८ वैशाख २०८१ शनिबार
अर्थ

चीनतिरका दुवै मुख्य नाका बन्द

चीन जोड्ने उत्तरतिरका दुई मुख्य तातोपानी र रसुवागढी नाका बन्द छन्। तातोपानी साढे दुई र रसुवागढी महिनादेखि बन्द छन्। नाका बन्द भएसँगै आयात÷निर्यात रोकिँदा आर्थिक गतिविधि ठप्प छ।  

दुवै नाका बन्द गर्नुको आधिकारिक धारणा चीनले अझै सार्वजनिक गरेको छैन। नेपाल सरकारले पनि महŒवपूर्ण यी नाका खुलाउन प्रभावकारी पहल गरेको पाइँदैन। दुवै सरकारको मौनताले नाका सञ्चालन अनिश्चित बन्दै गएको छ। यही अनिश्चयका कारण नजिकिँदो दसैं, तिहारमा चीनबाट सामान आउने सम्भावनासमेत न्यून हुँदै गएको व्यवसायी बताउँछन्।  

चीनले दुवै नाका बन्द हुनुमा दुई फरक कारण बताउँदै आएको छ। कोरोना संक्रकणको कारण रसुवागढी र बाढी, पहिरो लगायत बिपद्ले तातोपानी नाका बन्द गर्नुपरेको जानकारी दुवै भन्सारलाई पठाएको छ। तर नाका सञ्चालनबारे कुनै धारणा सार्वजनिक नगरेको दुवै भन्सारका अधिकारी बताउँछन्। दुवै नाका यतिबेला अघोषित ‘नाकाबन्दी’को अवस्थाबाट गुज्रिरहेका छन्।  

तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले गएको असार २५ गतेदेखि नाका बन्द रहेको बताए। उनका अनुसार असार २४ गतेको जम्बु बाढीपहिरोले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि नाका बन्द छ। ‘सम्बद्ध सरकारी निकाय र निजी क्षेत्रको प्रयासमा २० दिनमै राजमार्ग सञ्चालनमा आयो। तर चीनले सामाग्री पठाएन,’ प्रमुख खत्रीले भने।  

जम्बु बाढीपहिरोकै बखत चीनले तिब्बतस्थित तालमा पानी भरिएर फुट्ने जोखिम रहेको भन्दै तातोपानी तल्लो तटीय क्षेत्रमा सतर्क रहन अनुरोध पठाएको थियो। सामग्री पठाउन आग्रह गर्दा तिब्बतको स्थानीय भन्सारका अधिकारीले अझै पनि तालको जोखिम कम भइनसकेको बताउँदै आएको प्रमुख खत्रीले जानकारी दिए। ‘दैनिक चिनियाँ भन्सार अधिकारीसँग सम्पर्कमा छु। उनीहरूले नाका सञ्चालनबारे केही जानकारी दिएका छैनन्,’ उनले भने। उनका अनुसार भन्सार अधिकारीहरूले बोर्डर म्यानेजमेन्टले आदेश नदिएसम्म नाका खोल्न नसकिने बताउँदै आएका छन्।  

दुवै नाका बन्द गर्नुको आधिकारिक धारणा चीनले अझै सार्वजनिक गरेको छैन। नेपाल सरकारले पनि महत्वपूर्ण यी नाका खुलाउन प्रभावकारी पहल गरेको पाइँदैन।

उत्तरको अर्को मुख्य रसुवागढी नाका पनि भदौ दोस्रो सातादेखि बन्द छ। केरुङ नाकामा सामाग्री लोड–अनलोड गर्ने कामदारमा कोरोना संक्रमण भेटिएपछि नाका बन्द रहँदै आएको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्काले बताए। ‘दुवैतिर स्वास्थ्य मापदण्ड थप प्रभावकारी बनाएर मात्र नाका सञ्चालन गरौं भन्ने कुराकानी भएको थियो,’ उनले भने, ‘तर अझै नाका बन्दै छ।’ नेपालमा कोरोनाले महामारीको रूप लिएपछि स्वास्थ्य सुरक्षाकै कारण चीनले नाका बन्द गरेको हुन सक्ने खड्काले औंल्याए।  

कोरोनाले महामारीले ठूलो रूप लिएपछि चीनले खासा र केरुङ अन्तर्राष्ट्रि«य नाका गत माघमा बन्द गरेको थियो। नेपालमा समेत कोरोना भित्रिएपछि स्वास्थ्य सामग्री आयात गर्ने प्रयोजनका लागि सरकारले दुवै नाका खोल्ने निर्णय गर्दै चीनलाई आग्रह गरेको थियो। चैतदेखि तातोपानी नाका खुले पनि रसुवागढी भने असार २२ बाट मात्र सञ्चालनमा आएको थियो। २०७२ वैशाख १२ गतेको भूकम्पपछि चार वर्षदेखि बन्द तातोपानी नाका अघिल्लो वर्षको जेठ १५ मा खुलेको थियो।  

