८ वैशाख २०८१ शनिबार
अर्थ

कोभिडमा प्रयोग हुने औषधि नेपालमै उत्पादन

एकजना बिरामीको लागि आवश्यक पर्ने डोजको मूल्य १२ हजार रूपैयाँ

कोभिड–१९ बाट संक्रमित भएका बिरामीको उपचारमा प्रयोग गरिँदै आएको औषधि नेपाल मै उत्पादन सुरु भएको छ। कोभिड भाइरसले शरीरमा पार्ने असरलाई न्यूनीकरण गर्न प्रयोग गरिँदै आएको फेभिर–२०० ट्याब्लेट देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेर क्लिनिकल परीक्षण गर्न अनुमति पाएको छ।

फेभिर–२०० ट्याब्लेट कोरोनाको उपचारमा प्रयोग भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले पुष्टि गरे। ‘भाइरसको गति नबढोस् भनेर कोरोनाका बिरामीको उपचारमा यो औषधि प्रयोग गरिन्छ,’ विशेषज्ञ डा। पुनले भने, ‘विकसित मुलुकमा उत्पादन भएको औषधि स्वदेशमै उत्पादन सुरु हुनु सकारात्मक हो।’  

जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत लगायत मुलुकमा यो औषधि इमर्जेन्सी प्रयोग गर्न अनुमति दिइएको थियो।

यो औषधि अहिले विदेशबाट आयात भइरहेको थियो। ‘आयात गर्दा चाहिएको बेला नपाउन पनि सक्छ,’ डा। पुनले भने, ‘यहीँ उत्पादन हुनु बिरामीका लागि खुसीको विषय हो।’ अहिलेसम्म कोभिड–१९ को पूर्ण उपचारको औषधि तयार भएको छैन। केही मुलुकले औषधि तयार भएको दाबी गरेर परीक्षण गरिरहेका छन्। नेपालको कोभिड संक्रमण्को दर बढिरहेको छ। मंगलबार एक हजार एक सय ७२ जना संक्रमित थपिएका छन्। देशभरको प्रयोगशालामा नौ हजार चार सय ५९ नमुना परीक्षण गर्दा चार सय २६ महिला र सात सय ४६ पुरुषमा संक्रमण पुष्टि भएको हो। मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या ६७ हजार आठ सय चार पुगेको छ। संक्रमितमध्ये चार सय ३६ जनाको मृत्यु भएको छ भने ४९ हजार नौ सय ५४ जना संक्रमणमुक्त भएका छन्।

कोभिडको संक्रमण भएपछि न्यूनीकरण गर्न र वृद्धि हुन नदिन अन्य विभिन्न औषधिको प्रयोग गरिँदै आएको छ। ती औषधिमा फेभिर–२०० ट्याब्लेट पनि छ। तीन महिनाअघि नै उत्पादन गरे पनि क्लिनिकल अध्ययन प्रयोजनका लागि सरकारले अनुमति दिएको देउराली जनता फर्मास्युटिकल्स प्रालिका अध्यक्ष हरिभक्त शर्माले बताए। औषधि व्यवस्था विभागले अनुमति दिएपछि उत्पादन गरिएको शर्माले बताए। विदेशमा कोरोना संक्रमण फैलिन थालेपछि तयारी थालेकाले अहिले उत्पादन गर्न सफल भएको शर्माले बताए। ‘विश्वभर कोरोनाको संक्रमण बढेपछि नेपालमा आउन सक्छ भनेर तयारी गरेका थियौं,’ शर्माले भने, ‘ठूलो मेहनतपछि सफल भएका छौं।’

विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक र प्राविधिकबाट यो औषधि उत्पादन गरिएको कम्पनीले जनाएको छ। मुलुकलाई चाहिने जति उत्पादन गर्ने क्षमता रहेको शर्माको दाबी छ। ‘एक करोड ट्याब्लेटसम्म उत्पादन गर्न सक्छौं,’ शर्माले भने, ‘सरकारले अनुमति दियो भने निर्यात गर्न पनि सक्छौं।’ विदेशमा यो औषधि कोरोनाको उपचारमा प्रभावकारी भएकाले नेपालमा उत्पादन गरेको शर्माको दाबी छ। यो औषधि एकजना विरामीले प्रयोग गर्दा करिब १२ हजार रूपैयाँ लाग्ने कम्पनीले जनाएको छ। ‘१४ दिनसम्म औषधि लिनुपर्छ,’ उनले भने, ‘एक बिरामीका लागि औषधिको १२ हजार रूपैयाँ पर्छ।’ उद्योगका सञ्चालक शर्मा नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हुन्। औषधिमा प्रयोग हुने कच्चा पदार्थ भने भारत र चीनबाट ल्याएको उद्योगले जनाएको छ।

अन्य औषधि उत्पादन स्थगन  

यसैबीच, विभिन्न औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालिले अन्य औषधि उत्पादन स्थगन गरेको छ। बजारमा औषधिको माग निकै घटेकाले केही समयका लागि उत्पादन रोकेको अध्यक्ष शर्माले बताए। ‘उद्योगमा भएको स्टक औषधि नसकिँदासम्मका लागि उत्पादन रोकिएको छ,’ शर्माले भने, ‘उपयुक्त वातावरण सुरु भएपछि फेरि उत्पादन सुरु गर्छौं।’ अहिले कच्चा पदार्थको लागत बढेको, बजारमा रहेको औषधि बिक्रीको पैसा नउठेको लगायत समस्या रहेको शर्माले बताए। अन्य औषधि उद्योगले पनि उत्पादन कटाएर न्यून उत्पादन गरिरहेका छन्। कामदार, कच्चा पदार्थ, क्यास फ्लो लगायत समस्या कारण उद्योग चलाउन कठिन भएको उद्योगीले बताएका छन्।

मुलुकमा वार्षिक २५ अर्ब रूपैयाँको औषधि विदेशबाट आायत हुन्छ। यहाँ भ्याक्सिन, बायोटेक्नोलोजी प्रोडक्ट, क्रिटिकल केयर लगायत अत्यावश्यक औषधि विदेशबाटै आयात हुँदै आएको छ। यहाँ भारत, चीन, बंगलादेश, अमेरिका, युरोपेली मुलुकबाट औषधि आयात हुन्छ। अहिले मुुलुकमा साढे चार दर्जनवटा एलोपेथिक र ६ दर्जन आयुर्वेदिक औषधि उद्योग सञ्चालनमा छन्।

प्रकाशित: ८ आश्विन २०७७ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App