७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाटो अवरुद्ध हुँदा मुस्ताङी स्याउ ढुवानीमा समस्या

स्याउ बोटमै छन्। टिप्ने तयारी छ। तर प्याकिङ बक्स छैन। प्याकिङ बक्स नहुँदा स्याउ टिपेर बजार पठाउन सकिएको छैन। बजार पठाउन यातायात समेत अवरुद्ध छ। हवाई सेवा सञ्चालन छैन। हवाई सञ्चालन नहुँदा र यातायात अवद्धरु हुँदा मुस्ताङको स्याउ पोखरा र अन्य जिल्लामा पुग्न सकेको छैन। अब दशैंलाई लक्षित गरी स्याउ बजार आईपुग्ने छ। असोजको दोस्रो साताभित्रमा स्याउ धमाधम टिपेर पोखरा झरिसक्थ्यो।

स्याउमा रस नपस्दै केही हरितालिका तीजको समयमा पोखरा झारिएको थियो। तीजपछि सोह्र श्राद्धको समयमा केही झर्यो। अब अधिकांश स्याउ दशैंको माचोमा झर्ने स्थानीय स्याउ उत्पादक किसान बताउँछन्। ‘तीज र स्रोह्र श्राद्धमा केही झर्यो। अब दशैंमा झर्छ।’ स्याउ किसान सुमन थकालीले भने–‘यो वर्ष उत्पादन कम छ। त्यसैले बढीमा २५ प्रतिशत जति बजार झर्यो होला।’ उनका अनुसार प्याकिङ बक्स समेत मुस्ताङमा छैन। प्याकिङ बक्स नहुदाँ किसानले अझै बोटबाट टिपिसकेका छैनन्।

‘प्याकिङ बक्स राखेका किसानले टिप्ने तयारीमा छन्।’ उनले भने–‘बाटो अवरुद्धले टिपेर पोखरा झार्ने अवस्था छैन।’ लगातार परेको पानीले बेनी–जोमसोम सडक खण्डको रुप्से झरना नजिकै पहिरोले बाटो अवरुद्ध भएको छ। झण्डै १५ दिनयता बाटो अवरुद्ध हुन पुग्दा आवातजावत पूर्ण रुपमा ठप्प छ। असार २८ गते मोटरबल पुलमा क्षति पुर्याएपछि झण्डै एक महिना बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो। एक महिनापछि खुलेपनि झेरी काभ्रे भीर र रुप्से छहरा नजिकै पहिरो खस्दा पुनः बाटो अवरुद्ध हुन पुगेको छ। चैत बैशाखमा पानी परेको कारणले पनि स्याउ त्यति राम्रो उत्पादन हुन सकेको छैन।

‘स्याउ गतवर्षभन्दा आधा कम उत्पादन भएको छ। उत्पादित स्याउ पनि दागी देखिएको छ’ स्थानीय टुकुचेस्थित स्याउ उत्पादक किसान विष्णु थकालीले भने–‘एकातिर बाटो अवरुद्ध छ, अर्कोतिर प्याकिङ बक्स छैन। त्यसले गर्दा पनि स्याउ पोखरा झरिसकेको छैन।’ झरी परेर स्याउमा देखिएको दागीको उपचारको गर्न समेत नपाउँदा त्यतिराम्रो नभएको उनको भनाई थियो। उनले मुस्ताङमै स्याउ प्रतिबेजी ९० रुपैयाँ पर्ने अनुमान गरिएको सुनाए। लकडाउनकै कारण स्याउमा ढुसी लाग्दा औषधि गर्न नपाइएकोले उत्पादन ५० प्रतिशत ह्रास आएको उनले बताए। एउटा प्याकमा २० केजी अटाउँछ।  

स्थानीय उत्पादित स्याउलाई टुकुचेस्थित स्यालुम बहुउद्देशीय सहकारी संस्थाले बजारीकरण गर्दै आएको छ। बिउ विजन तथा औषधिजन्य बाडँफाँडको लागि सहकारीले भूमिका खेल्दै आएको छ। थकालीका अनुसार स्याउ प्याकिङ गर्न झण्डै १७ हजार थान प्याकिङ बक्स छाप्न अर्डर गरिएको जानकारी दिए। केही वर्षसम्म स्याउ ढुवानीको लागि अनुदान आउँथ्यो। त्यो अनुदान अहिले रोकिएको छ। अनुदान केवल औषधिजन्य बस्तुमा किसानलाई उपलब्ध गराइएको छ। ‘गतवर्ष यतिबेला मुस्ताङको स्याउ पोखरा बजार झरिसक्थ्यो’ उनले भने–‘तर यो वर्ष प्याकिङ बक्सको अभाव र बाटो अवरुद्धले समस्या बनाएको हो।’  

शितोष्ण बागवानी विकास केन्द्र मार्फाका अनुसार यो वर्ष स्याउको उत्पादन कम छ। टुकुचे, झोङ, पुरानो मार्फा लगायतका ठाँउमा दादे रोग देखिएकोले उत्पादन कम छ। मुस्ताङको टुकुचे, मार्फा, ठिनी, मुक्तिनाथ, झोङ, ताङ, फलेक, चैले, कागबेनी लगायतका क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। बागबानीकै चारवटा ब्लकमा समेत यो वर्ष उत्पादन कम रहेको बागवानी केन्द्रले जनाएको छ। गत वर्ष मुस्ताङमा ६ हजार टन स्याउ उत्पादन भएको राष्ट्रिय फुलफूल विकास केन्द्र (स्याउ जोन क्षेत्र)को तथ्यांकले देखाएको छ।

प्रकाशित: १० आश्विन २०७७ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App