कोरोनापछि स्वास्थ्य सामग्री मात्र आयात गर्ने भनिए पनि दुवै नाकाबाट नियमित सामान आयात हुन थालेका थिए। गएको आर्थिक वर्षमा तातोपानीबाट नौ अर्ब र रसुवागढीबाट २७ अर्ब रूपैयाँ मूल्यका सामग्री आयात भएको भन्सारको तथ्यांक छ। तातोपानी भन्सार प्रमुख खत्रीसमेत चीनले ताललाई कारण देखाए पनि नेपालमा बढ्दो कोरोना संक्रमणकै कारण ऊ तत्काल नाका खोल्न अनिच्छुक देखिएको हुन सक्ने औंल्याउँछन्।  ‘नजिकिँदो चाडबाडमा नेपाली उपभोक्ताको हितलाई ध्यानमा राख्ने हो भने सरकारले नाका खोल्न कूटनीतिक पहल गर्न बिलम्व भइसक्यो,’ दुवै भन्सारका प्रमुख खत्री र खड्काको भनाइ छ। उनीहरूले वाणिज्य र परराष्ट्र« मन्त्रालयलाई नाका बन्द रहेको जानकारी दिँदै खुलाउन कूटनीतिक पहल गर्न अनुरोधसहितको पत्र पठाइसकिएको बताए।  

लगातार र लामो समयदेखिको नाका बन्दले निजी क्षेत्र भने निरास छ। ‘बन्द नाका खुलाउन सुरुदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौं। तर सुनुवाइ भएको छैन,’ आयातकर्ता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले भने। नाका खुलाउनेबारे सरकारले प्रभावकारी कूटनीतिक पहल नगर्दा व्यवसायी थप निराश बनेको उनी बताउँछन्। उनका अनुसार अझै कूटनीतिक प्रयास नथाल्ने हो भने नजिकिँदो दसैं, तिहारमा चिनियाँ सामग्री आउने सम्भावना ज्यादै न्यून देखिएको छ। पछिल्लो समय सस्तोका कारण मध्यम वर्गीय नेपाली उपभोक्तामाँझ चिनियाँ सामाग्री लोकप्रिय बन्दै गएको छ।  

विगत सात महिनादेखि चिनियाँ भू–भागमा रोकिएका झण्डै एक हजार कन्टेनर सामग्री अझै नेपाल भित्रन सकेका छैनन्। सरकारले पहल नगरिदिँदा सामग्री बाटोमै अलपत्र परेको व्यवसायीको आरोप छ।  

विभिन्न सहरबाट सामग्री लिएर कन्टेर नेपालतर्फ अघि बढिरहँदा कोरोना महामारीका कारण चीनले खासा र केरुङ अन्तर्राष्ट्रि«य नाका गएको माघमा बन्द गरेको थियो। त्यति बेलैदेखि कन्टेनरसहितका सामग्री बीचमै रोकिँदै आएका छन्। चैतमा तातोपानी र असारमा रसुवागढी नाका खुले पनि रोकिएका सामग्री भित्रन सकेनन्।  

कोरोनालाई देखाउँदै चीनले सामग्री लैजान रोक लगाउँदै आएको व्यवसायी बताउँछन्। कोरोनापछि दुवै नाका केही समय खुल्दा स्वास्थ्य सामग्री आयातलाई प्राथमिकता दिइएको थियो। मेडिकल प्रोटोकल पूरा गरेर अन्य सामग्री आयात भए पनि रोकिएका सामग्री ल्याउन दिइएन। नेपाल ट्र«क कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले दुवै नाकातिरका नजिकका सहरमा आठ सयदेखि एक हजार कन्टेनर सामग्री अलपत्र परेको जानकारी दिए।  

उनका अनुसार केरुङ, ल्हासा, सिगात्से, न्यालम लगायत सहरमा नेपाली व्यवसायीका सामग्री अलपत्र परेका छन्। रोकिएका सामग्रीमा धेरै तयारी पोशाक छन्। यो गर्मीलाई लक्षित गरेर गएको जाडो मौसममा ती सामग्री लोड गरिएका थिए। आयातकर्ता रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ कन्टेनर रोकिँदा अर्बौं रूपैयाँ मूल्यका सामग्री जोखिममा परेको बताउँछन्। ‘ती सामग्री नेपाल ल्याउँदा राज्यलाई मात्र ३०–३५ करोड रूपैयाँ राजस्व प्राप्त हुने देखिन्छ,’ उनले भने।  

लामो समय रोकिँदा घामपानीले कन्टेनरमा घाँस उम्रन थालेको, टायर पन्चर भएको र पाटपूर्जा हराउँदै गएको व्यवसायीको गुनासो छ। ‘पटक–पटक सरकार गुहा-यौं। व्यसायीले भन्ने सरकारलाई नै हो। तर सरकारले गुहार सुनेन,’ व्यवसायी श्रेष्ठले भने। उनका अनुसार व्यवसायीले बैक ऋण सामग्रीमा लगानी गरेका थिए। त्यही सामग्री बेचेर व्यवसायीले ऋण तिर्थे। लामो समय ऋणको किस्ता र ब्याज तिर्नुपर्दा व्यवसायी शिथिल बनेका छन्।  ‘कति व्यवसायी किस्ता र ब्याज तिर्न नसकेर टाट पल्टने अवस्थामा पुगेका छन्,’ श्रेष्ठले भने।

प्रकाशित: ८ आश्विन २०७७ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App