्डेको भनाई छ। जिल्लाको माथिल्लो क्षेत्रमा उत्पादन हुने आलुको पोखरा, काठमाडौसम्म बजार रहेकाले किसानले खेतबारीबाटै बिक्री गर्ने गरेका छन्।  

म्याग्दीमा प्रतिहेक्टर १२.७ टन आलु उत्पादन हुन्छ। हिमाली र माथिल्लो क्षेत्रमा लगाउने गरिएको बर्खे आलु पछिल्लो समय तल्लो क्षेत्रमा समेत लगाउन थालिएपछि वार्षिक सरदर उत्पादकत्व ११.६३ प्रतिशत रहेको छ।  

अनुकुल माटो भएको ठाउँमा राष्ट्रिय औसत उत्पादकत्व १३.५ टन प्रतिहेक्टर नै उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। प्रतिकेजी ५० देखि १ सय रुपैयाँसम्म बिक्री हुन्छ। घरायसी र स्थानीय बजारमा बिक्री हुने आलुको तथ्याङ्क कार्यालयमा उपलब्ध छैन। आलु निर्यातबाट एउटै गाउँमा तीन करोड रुपैयाँसम्म भित्रिएको केन्द्रले जनाएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगा गापाको पाखापानी, मंगला गापाको हिँदी आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ। जिल्ला भित्रको सबै ६ वटै स्थानीय तहमा घरायसी बाहेक निर्यात गर्ने गरी आलु उत्पादन हुने गरेको छ।  

कृषि ज्ञान केन्द्रमार्फत म्याग्दीमा एउटा मात्रै ब्लक रहेको छ। पकेट क्षेत्रमा १० हेक्टर  र ब्लकमा १ सय हेक्टरमा आलु खेती गर्नुपर्नेमा दुवै हुनुपर्ने भएकाले धेरै उत्पादन हुने अन्नपूर्णको शिख, हिस्तान र राम्चेलाई आलुको ब्लक बनाइएको छ भने स्थानीय तहले समेत पकेट क्षेत्र घोषणा गरेको छ। चालु आवमा म्याग्दी र मुस्ताङमा आलु खेतीका लागि ४५ लाख विनियोजन गरिएको छ। प्रति हेक्टर जमिनमा ६० हजार अनुदान रहेको केन्द्रले जनाएको छ। यता यस वर्ष आलु उत्पादन बढ्ने अनुमान गरिएको हिँदीका लकबहादुर पूर्जाले बताए।

‘माग अनुसार खपत गर्न सकिएको छैन,‘ब्यापारी नै घरदैलोमा आउँछन्’ पूर्जाले भने। पूर्जा, नांगीका कृष्ण पुन र शिखका तेसबहादुर पूर्जा नमुना कृषकको रुपमा चिनिन्छन्। म्याग्दीमा उत्पादित आलुको आकार ठूलो र स्वादिलो समेत भएकाले हरेक वर्ष ब्यापारीहरू गाउँमै आउने गरेका छन्। 

धेरै उत्पादन गर्ने किसानसँग आलु भण्डारण निर्माण, र्‍याक तथा बिउमल सहयोग, कृषि औजार रहेको छ। जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ।

प्रकाशित: ११ आश्विन २०७७ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App