८ वैशाख २०८१ शनिबार
अर्थ

भ्यागुते रोगले चार दर्जन राँगा–भैंसी मरे

उदयपुरको बेलका नगरपालिकामा भ्यागुते र चर्चरे रोगको महामारीले झण्डै ४ दर्जन राँगा भैंसी मरेका छन्। पशु चौपायामा एक्कासी फैलिएको महामारीले शुक्रबार साँझसम्म बेलका–८ सिसौली टप्पुक्षेत्रका किसानका ४० भैंसी र राँगा मरेको स्थानीयले जानकारी दिएका छन्।

सुरुमा घाँटी सुनिने, नाकबाट लगातार सेतो सिंगान बग्ने, ¥याल काढ्ने तथा ज्वरो आउने र घ्यारघ्यार गर्ने लक्षण देखिने भैंसी राँगा रोग लागेको तीनदेखि साता दिनभित्र मर्ने गरेको स्थानीय कृषक झलकमान राईले बताए। राईका अनुसार स्थानीय व्यावसायिक भैंसी पालक योगेन्द्रराम तामाङका १३ भैंसी मरेका छन् भने अर्का किसान भरत यादवका ७ र अन्य आधा दर्जन कृषकका गोटागन्ती भैंसी राँगा मरेका छन्। किसानले रोगको लक्षण देखिएको साता दिनभित्र राँगा भैंसी मर्ने गरेपछि औषधि उपचारका लागि नगरपालिकालाई गुहारेका छन्।  

रोग देखिएपछि सुरुमा नजिकका पशु औषधि पसल (भेटनरी) बाट प्राविधिक बोलाएर उपचार गराए पनि भैंसी मर्न नरोकिएपछि किसानले वडा कार्यालयमार्फत उपचारको माग गरे। गाउँभरीका राँगा भैंसी भकाभक मर्न थालेपछि बेलका–८ का वडाध्यक्ष जयकुमार राईलाई यसबारे जानकारी गराएको तामाङले बताए। किसानका समस्या सुनेलगत्तै वडाध्यक्ष राईले नगरपालिका पशु शाखामा सम्पर्क गरी उपचारार्थ कृषि प्राविधिक टोली खटाउँदा भ्यागुते र चर्चरे रोग पत्ता लागेको हो।  

नगर कृषि प्राविधिकले भ्यागुते र चर्चरे रोग सरुवा भएकाले भकाभक भंैसी राँगा मरेको जनाएको छ। सरुवा रोग भएकाले अन्य किसानलाई क्षति हुनबाट रोक्न भैंसी राँगा चरणमा नलान तथा अलग्गै गोठ बनाएर राख्न प्राविधिकले सुझाएको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए। भ्यागुते र चर्चरे सरुवा रोग भएकाले चरणमा संक्रमितसँग हेलमेल भएमा सर्नसक्ने भएकाले चरणमा नलान सुझाइएको राईले बताए।  

बरु गोठमै बाँधेर राखे रोगले नभेट्ने सुझाव अनुसार अर्का किसान विशाल माझीले आफ्ना ८ भैंसी चरणमा नलगी कोसीको ठिक्री (कोसी बीचको टप्पु) मा लगेर घाँस पानी गर्न थालेको बताए। ‘गाउँभरीका राँगा भैंसी भकाभक मर्न थालेपछि वडाध्यक्षलाई बोलायौं,’ उहाँले भनेपछि नगरबाट प्राविधिक आउनुभयो,’ माझीले भने, ‘सरहरूले रोग सरुवा भएकाले सर्न सक्छ भन्दै बस्तीभन्दा टाढा लानु भनेकाले ठिक्री लगेर राखेको छु, अहिलेसम्म मेरा भैंसी बिरामी भएका छैनन्।’  

नगरपालिका पशु सेवा कार्यालयले सरुवा रोग भएकाले सामुहिक चरणमा नलान र अलग्गै राख्न किसानलाई आग्रह गरेको छ। नगरपालिकाका पशुपक्षी विज्ञ पुष्प बुढाथोकीले भ्यागुते र चर्चरे रोग फैलिएर यति धेरै संख्यामा भैंसी राँगा बेलकामा मरेको यो पहिलो घटना भएको बताउँदै सिसौली गाउँमा दर्जन हाराहारी संख्यामा रोगी भैंसी र पाडापाडी अझै भएको बताए। उनले रोगी भैंसीको परीक्षण गर्दा भ्यागुते र चर्चरे रोग भन्ने पत्ता लागेको बताए। 

प्रकाशित: ९ आश्विन २०७७ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App